
तनहुँका सबै स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब आठ अर्बको बजेट प्रस्तुत गरेका छन्। चार नगरपालिका र छ गाउँपालिकाले कुल सात अर्ब ७७ करोड ४३ लाख १६ हजार ३८९ रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन्।
जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा ठुलो बजेट व्यास नगरपालिकाको रहेको छ। व्यास नगरपालिकाको ४५ औँ नगर अधिवेशनमा नगर उपप्रमुख इन्दिरा दरैले एक अर्ब ५० करोड २० लाख एक हजार रुपियाँ बराबरको बजेट प्रस्ताव गर्नुभएको छ। नगरप्रमुख बैकुण्ठ न्यौपानेले प्रस्तुत गर्नुभएको ३१३ बुँदे नीति तथा कार्यक्रममा पूर्वाधार, कृषि, पर्यटन र सामाजिक विकासलाई प्राथमिकता दिइएको छ। यसै गरी शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुमबहादुर विकले एक अर्ब १३ करोड ५४ लाख ४९ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ।
भानु नगरपालिकाका नगर उपप्रमुख उमा गोतामेद्वारा ८० करोड ८० लाख ४८ हजार २९१ रुपियाँको अनुमानित बजेट पेस भएको छ। नगरप्रमुख आनन्दराज त्रिपाठीले नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरण र आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा पर्यटन प्रवर्धनलाई जोड दिइएको छ। म्याग्दे गाउँपालिकाले ७४ करोड ३२ लाख ७८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो।
बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङद्वारा आगामी आवका लागि ६८ करोड ७८ लाख ८० हजार ८४९ रुपियाँ बजेट प्रस्ताव गरिएको छ। भिमाद नगरपालिकाका नगर उपप्रमुख शारदा खनालले नगर सभाको २२ औँ अधिवेशनमा ६६ करोड ३४ लाख ४५ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ।
आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले ६४ करोड आठ लाख ३२ हजार रुपियाँको अनुमानित बजेट प्रस्ताव गर्नुभएको छ । देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले ५५ करोड ५८ लाख ६७ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापाले ५३ करोड ६२ लाख ५० हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । घिरिङ गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारीले ५० करोड रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ।




