पृथ्वी राजमार्ग पुनर्निर्माणपछि तनहुँको सदरकुमा दमौली बजारको सडक संरचना फराकिलो र व्यवस्थित देखिए पनि सडकमै गरिने अव्यवस्थित पार्किङले गर्दा पैदलयात्री र सवारी चालकहरूले सास्ती खेप्दै आएका छन् । मुख्य बजार क्षेत्र, चोक र फुटपाथ नजिकै सवारी साधन रोकिने प्रवृत्तिले हिँडडुल असहज बनाउनुका साथै दुर्घटनाको जोखिम बढाएपछि व्यास नगरपालिकाले जेठ १० गतेदेखि लागू हुने गरी नयाँ ट्राफिक व्यवस्थापनको नियम सार्वजनिक गरेको हो ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा सरोकारवाला निकाय, सडक आयोजना, ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघ र यातायात व्यवसायीहरूको संयुक्त बैठकले जेठ १० गतेदेखि १५ दिनसम्म परीक्षणका रूपमा नयाँ व्यवस्था लागू गर्ने सर्वसम्मत निर्णय गरेको हो । नयाँ व्यवस्था अनुसार व्यास नगरपालिकाको वडा नम्बर २, ३ र ४ को सिमानाभित्र पर्ने पृथ्वी राजमार्गको सफा सडक (सर्भिस लेन समेत) मा दुवै तर्फ सवारी साधन पार्किङ गर्न पूर्ण रूपमा निषेध गरिएको छ । विकल्पका रूपमा शाखा सडक, चोक र अनसन चौतारी क्षेत्रमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ ।

मुख्य बजार क्षेत्रको अस्तव्यस्तता हटाउन नगरपालिकाले बजार क्षेत्रका विभिन्न सडकहरूमा एकतर्फी (वान वे) आवागमन प्रणाली लागू गर्ने भएको छ । जसअनुसार वडा नं. २ को पृथ्वी राजमार्गबाट ग्रीनसिटी टोल हुँदै भेटघाट चोक जाने मार्ग, वडा नं. ३ को पृथ्वी राजमार्गबाट तरकारी लाइन हुँदै महर्षि चोक जाने मार्ग, पुरानो बैंक लाइन न्युरोड चोकबाट कालिका मार्ग हुँदै पृथ्वी राजमार्ग निक्लने सडक (४ पाङ्ग्रे गाडीका लागि मात्र) र प्रहरी कार्यालयको दक्षिण पश्चिम चोकबाट पृथ्वी राजमार्ग दुर्गा मन्दिरतर्फ निस्कने सडकमा एकतर्फी मात्र प्रवेश दिइनेछ । यी एकतर्फी सडकहरूमा कुनै पनि सवारी साधन पार्किङ गर्न पाइने छैन ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बजारको सुरक्षा र पैदलयात्रीको सहजताका लागि यो कदम चालिएको बताउनुभयो । लम्सालले भन्नुभयो, “सडकमा जथाभावि पार्किङ नहोस् र बजार क्षेत्र व्यवस्थित बनोस् भनेर नै व्यास–१ करङ्काठमा बसपार्क निर्माण गरी आवश्यक भौतिक पूर्वाधार तयार पारिसकिएको व्यवस्थापन गर्न कठिन छैन ।” प्रमुख प्रशासकीय अधिकृत लम्सालका अनुसार अबदेखि बाँकी रहेका सबै बस, माइक्रो, जीप, ट्याक्सी र अटोहरू अनिवार्य रूपमा करङ्काठ बसपार्कमा लैजानुपर्नेछ । राजमार्गको सर्भिस लेनमा मोटरसाइकल लगायतका दुईपाङ्ग्रे सवारी साधन समेत पार्किङ गर्न पाइने छैन । करङ्काठ बसपार्कमा बत्ती, खानेपानी र शौचालयको व्यवस्थापन नगरपालिकाले गर्नेछ भने टिकट काउन्टरका लागि भवनको कोठा समेत उपलब्ध गराइनेछ ।

नयाँ नियम अनुसार विभिन्न रुटका सवारी साधनहरूका लागि क्यु (लाइन) प्रणाली र यात्रु चढाउने तथा ओराल्ने समय समेत तोकिएको छ । भोलटार चोक, ट्राफिक चोक, व्यास ३ सांगे चोक, भित्री बजार (न्युरोड र माछापुच्छ्रे बैंक अगाडि), र गणेशमान चोकमा विभिन्न गन्तव्यतर्फ चल्ने ठूला तथा साना सवारी साधनहरूलाई मात्र १÷१ वटा क्यु थाप्न दिइनेछ र बाँकी सवारीलाई बसपार्क पठाइनेछ । बजार क्षेत्रमा यात्रु चढाउन र ओराल्नका लागि बढीमा दुईदेखि पाँच मिनेटसम्मको मात्र समय निर्धारण गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वैकुण्ठनाथ मिश्रले अव्यवस्थित पार्किङले नगरको सौन्दर्य मात्र नभई सर्वसाधारणको आवतजावतको अधिकारमै असर पारेकाले सवारी व्यवस्थापनमा ढिलाइ गर्न नहुने बताउनु भयो ।

नगरपालिकाले बजार क्षेत्रका कतिपय व्यवसायीहरूले सडक पेटी (फुटपाथ) मा सामान राखी बिक्री गर्ने गरेको पाइएकाले त्यस्ता सामानहरू पूर्ण रूपमा हटाउन र पैदलयात्रीका लागि पेटी खुला राख्न समेत निर्देशन दिएको छ । बजार क्षेत्रको निगरानीका लागि हाल भएका सीसीटीभी क्यामेराहरूको मर्मत गर्ने, आवश्यक स्थानमा नयाँ क्यामेरा थप्ने र जेब्रा क्रसिङ तथा फुटपाथ व्यवस्थापनको काम जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा अगाडि बढाइने नगरपालिकाले जनाएको छ।