आत्माराम बास्तोला

पृष्ठभुमि

भारतको विहार प्रदेशमा २४३ विधानसभा सदस्यका लागि निर्वाचन भैरहेको छ । तीन चरणमा सम्पन्न हुने निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचन २८ अक्टुवरमा सम्पन्न भयो भने दोश्रो चरण र तेश्रो चरणको निर्वाचन क्रमस २ नोभेम्वर र ७ नोभेम्वरमा सम्पन्न हुदैछ र निर्वाचन आयोगले १० नोभेम्वरमा मत गणना गर्ने कार्य सुचि प्रकाशित गरेको छ । विहार मात्र होइन मध्यप्रदेशमा पनि ज्योतिरादित्य सिन्धियाले कङ्ग्रेस पार्टी विरुद्ध विद्रोह गरी २५ जना कङ्ग्रेसी विधायक लिएर भारतीय जनता पार्टीमा प्रवेश गरेपछि २८ विधान सभाक्षेत्रका लागि ३ नोभेम्वरमा उप–चुनाव हुदैछ । कोरोना कहरबिच सम्पन्न हुनगईरहेका यी निर्वाचनहरुले कोरोनालाई चुनौति दिएको छ । यी दुवै प्रदेशमा भैरहेका चुनावी सभाहरुमा मानिसको उपस्थिति उल्लेख्य छ । कोरोना कालमा अपनाउनु पर्ने न्युनतम सावधानि पनि नेता तथा कार्यक्रताहरुले आत्मसाथ गरेको देखिदैन । प्रत्यक्ष रुपमा भारतमा हुन गईरहेका यी निर्वाचनहरुले कोरोनालाई वास्था नगर्दा आउने परिणामको परिक्षण हुनेछ र विश्वलाई आगामी दिनमा कोरोनाप्रति अपनाउनुपर्ने अवधारणा सुत्र सृजना हुनेछ भन्न सकिन्छ । निर्वाचन भइसकेपछि यी प्रदेशमा कोरोनाले कस्तो रुप लिन्छ त्यसको विश्लेषण आगामी दिनमा हुनेनै छ । त्यस्तै मध्यप्रदेशको उपनिर्वाचन अनैतिक राजनीतिको उपज हो र यसको विश्लेषण जरुरी छैन । तर वर्तमानमा हुनगइरहेको विहार विधानसभा निर्वाचनले केहि सन्देश दिन खोजेको अनुभुति भैरहेको छ । राजनीतिमा होमिएका नेपाली युवाहरुलाई पनि यो निर्वाचनले उर्जा दिनेछ भन्ने अपेक्षा राखेर यो आलेख मार्फत विहार विधानसभा निर्वाचनको संक्षेपमा विशलेषण गर्न खोजिएको छ ।

राजनीतिक समीकरण

क्षेत्रीय पार्टीहरु अस्तित्वमा आएपछि भारतमा केहि प्रदेश बाहेक सवै प्रदेशमा गठवन्धनको राजनीति वाध्यता बनेको छ । क्षेत्रीय पार्टीको उपस्थितिले राष्ट्रिय पार्टीहरु कमजोर भएपछि भारतमा गठबन्धनको राजनीति मौलाएको हो । गठबन्धनको राजनीतिबाट विहार पनि अलग छैन । २०१५ सालको विधानसभा निर्वाचनमा लालु यादवको राष्ट्रिय जनता दल, नितिस कुमारको जनता दल सँयुक्त र भारतीय राष्ट्रिय कङ्ग्रेसको महागठबन्धनले भारी बहुमत प्राप्त गरेको थियो । मोदीको भारतीय जनता पार्टी जम्मा ५३ सिटमा समेटिएको थियो । नितिस कुमारको नेतृत्वमा १८ महिना सरकार सञ्चालन हुँदैगर्दा महागठबन्धनमा आएको खटपटले गर्दा नितिस कुमार भारतीय जनता पार्टीको शरणमा गएपछि महागठबन्धनको सरकार बिघटन भई जनता दल सँयुक्त र भारतीय जनता पार्टीको गठबन्धन मार्फत नितिस कुमारको नेतृत्वमा सरकार बन्यो । यो सरकारको कार्यकाल पुरा भई हाल छत्तिसौं मुख्यमन्त्रीका लागि विहारमा विधानसभाको निर्वाचन हुदैछ । अहिले हुदै गरेको निर्वाचन २०१५ सालको निर्वाचन भन्दा विलकुल फरक राजनीतिक समिकरणमा हुदैछ । चालु निर्वाचनमा राजनीतिक दलहरु तीनवटा मोर्चा मार्फत प्रतिस्प्रर्धामा सहभागि भईरहेका छन । महागठबन्धनको नाममा कम्युनिष्ट समुह, राष्ट्रिय जनता दल र भारतीय राष्ट्रिय कङ्ग्रेसको गठबन्धन छ भने सत्तारुढ दलहरुको मोर्चाको रुपमा मोदीको भारतीय जनता पार्टी, नितिसको जनता दल संयुक्त, जीतनराम माझिको हम पार्टी र मुकेश सहनीको भीआईपी पार्टीको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन बनेको छ । रामविलास पासवानका पुत्र चिराग पासवानको लोक जनशक्तिपार्टी सत्तारुढ गठबन्धन मध्ये मोदीको पक्षमा तर नितिसको विपक्षमा चुनावी मैदानमा छ । त्यस्तै बैकल्पिक तेश्रो मोर्चाको प्रतिनिधित्व गर्दै मायावतीको बहुजन समाजवादी पार्टी, उपेन्द्र कुशवाहको आरएलएस. पार्टी र ओवेसीको एआईएमआइएम पार्टीको अर्को गठबन्धन बनेको छ । महागठबन्धनबाट तेजस्वी यादव, सत्तारुढ गठबन्धनबाट नितिस कुमार र तेश्रो मोर्चाबाट उपेन्द्र कुशवाहलाई मुख्य मन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरिएको छ । निर्वाचनमा तीन गठबन्बधन सहभागि रहे पनि मुख्य प्रतिस्पर्धा प्रतिपक्षी महागठबन्धन र सत्तारुढ गठबन्धनबिच नै रहेको जानकारहरु बताउँछन ।

