
व्यासश्री सम्पादकीय
देशमा गणतन्त्र आएको पनि १५ बर्ष पुगिसक्यो तरपनि गणतन्त्र अझै संस्थागत हुन सकेको छैन् । गणतन्त्र प्राप्ति पश्चात पनि करिव आधा दर्जन सरकार फेरबदल भए, तर ‘जुन जोगी आएपनि कानै चिरेका’ भनेजस्तै गणतन्त्रको वास्तविक मर्म अनुसारको राज्य सञ्चालन र विकास अहिलेसम्म भएन् । संबैधानिक राजतन्त्र शासन प्रणाली हटाएपछि देशमा आमूल परिवर्तन हुन्छ भनेर जनतालाई झुठा आश्वासन र ललिपप खुवाउने राजनीतिक दल र तिनका नेताहरु अहिले नाङ्गिएका छन् । यसैबीच, नयाँ संविधान पनि देशमा जारी भयो । गणतन्त्रको मर्म अनुसार देशमा ३ तहका सरकार र ७५३ वटा स्थानीय सरकारको स्थापना गरियो । पक्का गणतन्त्रवादी ठहरिएका तत्कालिन नेकपा एमाले, एकिकृत माओवादी र नेपाली काँग्रेसले पटक पटक सत्ता सञ्चालन गरेपनि जनताका समस्या र दुख जस्ताका तस्तै छैन् । दुई तिहाइको नेकपा सरकार अहिले सत्ता उन्मादले चुलिएको छ । सरकारले पुरै अधिनायकवादी सत्ता अभ्यासकै झल्को दिएको छ । कुनै पनि गणतान्त्रिक र लोकतान्त्रिक राष्ट्र र समाजमा यस्तो सत्ता–उन्माद स्वीकार्य हुँदैन तर विडम्बना, सहनुको विकल्प छैन् ।
यसैबीच, मुख्य राजनीतिक र गणतन्त्रवादी दलहरुकै शासन सत्ता रहेका बेला जनतामा घोर निराशा पलाएको छ र विकल्पको खोजी गरेका छन् । यसै निराशाकाबीच राष्ट्रवादी अभियान नामक समूहले देशभर राजतन्त्रको पक्षमा पुनः वकालत शुरु गरेको छ । देशका प्रमुख शहरहरु पोखरा, नेपालगञ्ज, बुटवल, चितवन र शुक्रबार मात्रै तनहुँको दमौलीमा विशाल जुलुस सहित प्रर्दशन गरेका छन् ।
राष्ट्रवादी अभियान तनहुँको आयोजनामा भएको सो र्यालीमा सहभागीहरुले नेपालको राष्ट्रिय झण्डा बोकेर राजसंस्था पुनस्र्थापना गरौं, राजा आउ देश बचाउ, हाम्रो राजा प्राणभन्दा प्यारो छ लगायतका नाराहरु लगाएका थिए । र्यालीमा अधिकांश युवाहरुको सहभागिता रहेको थियो ।
दमौलीको अनसन चौतारीबाट शुरु भएको र्याली, सफासडक, जिल्ला प्रहरी कार्यालय, भोर्लेटारचोक, गणेशमानचोक, हुदैे दमौली बजारका साथै भादगाउँ र हाइस्कुलटारको पनि परिक्रमा गरेको थियो । र्याली पुनः अनसन चौतारीमा पुगेर सकिएको थियो । अवलोकनकर्ताहरुले दमौलीमा राजवादी समर्थकहरुको संख्या विगतमा भन्दा निकै बृद्धि भएको आँकलन गरेका छन् । राजनीतिक दलहरुबीचको छिनाझप्टीले गर्दा राजतन्त्रप्रति जनताको आकर्षण बढेको उनीहरुको भनाई छ । कुनै पनि हालतमा राजतन्त्र नेपालमा फर्किन सक्दैन भनेर कुर्लिने गणतन्त्रवादी भनाउँदा पार्टी र नेताहरुको अहिले आफ्नै कमीकमजोरी र असफल सत्ता अभ्यासका कारण मुटुमा ढ्याङग्रो ठोकेको आभाष भएको छ ।
बिलिन बनेको राजसंस्था फर्काउन नारा लगाउनेमा २०६२/०६३ सालको जनआन्दोलनमा अग्रपंक्तिमा खटिएका युवाहरुनै देखिन्थे । गणतन्त्रको विपक्ष र राजतन्त्रको पक्षमा उत्रिएका युवाहरुको भावनालाई यदि अहिलेको शासन व्यवस्थाले सम्बोधन गर्न नसक्ने हो र दलहरु नसुध्रने हो भने इतिहासको गर्भमा पुगिसकेको राजसंस्था पुनः जिवित नहोला भन्न सकिन्न । आखिर शासन व्यवस्था परिवर्तन गर्ने संवाहक युवाहरुनै हुन् र उनकै काधमा जिम्मेबारी छ । सबैलाई चेतना भया ।




