
सन्दर्भ : गणेशमान स्मृति दिवस
आत्माराम बास्तोला
विषय प्रसङ्ग
प्रसङ्ग बि.सं २०५४ साल असोज २ गतेकोे हो । नेपाली राजनीतिका लौह पुरुष गणेशमान सिहंको निधन भएको दिन । संयागले त्यतिबेला म काठमाण्डौंमै थिए र गणेशमान सिंहको शवयात्रामा सहभागी हुने संयोग जुर्यो । गणेशमान सिहंको शवयात्रामा मानिसहरुको निकै भीड लागेको थियो, उनीप्रति नेपाली जनताको उच्च स्तर सम्मानको झल्किन्थ्यो ।
नेपाली काँग्रेसका कार्यकर्ताहरु मात्रै होइनन्, शवयात्रामा सहभागी सबैका आँखा रसाएका थिए र अनुहार मलिन थिए । काठमाण्डौंवासीले घरको छतबाट पुष्प अर्पण गरेर स्वर्गीय सिंह प्रति श्रद्धाञ्जली अर्पण गरिरहेका थिए । मानिसहरुले “गणेशमानको निधन देशका लागि अपुरणीय क्षति हो, प्रजातन्त्रको संरक्षणमा गणेशमानको निधनले ठूलो आघात पुर्याउँछ ” भनिरहेका थिए । २०४६ सालमा गणेशमानसिहंको नेतृत्वमा नेपालमा प्रजातन्त्र पुनस्थापना भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्रीको प्रस्ताव राख्दा गणेशमान सिहंले आफ्ना अनन्य मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन आग्रह गरी प्रधानमन्त्री पद त्यागेको तथ्यगत प्रसंग उल्लेख गर्दै शवयात्रामा सहभागीहरुले उनी एउटा त्यागी नेता भएको स्मरण गरिरहेका थिए ।
असल राजनीतिज्ञ
शवयात्रामा मानिसहरुको सहभागिता, गणेशमान सिहंप्रतिको सम्मान, अविभावक गुमाएको अनुभुति, उनको सम्मानमा व्यक्त विचारहरु र उनलाई दिइएको श्रद्धाञ्जली निधनको आवेगमा मानवीय दायित्व पुरा गर्न मात्र सृजित थिएन । वास्तवमा, असल राजनीतिज्ञ गणेशमान सिंहले नेपाल र नेपालीहरुका लागि जीवनपर्यन्त गरेको योगदानका खातिर नागरिकले स्वतस्फूर्त पवित्र अभिव्यक्ति र स्नेह दर्शाइरहेका थिए । नेपाली राजनीतिमा लौह पुरुष, सर्वोच्च नेता, प्रजातन्त्रका पिता, हृदय सम्राट जस्ता विभुषणबाट सम्मानित गणेशमान सिहं जीवनको उत्तरार्धमा राजनीतिमा देखिएको विकृतिबाट असन्तुष्ट बने । गणेशमान सिहंको असन्तुष्टिलाई सकरात्मक दृष्टिले विश्लेषण गर्ने हो भने उनको आग्रह जनताको पक्षमा काम गनुपर्छ भन्ने नै हो । आजीवन मुलुक र मुलुकवासीका लागि संघर्ष गरेका गणेशमान सिहंलाई पार्टी एवं सरकारमा औपचारिक पदको आवश्यकताको महशुस नभएको कुरा अहिलेका पद र प्रतिष्ठामा लुब्ध नेताहरुका लागि प्रेरणाको श्रोत बन्न नसक्नु नै नेपाली राजनितिको दुःखद पक्ष हो ।
स्वाभिमानी नेता
