पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मार्कीचोकमा भएको सडक दुर्घटनामा दुई जना स्कुले बालबालिकाको दुखद निधन भएको छ। विद्यालयबाट घर फर्कने क्रममा भएको उक्त भवितव्यले स्थानीय क्षेत्र शोकमा डुबेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–२ का ६ वर्षीया सायना थापा र ७ वर्षीय विलियम थापाको निधन भएको हो। पैदल हिँडिरहेका बालबालिकालाई यूपी १३ ए ०७७० नम्बरको भारतीय कारले ठक्कर दिएको थियो। शुक्रबार दिउँसो भएको दुर्घटना लगतै गम्भीर घाइते भएका दुवै बालबालिकालाई तत्काल उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचार गरी थप उपचारका लागि चितवनस्थित अस्पतालमा रिफर गरिएको भए पनि चिकित्सकहरूले उनीहरूलाई बचाउन सकेनन्।

निधन भएका दुवै बालबालिका एउटै परिवारका दाजुभाइका छोराछोरी (एउटै घरका सदस्य) रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो। प्रहरीका अनुसार दुर्घटनामा संलग्न गाडी र चालकलाई तत्कालै नियन्त्रणमा लिएर घटनाबारे थप कानुनी अनुसन्धान अगाडि बढाइएको छ।
शोकमा सिंगो बस्ती एउटा हाँस्दै–खेल्दै गरेको परिवार, सुन्दर भविष्य बोकेका दुई अबोध लालाबाला, तर क्षणभरमै सडकमा बगेको रगत र कहिल्यै निको नहुने पारिवारिक बज्रपात! तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ मार्किचोकमा भएको एक भयानक सडक दुर्घटनाले यतिबेला सिंगो बस्ती मात्र होइन, मानवीय संवेदनासहितको हरेक मन मर्माहत बनेको छ।

सवारी साधनको तीव्र गति र चरम लापरबाहीका कारण स्थानीय बृहस्पति बोर्डिङ स्कुलमा अध्ययनरत दुई जना कलिला बालबालिकाले अनाहकमा ज्यान गुमाउनु परेको छ।

भारतीय गति छाडा सवारी

पछिल्लो समय छिमेकी मुलुक भारतमा बढेको अत्याधिक गर्मी छल्न नेपाल भित्रिने भारतीय पर्यटक र सवारी साधनको संख्या निकै बढेको छ। पर्यटन प्रवद्र्धन हुनु देशका लागि सकारात्मक पाटो भए पनि विदेशी नम्बर प्लेटका सवारी साधनहरूले नेपाली सडकमा देखाउने ’सवारी दादागिरी’ र तीव्र गतिमाथि कसैको नियन्त्रण देखिँदैन।

नेपालमा पर्यटक आउनुपर्छ, स्वागत छ। तर पर्यटकको नाममा हाम्रा सडकमा यसरी लापरबाही ढङ्गले गाडी कुदाउन दिएर हाम्रा छोराछोरीको ज्यान लिन पाइँदैन,“ स्थानीय बासिन्दाहरू आक्रोश पोख्छन्, “पर्यटक गाडी हुन् भन्दैमा जे गरे पनि छुट दिने? किन सवारी साधनलाई राम्रोसँग नियमन गरिँदैन?