भक्तजनको दान र भेटीबाट सञ्चालित तनहुँका गुरुकुल यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अब्बल देखिएका छन् । धार्मिक र आध्यात्मिक वातावरणमा अध्ययन हुने देवघाट गाउँपालिकाका चार वटा गुरुकुलले सामुदायिक विद्यालयलाई समेत उत्साहजनक रूपमा पछि पार्दै शतप्रतिशत नतिजा हासिल गरेका हुन् ।

देवघाट गाउँपालिका शिक्षा शाखाका अनुसार यस वर्ष गुरुकुलतर्फबाट सहभागी भएका ४५ जना विद्यार्थीमध्ये सबै उत्तीर्ण भई शतप्रतिशत नतिजा प्राप्त भएको छ । देवघाट–५ स्थित महेश संस्कृत गुरुकुलका एक छात्रले चार जिपिए प्राप्त गरी उत्कृष्ट सफलता हात पार्नुभएको छ । पवित्र तीर्थस्थल देवघाटमा सञ्चालित महेश संस्कृत गुरुकुल, परमानन्द संस्कृत गुरुकुल विद्यापीठ, वेदवेदाङ्ग संस्कृत गुरुकुल र कन्या मात्र अध्ययन गर्ने माँ कल्याणी वैदिक कन्या गुरुकुलका सबै विद्यार्थी ग्रेडेड भएका छन् ।

सीमित स्रोतसाधनका बाबजुद प्राप्त यो सफलताले परम्परागत गुरुकुल शिक्षा प्रणाली आधुनिक प्रतिस्पर्धामा पनि उत्तिकै सक्षम रहेको प्रमाणित गरेको छ । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले गुरुकुलको यो नतिजा गाउँपालिकाका लागि मात्र नभई समग्र शैक्षिक क्षेत्रकै लागि गौरवको विषय भएको बताउनुभयो । “दान र भेटीबाट सञ्चालित संस्थाले देखाएको यो शैक्षिक गुणस्तर प्रशंसनीय छ,” कुँवरले भन्नुभयो ।

सामुदायिक विद्यालयतर्फ नौ वटा विद्यालयका १६० विद्यार्थीमध्ये ११९ जना (७४.३७ प्रतिशत) उत्तीर्ण हुँदा गुरुकुलले भने सफलताको पूर्ण अङ्क प्राप्त गरेका छन् । सामुदायिकतर्फ आदर्श शिक्षा मावि, कालिका मावि र सिद्ध महाकाली माविले पनि शतप्रतिशत नतिजा ल्याएका छन् भने अन्यको नतिजा औसत रहेको छ । संस्कारयुक्त शिक्षा र कडा अनुशासनलाई मूलमन्त्र मान्ने यी गुरुकुलले दाताको सहयोगलाई सही सदुपयोग गर्दै शैक्षिकस्तर सुधारेको कुँवर बताउनुहुन्छ । सामुदायिक र गुरुकुल दुवैतर्फ गरी ८० प्रतिशत नतिजा प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

यसैबिच यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा तनहुँ जिल्लाबाट ६५.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।