सम्पादकीय

देशको तेस्रो राष्ट्रपतिका लागि दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गराएका छन् ।

दुई जना हेभिवेट नेताका उम्मेदवारी पश्चात अहिले सिंगो देशमा राष्ट्रपतिको निर्वाचनको सरगर्मी बढेको छ । र कसले बाजी मार्ला भन्नेमा सबैको अड्कलबाजी चलिरहेको छ ।

वास्तवमा, पौडेल र नेम्वाङ दुवैजना राष्ट्रपति पदका लागि अत्यन्तै योग्य व्यक्ति हुन् । तथापी, निर्वाचनमा एक जनाको मात्रै जीति निश्चित छ, अर्कोको पराजय । नेपाल राज्य बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषताले भरपूर छ । भौगोलिक विविधता यसको चरित्र हो । यसको क्षेत्र तराई मधेसदेखि पहाड हुँदै हिमाच्छादित उच्च शिखरसम्म फैलिएको छ । प्राकृतिका रुपमा नेपाल संसारकै एक अनुपम उपहार हो । दुइ ठूला राष्ट्रहरुको बीचमा रहेको यो सानो देश संसारकै सर्वाधिक पुरानो देशमध्येको एक पनि हो । यसको आफ्नै विशेष गुणवत्ता र महत्व छ । तसर्थ, अब हुने राष्ट्रपतिले राष्ट्रको यीनै गरिमा र महत्वहरुलाई बुझेको र आत्मसाथ गरेको हुनु पर्दछ ।

राष्ट्रपति सम्मानित पद र उँचो पद हो । यसको गरिमा राख्नु साँच्चिकै गाह्रो छ । तर, यही पद तेरो वा मेरोमा सीमित बनाइयो भने त्यो दुर्भाग्य हुनेछ, राष्ट्र र नागरिकका लागि । राष्ट्रपति त राष्ट्रको माली वा मालिक हो । मालिकले राष्ट्रको रखबारी गर्छ । यसका ऐँजेरुहरुलाई निफोनेर, केलाएर यसलाई सुन्दर र स्निग्ध बनाउँछ । राष्ट्रपतिका आफ्नै नैतिक दायित्व र कर्तव्यहरु हुन्छन् । यसमा तेरो पार्टीको मान्छे वा मेरो पार्टीको मान्छेको भाव आउनु हामी सबैका लागि दुखद पक्ष हो ।

राष्ट्रपतिको यही मर्यादालाई अहिले सबैले महशुस गरेका छन् । त्यसैकारण पनि नेपालभित्र दल र दलीय स्वार्थ भन्दा माथिको राष्ट्रियतामा खेलबाड नगर्ने व्यक्ति राष्ट्राध्यक्ष बन्नुपर्ने सुझाव आइरहेका समयमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ मध्ये एक जना सो पदमा पुग्ने निश्चित भएको छ ।

वास्तवमा, राष्ट्रपति स्वच्छ, निष्पक्ष र स्वतन्त्र व्यक्ति हुनुपर्छ, यसमा कसैको पनि दुइमत छैन् । तर अहिलेको राजनीतिक घटनाक्रमले राष्ट्रपति पदका लागि जुन खालको अराजनीति र गठबन्धन फेरबदलको तमासा भित्रिएको छ, त्यसले नेपाली जनतामा एकखालको निराशा पनि पैदा गरेको छ । मेरो र तेरो पार्टीको राष्ट्रपति भन्नु भन्दा हाम्रो राष्ट्रपति भन्ने हुनु पर्दछ ।

दुवै उम्मेदवारलार्ई हार्दिक शुभकामना ।