

–शान्ति कंडेल न्यौपाने
पोखरा-८, सिमलचौर
गीत
साहसी थेँ पहिले पहिले हेर्दै हिड्थे माथी
माया मैले चिनेको छु अहिले बल्ल साथी॥
किनेकोछु दिनदिन धेरै थोरै गरी
वरिपरि कसैले’नि दे’का छैनन् भरी॥
थाकीसकेँ आजभोली माया किन्दा किन्दै
जोखेर नै दिने गर्छन सन्सार भयो भिन्दै॥
ठुलो दिल देख्दिन म आजभोली कोहीको
पहिले फाल्ने गर्थे अहिले पैसा पर्छ मोहीको॥
दिनमात्रै मनलाग्छ जो कोहीलाई पनि
खुसी अझै भ’का छैनन् राहत् दिँदापनि॥
फालिदिन्छन कतिखेर पतिङ्गर जस्तो
मल बनाउन काम लाग्छ फलाउनुछ कस्तो ?
त्यहि मलले गर्दा पनि उब्जाएर खान्छौ
भोली पर्सि हेर्दा हेर्दै मोटाउँदै जान्छौ॥
समयको सिँढि चढ्दै माथि गएपछि
फर्कि फर्कि हेर्ने गर्छन् बेग्लै भएपछि॥
साहसी थेँ पहिले पहिले हेर्दै हिड्थे माथी
माया मैले चिनेको छु अहिले बल्ल साथी॥