राष्ट्रिय जनता दल र तेजस्वी यादवको भुमिका

राष्ट्रिय जनता दलका सुप्रिमो लालुप्रसाद यादव चाहरा घोटाला केस अन्तर्गत जेलमा सजाय काट्दै गर्दा यो निर्वाचन भैरहेको छ । यो निर्वाचन विहार राजनीतिका मुख्य पात्र लालुप्रसाद यादवको अनुपस्थितिमा हुँदैछ । राष्ट्रिय जनता दलको नेतृत्वको भार लालुका कान्छा छोरा ३१ बर्षिय तेजस्वी यादवको काधमा आई परेको छ । चुनाव कसैले पनि जित्न सक्छ । तर युवा राजनीतिज्ञहरुका लागि तेजस्वी यादव प्रेरक बनिरहेका छन् । विहारमा कम्युनिष्ट, कङ्ग्रेसलाई आफ्नो दलको नेतृत्व भित्र समेट्दै आफुलाई महागठबन्धनको मुख्यमन्त्रीको उमेदवारको रुपमा प्रस्तुत गर्न सफल भए । उनले गम्भिर र परिपक्व निर्वाचन अभियान मार्फत आफ्नो दलप्रति मतदातालाई आकर्षण गरिरहेका छन । आफ्नो पिताको १५ बर्षे शासनकालमा विपक्षीले लगाएको जङ्गलराजको आरोपको प्रभावबाट पार्टीलाई बचाउन पार्टीका प्रचार सामाग्रिमा लालुप्रसाद यादव र रावरी देवीको तस्विर नराखेर लालुराज भन्दा फरक शासन दिने अपेक्षामा मतदातालाई राख्न सफल देखिन्छन । जातिय र धार्मिक समीकरणबाट ग्रसित विहारको राजनीतिलाई मुक्ति दिने प्रयत्नमा देखिन्छन तेजस्वी । यादव र मुस्लिम मतदातामा भर पर्ने राष्ट्रिय जनता दललाई सबै तह र तप्काको पार्टी बनाउने तरखरमा तेजस्वी लागेको प्रतित हुन्छ । भारतीय जनतापार्टीको हिन्दु मुस्लिम धुविकरण गर्ने लाख कोशिसलाई रोक्ने अभियानमा केहि हदसम्म तेजस्वी सफल देखिन्छन । शिक्षा, स्वास्थ्य र रोजगारलाई निर्वाचनको मुख्य एजेण्डा बनाएका तेजस्वी विहारका युवाहरुका ढुकढुकी बनेका छन । मोदि, आदित्यनाथ, अमित शाह र नितिस कुमार जस्ता धुरन्धरहरु र भारतीय जनता पार्टीको साधनश्रोतका अगाडि एकल रुपमा टिक्न सक्नु निर्वाचनमा हार व्यहोर्नु परेपनि तेजस्वीका लागि सफलता नै मान्नुपर्छ । यस मानेमा तेजस्वी एक्ला देखिन्छन, कि विहारमा उनका गठबन्धनका साथि कङ्ग्रेस र वामपन्थिहरुको खासै प्रभाव छैन । अनेकौं चुनौतिका बाबजुद उनका चुनावी सभाहरुमा युवाहरुको राम्रै भिड देखिने गरेको छ । तेजस्वीले सत्तारुढ गठबन्धनका मुख्यमन्त्रीका उम्मेदवार १५ बर्ष मुख्यमन्त्री भईसकेका नितिस कुमारलाई कडा आलोचना भन्दा पनि नितिससँग जे थियो त्यो विहारलाई दिए, अव विहारलाई दिनका लागि उनीसँग कुनै चिज नभएको बताएका छन । शुरुमा तेजस्वीलाई प्रतिस्पर्धीको रुपमा नदेखेको भारतीय जनतापार्टी पछिल्लो समय तेजस्वीप्रति जनआकर्षण बढेको देखेपछि जङ्गलराजका युवराजप्रति भरोषा नगर्न भनी चुनावी सभाहरुमा बोल्न थालेको छ । तेजस्वी विरुद्ध मोदि खरो उत्रेका छन् । साँचो अर्थमा मोदि तेजस्वीसँग डराएका छन । अब हुने दुई चरणका निर्वाचनहरुमा मोदिको ठूलै चलखेल रहेन भने तेजस्वी मुख्यमन्त्री पदको नजिक रहेको विहारका राजनीतिक विश्लेषकहरुको भनाई छ ।

