
लोक गायक खेम सेन्चुरी र मधु क्षेत्रीको स्वरमा रहेको सोचे झैं जिन्दगी रैनछ…..बोलको तीज गीत अहिले निकै चर्चामा छ । फेसबुकका भित्ता देखि टिकटकमा यो गीत भाइरल बनेको छ । अहिलेसम्म यो गीतले ८० लाख भ्यूज पाइसकेको छ ।
नजाऊ माया गाजलु लाएर, पुछिदेला पसिना आएर
सोचे झैं जिन्दगी रैनछ, सोचे झैं जिन्दगी रैनछ।।।
तीज छेको पारेर सार्वजनिक यो गीतमा नाच्दै टिकटक भिडिओ बनाउन खुट्टा उचाल्नेहरू बढिरहेका छन्।
चोली पनि भो छोटो छोटो, कस्तो आउँछ खै कुन्नि फोटो
सोचे झैं जिन्दगी रैनछ, सोचे झैं जिन्दगी रैनछ…
गीतमा नेत्र अर्यालको शब्द छ। संगीत गायक खेमले नै भरेका हुन्। भिडिओ प्रकाश भट्टको निर्देशन र कोरियोग्राफीमा तयार भएको हो।
तीज केन्द्रित यो गीत झ्याउरे भाकामा छ। लोक शैलीलाई समकालीन संगीतमा फ्युजन गरिएको गीत चल्नुमा म्युजिक भिडिओका स्टेप्स को पनि उत्तिकै भूमिका रहेको खेम बताउँछन्।
खेमका अनुसार गीत सार्वजनिक भएको झन्डै दुई सातासम्म पनि आम स्रोतामा पुगेकै थिएन। एकाएक यसको भिडिओ टिकटकमा अपलोड हुन थालेपछि टिकटक प्रयोगकर्ताले यो गीतमा आफ्ना भिडिओहरू बनाउन थाले। अनि गीतका अलग-अलग अंश भाइरलु हुन बेर लागेन।

कुनै पनि सफलताको भागिदार पूरै टोली हुन्छ। शब्द, स्वर, संगीतदेखि भिडिओ निर्देशन कसले गरेको छ भन्ने हुन्छ। यो गीतले सफलता पाउनुमा निर्देशकदेखि संगीतकार, डान्सर, अन्य सहकर्मी साथी लगायत पूरै टोलीको हात छ, खेम भन्छन्, तर टिकटकमा भिडिओको स्टेप्स धेरै रुचाउनु भएको देखिन्छ। त्यसैले यसमा भएका नाचका स्टेप्स खास छ कि भन्ने हो।
काठमाडौंकै धर्मस्थली गाउँमा छायांकन भएको भिडिओ सोचे झैं जिन्दगी रैनछ करिब ३० जनाको सहकार्यमा तयार भएको खेम बताउँछन्। भिडिओमा अञ्जली अधिकारी, ओबी रायमाझी, लोमस शर्मा र रुबिना अधिकारीको मुख्य नृत्य छ भने उनीहरूसँगै अन्य २० कलाकारले प्रस्तुति दिएका छन्।
केही समय अघिसम्म तीज गीतमा महिलाको पीडा र वेदना भरिएका शब्द बढी हुन्थे। रमाइला तीज गीत पनि प्रायः महिलाले नै गाउँथे। खेमले त्यो समय पनि देखेका छन्। विशेष चाडपर्वको अवसर पारेर गीत निकाल्ने उनी समयसँगै गीत-संगीतप्रति मान्छेको चासो फेरिएको अनुभव गर्छन्।
एउटा समयसम्म तीज गीतमा महिलाको मात्रै स्वर हुन्थ्यो। घरपरिवारले गरेको व्यवहार माइतीलाई पोख्ने माध्यम थियो तीज गीत, उनी भन्छन्, तर अहिले समाज बदलिएको छ। तीज गीत बनाउने तरिका र त्यसले समेट्ने विषय फराकिलो बन्दैछ। तीज गीत रमाइलोका लागि गाउन थालिएकाले महिला, पुरुष दुवै मिली रमाइलो गर्न थालिएको छ।
झन्डै १३ वर्ष सांगीतिक क्षेत्रमा बिताएका खेम गायक, संगीतकार र गीतकारका रूपमा सक्रिय छन्। उनले कयौं पटक गीत लेख्दा थेगोहरू आफूले बनाएर अरूलाई शब्द पूरा गर्न लगाएका रहेछन्।
गीतको भिडिओ अरूले बनाए पनि उनी आफ्नो सल्लाह-सुझाव दिने बताउँछन्। हालसम्म झन्डै आठ सय गीतमा काम गरिसकेको बताउने उनी थुप्रै भिडिओमा नाचेका छन्। सोचे झैं जिन्दगी रैनछ को भिडिओमा उनलाई गायककै रूपमा देख्न पाइन्छ।
यसअघिका वर्षमा तीजको माहोल अर्कै हुन्थ्यो। यो वर्ष पहिला जस्तो रमाइलो गर्ने वातावरण छैन। यो गीतको संगीत नाचूँनाचूँ लाग्ने भए पनि शब्दमा नजाँनिदो गरी हामीले भोगिरहेको समयसँग मिल्ने जिन्दगीको अनिश्चितताको कुरा पनि छ।
गीतले भन्छ खासै राम्रो छैन नि यसपालि, सोचे झैं जीन्दगी रैनछ।
हाल कोरोना महामारीमा एक वा अर्को तरिकाले हामी सबैले सोचेकोऔभनेको कुरा हो– सोचे झैं जिन्दगी रैनछ।
खेम भन्छन्, सोचे झैं जिन्दगी रैनछ गीत धेरैको जिब्रोमा झुन्डिनुको यो पनि एउटा कारण हो।