गणेशमान सिहंको जीवनका आरोह अवरोहका क्रममा देखिएका घट्नाक्रमहरुले मानवीय जीवनलाई सकारात्मक सोचतिर डो¥याउँन सहयोग पुर्याउँछ । कक्षा ६ मा अध्ययनको क्रममा दरबार हाइस्कुलमा राणाको छोरालाई पिटेको आरोपमा स्कुलबाट निस्काशित हुनु, वि.स.२००१ असारमा भद्रगोल जेलको पर्खाल नाघेर भाग्नु, जीवनको उत्तरार्धमा आप्mनै साथीहरुको कार्यशैलीबाट रुष्ट भै विद्रोह गर्नुले उनको स्वाभिमानी चरित्रलाई उजागर गर्दछ । भारत निर्वासनका क्रममा विपि मलाई भेट्न आउनु पर्छ भन्ने गणेशमानजीको मनसाय रहेछ भनेर विपिले गणेशमानका बारेमा गरेको टिप्पणीले पनि गणेशमानको स्वाभिमानी चरित्र प्रष्ट हुन्छ । गणेशमान सिंहको यो स्वाभिमानी जीवनशैली हाम्रा लागि प्रेरणाको श्रोत हुनसक्छ । तर चाकडीवाजहरुको बिगबिगी रहेको अहिलेको अवस्थामा स्वाभिमान शब्द एकादेशको कथा जस्तै भएको छ ।
गणेशमानबाट सिक्नुपर्ने पाठ
अनैतिक रुपमा पद र प्रतिष्ठा प्राप्त गर्ने चाहानाबाट मुक्त रहनु पर्छ भन्ने जीवन आदर्श पनि गणेशमान सिंहले हाम्रा लागि छाडेर गएको नासो हो । सिद्धान्त बिहिन अपवित्र सिण्डिकेटका आधारमा प्राप्त सत्ता अबधिलाई भाग लगाई पालो पालो प्रधानमन्त्री खाने र सत्ता सिण्डिकेट भत्किन्छ कि भन्ने डरले एउटा सिन्डिकेटरुपी पार्टीमा दुइ वा सो भन्दा बढी अध्यक्ष बनाई सिण्डिकेट धान्ने वर्तमान अवस्थामा गणेशमान सिंहको आदर्श हाँस्यास्पद छ । गणेशमान सिंहले एक पटक बोलेपछि तत्कालिन शासकहरुको मुटुमा ढ्याङ्ग्रो बज्थ्यो किनकी उनीमा नैतिकताको बलियो हतियार थियो । बर्तमान राजनीतिक नेतृत्वको प्रभावकारिता यति खस्केको छ, उसले बोलेको नागरिकले विश्वास गर्न सक्ने अवस्था छैन । राजनीतिक नेतृत्व जनमत प्राप्त गरेको नाममा जनअनुमोदितको अनुभुति गरिरहेको हुन्छ । तर नागरिकहरु निर्विकल्प परिस्थितिबाट गुज्रेर मतदानद्धारा एकहुल अनैतिकहरुलाई सत्ताको वागडोर दिन वाध्य छन् । जनताको पहलमा ल्याइएको वर्तमान लोकतान्त्रिक गणतन्त्रमा दाग लाग्ने गरी कर्म गर्ने नेताहरुका कारण पञ्चायत र राणाशाहीको भजन गर्नेहरु जननेता बन्ने अवस्था सृजना भएको छ । लोकतान्त्रिक गणतन्त्रमा आस्था राख्ने नागरिकहरु समाजमा गणतन्त्रको महिमा गाउन सकेका छैनन् ।
राजनीतिको यो पुस्ता असफल भयो अब आउने पुस्ताले देशमा जनहितको अभियान अगाडि बढाउछ भनेर भरोसा गर्न सक्ने अबस्था पनि देखिदैन, नयाँ पुस्तालाई पनि आप्mनो मतियार बनाउन वर्तमान पुस्ता सफल भएको छ । राजनितिमा होमिएका युवाहरु भ्रष्ट नेतृत्वद्धारा उपलब्ध हुने भाग खोसिने डरले बोल्न सक्ने अवस्थामा छैनन । एक पार्टीको भ्रष्ट नेतालाई भ्रष्टाचार ग¥यो भन्ने नागरिकको आरोपको खण्डन अर्को अमुक पार्टीले पनि भ्रष्टाचार गरेको थियो भन्ने आउछ, मानौं पार्टीहरु पालैपालो भ्रष्टाचार गर्न स्थापना भएका हुन् । राजनीतिक शासन प्रणाली परिवर्तन गरेर मात्र मुलुक बन्ने रहेनछ भन्ने कुरा प्रमाणित भै सक्यो । अब सकिन्छ भने राजनीतिमा नैतिकता र इमान्दारिताको बिरुवा रोपेर त्यसलाई हुर्काउने र संरक्षण गर्ने अभियानमा लागौं ।
(बास्तोला आदिकवि भानुभक्त क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख हुन् ।)




