नजिकिँदै गरेको अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा दमौलीमा ‘न्यु इयर इभ लाइभ कन्सर्ट’ आयोजना गरिने भएको छ। लायन्स क्लब अफ तनहुँ दमौलीको आयोजनामा सो कन्सर्ट हुने बताइएको छ ।
लायन्स कपडा बैंकलाई आर्थिक सहयोग उठाउने उद्धेश्यले सो सांगितिक कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष राजु रानाले बताए । क्लवले विगत ४ वर्षदेखि दमौली स्थित तरकारी लाइनमा कपडा बैंक संचालन गरेको छ ।
यही डिसेम्बर ३१ तारिखको साँझ अनसन चौतारीको खुल्ला मैदानमा कन्सर्ट गरिने क्लबका निवर्तमान अध्यक्ष सरोज भण्डारीले बताए ।
कन्सर्टका लागि प्रतिव्यक्ति ५ सय रुपैयाको टिकट राखिएको र २ हजार दर्शक उपस्थित हुने अनुमान आयोजकको छ ।
कन्सर्टमा गायक सोनाम तोप्देन, द फ्रिक स्टिट व्याण्ड, गायिका रचना रिमाल, गायिका शोभा त्रिपाठी, लाइभ डीजे र स्थानीय व्याण्डले सांगितिक प्रस्तुति गर्ने आयोजकले जानकारी दिएका छन् ।
क्लबद्वारा संचालित कपडा बैंकबाट सरदरमा दैनिक २० जनाले कपडाहरु लैजाने गरेका छन् भने अहिलेसम्म सम्म ७२ क्विन्टल कपडा वितरण भएको छ ।






