
यौन पर्यटनका लागि चर्चित थाइल्याण्ड र नेदरल्याण्डमा यौनबजार खुलेको छ ।
ती देशका सरकारले आफ्नो देशका वेश्यालय र रेडलाइट एरिया कडा प्रतिबन्धको नियमसहित खोल्न अनुमति दिएका छन् । अब यौनकर्मी र ग्राहकहरु रेडलाइट एरियामा जान पाउँछन् ।
तर उनीहरुले किस गर्न र जोडले सास फेर्न नपाउने नियम लगाइएको छ ।
कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउनले प्रभावित भएको यौनबजार खुलेपछि यौनकर्मी र ग्राहकहरु खुशी भएका छन् ।
बैंकक पोस्टका अनुसार थाइल्याण्डको राजधानी बैंककको रेडलाइट एरिया ३ महिना बन्द रहेपछि १ जुलाइदेखि खुलेको छ । थाइल्याण्डका बार, काराओके भेन्यू, मसाज पार्लर आदि पनि खुलेका छन् । विगत ३७ दिनदेखि थाइल्याण्डमा कोरोना संक्रमणको एउटा पनि स्थानीय केस नभेटिएपछि यहाँ यी व्यवसाय खोल्न अनुमति दिइएको हो । यससँगै हजारौंको संख्यामा रहेका यौनकर्मीहरु आफ्नो काममा फर्किएका छन् ।
रेडलाइट एरियामा जानेहरुले केही नियम पालना गरेर मात्र जानुपर्नेछ । उनीहरुले आफ्नो अनुहारबाट मास्क खोल्न पाउने छैनन् । आफूलाई राम्रोसँग सेनिटाइज गर्नेछन्, किस गर्ने छैनन् र जोडले सास फेर्न पनि पाउने छैनन् । रेडलाइट एरियामा जानुभन्दा पहिले सबै ग्राहकको तापक्रम जाँच गरिनेछ । उनीहरुको पूरा ठेगाना, फोन नम्बर नोट गरिनेछ । डान्स बारमा जानेहरु स्टेजबाट कम्तीमा २ मिटरको दूरीमा बस्नुपर्नेछ । भित्र रहेका अन्य व्यक्तिहरुसँग पनि एक मिटरको दूरी कायम गर्नुपर्नेछ ।
मोइरा मोना नामकी एक यौनकर्मीले आफूले पहिले नै सुरक्षाका सबै तयारी गरिसकेको बताएकी छिन् । उनले लेटेक्स कपडा, लेदर फेस मास्क, पञ्जा, सर्जिकल फेस मास्क आदि मगाइकेकी छिन् । त्यसैले उनलाई चिन्ता छैन । उनले जुन ग्राहकले नियम तोडे पनि फिर्ता पठाउने बताइन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार नेदरल्याण्डमा पनि १ जुलाइदेखि नै रेडलाइट एरिया खुलेका छन् । यहाँ पनि ठिक त्यस्तै नियम लागू गरिएका छन् जस्ता नियम थाइल्याण्डमा छन् । यी दुवै देशमा यौनकर्मीहरुले पहिलेदेखि नै सफाइको निकै ख्याल गर्दै आइरहेका छन् र अब यो अझै बढ्नेछ । एम्स्टर्डम जनस्वास्थ्य सल्लाहकार डबी मेनसिंक भन्छिन् ‘रेडलाइट एरियामा बस्ने यौनकर्मीका लागि कोभिड १९ को खतरा बढी छ किनकि उनीहरुको काम नै त्यस्तै छ । त्यसैले मानिसहरुले आफ्ना आवश्यकता कडा प्रतिबन्धमा बाँधिएर पूरा गर्नुपर्छ ताकि सबै सुरक्षित रहुन् ।’