विहार निर्वाचनको नेपालमा सन्देश

विहारको सिमासँग जोडिएको नेपालमा विहारका सवै गतिबिधिहरुको प्रभाव पर्नु स्वभाविक छ । बर्तमानसम्म विहारको नेपालमा नकरात्मक प्रभाव नै देखिन्छ । विहारको हालसम्मको राजनीति विकृतिपुर्ण नै छ । नेपालमा विहारको राजनीतिक संस्कृतिको स्वरुप भित्रिएको छ भन्दा अतिशयोक्ति हुदैन् । नेपालको राजनीतिमा पनि युवाको ठूलो संख्या सहभागि छ । नेपालमा युवाहरु दलका नालायक नेताहरुले दिएको भाग खाएर सन्तुष्ट छन् वा भाग पाउन पर्खिरहेका छन् ? नेपालमा लोकतन्त्रको पुनस्थापना भएको पनि ३१ बर्ष भैसक्यो, देशले कोल्टो फेर्न सकेको छैन । नागरिकहरु गुणस्तरीय जीवनको अपेक्षामा छन् । अपेक्षाले धानेको धैर्यताको बाँध फुट्ने तरखरमा छ । अनवरत रुपमा एउटै मानिस नेतृत्वमा छ । राजनीतिक दलमा रहेका युवाहरुले आफ्नो राजनीतिक दलमा रहेका नालायक नेतृत्व विरुद्ध विद्रोह गरी नेतृत्व आफ्नो हातमा लिन ढिलो भई सकेको छ । विहारमा सक्रिय राजनीतिक दल ठीक भएर नेपालको समस्या समाधान हुने होइन तर भारतीय राजनीतिका सकारात्मक पक्षलाई आत्मसाथ गर्न सक्दा हाम्रो राजनीतिमा सुधार आउन सक्छ । जसरी विहारमा ३१ बर्षिय तेजस्वीले राष्ट्रिय जनता दलको सफलतापूर्वक नेतृत्व गरेर सफल निर्वाचन अभियान सञ्चालन मार्फत मोदिलाई चुनौति दिइरहेका छन् त्यो पथमा नेपाली युवा हिड्न नसक्ने कुनै कारण छैन । नेपालमा अब हुने पार्टीका अधिवेशनहरुमा सम्बन्धित दलका युवाहरुले युवा समूह बनाई पार्टी नेतृत्व आफ्नो हातमा लिई सरकारको नेतृत्व गर्ने पथलाई सहज बनाउन सकेमा मुलुक सहि ठाउँमा पुग्ने कुराको अपेक्षा गर्न सकिन्छ । यसको शुरुवात नेपाली कङ्ग्रेसको आउँदो अधिवेशनबाट हुनुपर्छ ।

(लेखक आदिकवि भानुभक्त क्याम्पस, तनहुँका उपप्राध्यापक र स्वतन्त्र राजनीतिक विश्लेषक हुन् ।)