नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन पार्टीका नेता तथा कार्यकर्ता एक भएर लाग्न अनुरोध गरेका छन् । महाधिवेशन पश्चात पार्टी अब नयाँ ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिँदै नेता भण्डारीले मुलुक र मुलुकबासीको भविष्य नेपाली कांग्रेसको हातमा रहेको हुँदा जनताले काँग्रेसलाई जिताउनै पर्ने आवश्यकता रहेको बताए ।

देवघाट गाउँपालिका वडा नं ३ छिपछिपेमा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भण्डारीले सो कुरा बताएका हुन् । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका ६० जना नवप्रवेसीहरुलाई नेता भण्डारीले स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए ।

 कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आले, उपसभापतिद्धय देवकुमार श्रेष्ठ र राजेन्द्र्रकृष्ण श्रेष्ठ, सचिवद्धय सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल, संविधान सभा सदस्य झुलबहादुर आले, पूर्व जिल्ला सचिव विश्व वास्तोला, क्षेत्र नं १ प्रदेश ख का सभापति काजीमान श्रेष्ठ लगायतले आफ्ना धारणा राखेका थिए ।

तेस्रो पटक केन्द्रीय सदस्यमा निर्वाचित भए लगत्तै नेता भण्डारी गृह जिल्ला तनहुँ आईपुगेका हुन् । उनी एकसाता सम्म तनहुँका विभिन्न कार्यक्रममा सहभागी हुने सचिवालयले जनाएको छ ।