तनहुँको व्यास नगरपालिकाको बैठकले विवादास्पद र महत्वाकाँक्षी निर्णयहरु गरेपछि त्यस तर्फ सबैको ध्यानाकर्षण भएको छ ।

नगरपालिकाको बोर्ड बैठकले नगरपालिकाको वडा नं ५ स्थित चर्चित पर्यटकीय स्थल मानहुँकोटलाई पर्यटन प्रबर्धनका लागि निजी साझेदारी ऐन अनुसार व्यास हिल्स प्रा.लि. बाट प्राप्त प्रस्तावलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग आवश्यक परामर्श गरी सम्झौताको आवश्यक प्रकृया अघि बढाउने निर्णय गरेको छ । जुन निर्णयले अहिले राष्ट्रिय रुपमा चर्चा परिचर्चा पाएको छ ।

नरायणहिटी दरबार संग्रहालयमा क्याफे सञ्चालन र गण्डकी संग्रहालयमा पनि ठेक्का पाएको बतास समूहले तनहुँको मानहुँडाँडामा पनि गिद्धे नगर लगाएको आरोप लगाएको छ । नगरपालिकाका जनप्रतिनिधीहरु र भू–माफियाको मिलेमतोमा सो अलोकप्रिय निर्णय भएको हुन सक्ने आँकलन गरिएको छ । सो बारेमा विभिन्न पार्टीका प्रतिनिधी र व्यास नगरबासीले सामाजिक सञ्जालमा खरो प्रतिक्रिया दिएका छन् । सेल्फीडाँडाका रूपमा परिचित मानहुँकोट ५० वर्षका लागि ‘लिज’ मा लिन बतास समूहले व्यास हिल्स प्रालि खडा गरेको छ । यो कम्पनीसँग सम्झौता गर्न व्यास नगरपालिकाले अध्ययन प्रक्रिया अगाडि बढाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बतासको कम्पनीले यो क्षेत्रमा होटल तथा रेस्टुरेन्ट चलाउने बताए। ‘मानहुँकोटमा रेस्टुरेन्ट र होटलसहितका पूर्वाधार बनाउन व्यास हिल्स प्रालिले ५० वर्षका लागि जग्गा भाडामा दिन प्रस्ताव पेस गरेको छ,’ उनले भने, ‘यो विषयमा गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग आवश्यक परामर्श गरी कम्पनीलाई आफ्नो प्रस्ताव थप स्पष्ट पार्न भनिएको छ ।’

बतासको कम्पनीले पाटनबाट मानहुँकोटसम्म केबलकार, जिपलाइन, ग्लास (सिसाको) पुल, होटल, रिसोर्टलगायत पूर्वाधार बनाउने तयारी गरेको छ । कम्पनीले मानहुँकोटमा ४ अर्ब रुपैयाँको लगानी गर्ने गरी प्रस्ताव पेस गरेको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए ।

कम्पनीले यो परियोजनाका लागि केही जग्गा खरिद गर्ने र केही जग्गा लिजमा दिन पनि नगरपालिकासँग प्रस्ताव गरेको छ । कम्पनीले ४० रोपनी लिजका लागि माग गरेको नगरपालिकाले जनाएको छ । मानहुँकोटमा केही निजी र केही सार्वजनिक जग्गा छ । सो ठाउँको अधिकाँश जग्गा भू–माफियाहरुले कब्जा गरिसकेको बताइएको छ ।

बतास समूहको साँठगाँठ र ठेक्का निर्माणका प्रक्रियाका बारेमा देशव्यापी सर्वत्र विरोध भइरहेको परिप्रेक्ष्यमा व्यास नगरपालिकाको निर्णयलाई गम्भिर रुपमा लिइएको छ । बतास समूहका बारेमा नगरपालिकाले आफ्नो निर्णय यथावत राख्नेछ वा परिवर्तन गर्नेछ भन्नेमा अहिले आम चासोको विषय बनेको छ ।