व्यासश्री सम्पादकीय

हाम्रै छिमेकी देश चीनको वुहानबाट डिसेम्बरदेखि सुरू भएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले अहिले विश्व शोकमा डुबेको छ । अझैपनि विश्वका २१३ देश र आसपासका क्षेत्रमा यसको प्रकोप कायमै छ । कोरोना संक्रमणबाट विश्वभर एक करोड ५६ लाख ५७ हजार व्यक्ति संक्रमित भइसकेका छन् भने ६ लाख ३६ हजार ५०० बढीले ज्यान गुमाइसकेका छन् ।

नेपालको सन्दर्भमा कोरोना संक्रमितको संख्या शनिबार सम्म १८ हजार ४८३ पुगेको छ र यस्तै अवस्था रहेमा संक्रमण समुदायस्तरमा फैलिन सक्ने त्रास पनि छ । देशमा हालसम्म ४३ जनाको मृत्यु भएको पुष्टि भएतापनि संक्रमणको जोखिम भने उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

कोरोना संक्रमणको नियन्त्रणका लागि देशमा चैत ११ गतेदेखि साउन ६ गतेसम्म १२० दिन लकडाउन भयो, लकडाउनको पूर्णरुपमा पालना गराउन सरकारले निकै कडाइका साथ नीतिनियम लागू पनि ग¥यो । तर अहिले लकडाउन खुलेको छ ।

लकडाउन खुलेसंगै अहिले सहरबजारमा चहलपहल सुरू भएको छ तर सरकारले अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्न भने पनि मानिसहरुले त्यसको पालना गरेका छैनन् । लकडाउनपश्चात् जोखिम झनै बढेको देखिन्छ ।सार्वजनिक यातायातसमेत सुचारू भइसकेको छ भने विधालय र क्याम्पसहरुपनि विस्तारै खोलिदैछ । भदौदेखि हवाई यातायातसमेत खुल्ने बताइएको छ । अब क्रमशः निजी शिक्षण संस्थासमेत खुलेपछि जनजीवन सामान्य तर्फ उन्मुख हुनेछ ।

तर, लकडाउन खुलेपछि कोरोना संक्रमणको त्रास सकियो भन्ने होइन्, त्रास झन बढेको छ । मानिसहरुको चहलपहल बढेसंगै यसको संक्रमणको दर दिन दुइगुणा र रात चौगुणा हुने त होइन भन्ने चिन्ता आम जनमानसमा छ । कोराना संक्रमणको जोखिम कायमै रहेकाले अबका दिनमा कोरोनासँगै बाँच्न अभ्यस्त हुनुपर्ने र संक्रमणको जोखिमबाट बच्न सुरक्षित उपाय अपनाउनु जरूरी देखिन्छ ।

तसर्थ, कोरोना संक्रमणको जोखिम कायमै छ, तसर्थ सतर्क रहनुस् ।