डा. रामकुमार अधिकारी

कुरो करिब चार दशक अघिको हो । पहाडी भूबनोटमा जन्मेको रहेछु म । जन्मनुमा कुनै अभिलाषा, उद्देश्य हुन्छ वा हुँदैन जन्मनेलाई थाहा हुने कुरा भएन । जन्माउनेहरुलाई पनि यो धर्तीमा मेरो आगमनप्रति ज्यादा उत्साह र उत्कण्ठा थियो थिएन भन्न सक्दिन यसर्थ कि दाजु दिदीहरुमा पनि निकै धनी छु म । गाउँबेसीको जीवन उस्तै हो। दैनिकीमा उकाली ओराली स्वभाविक । गाउँतिर उकालो लाग्दा बेसीका अन्नपातको भारीले तलतिर खिचिनु, अनि बेसीतिर ओरालो झर्दा गाईवस्तुका दाना र आफ्नो सातुसामल बोकेको बोझले थिचिनु गाउँबेसीको दिनचर्या। मेरो अभिभावकहरुको यो रहर थियो वा वाध्यता म चार वर्षे अबोधले बुझ्ने कुरा थिएन । म त यति मात्र बुझ्दथेँ, तल्लाघरे ‘अर्जेल बा’को भतिजो नानीरामसँग उदाय चालेदेखि अस्ताए चालसम्म बेपर्वाह उफ्रिनु, दौडनु, मनमा जेजे आयो त्यही त्यही गर्नु अनि घरमा जो मिल्यो सो बुत्याएर चार पहर रातका लागि मरेतुल्य हुनु । चौथो कि पाँचौँ रोलक्रममा जन्मेको अरे म । बालकैमा घरका सानातिना काम सघाउनुपर्ने बाध्यता थिएन त्यसैले मलाई । बिहान आँखा खुल्नेबित्तिकै उही नानीरामको खोजी गर्नु, भरदिन खेल्नु, खिलखिलाउनु र जसरी हुन्छ रमाउनु, बास यत्ति ।

मध्यम उचाइको पहाडीे थलीमा थियो हाम्रो घर । गाउँको बीचमा तमलन्न तेर्सिएको गोरेटो । दुबैतर्फ ढुङ्गे छानाका एक÷दुई तले घरहरु । बाटोमाथि बार्दली सहितको लामो घर । घरजत्तिकै लामो ढुङ्गे पर्खालले घेरेको आँगन थियो हाम्रो । यसको विपरीत अलि होचो ठाउँमा थियो अर्जेल बाको घर । हाम्रो आँगन र अर्जेलबाको बार्दली आमुन्ने सामुन्ने र नजिक थियो । नानीराम र म आँगन, पिँढी र बाटोमा खेल्थ्यौँ । बार्दलीबाट सबै गतिविधि नियाल्दा रहेछन् अर्जेल बाले ।

परिवारका जेठा भएकाले सबैले ठूला अर्जेल भन्थे अर्जेल बालाई । उनी आफ्नै गाउँमा पण्डित्याइँ गर्थे । बाजुबाजेले जजमानी गर्ने अनि पण्डितका छोरा नातिले आफ्ना अग्रजहरुको अनुकरण गरेर घरमै अक्षर चिन्ने र बाह्रखरी सिक्ने परम्परा रहेछ गाउँघरहरुमा । गाउँमा विद्यालय नभएको, सहर नगएका अनि काशी वनारस पुग्ने पहुँच नभएका अर्जेल बालाई आफ्नै पिताले घरमै अक्षर चिनाउने प्रयास गरेका थिए रे । बिहान सबेरै उठ्नु, नित्य नुहाउनु, रुद्री, चण्डी, गीताको नबिराई पाठ गर्नु, पूूजाआजा गर्नु अनि मात्र खानु पण्डितका नित्यकर्म हुन्थे अरे । अर्जेल बाले पनि बाँकी कर्म त गर्थे अरे । पढ्ने काममा चाँहि निकै कष्ट मान्दै पसिना काड्थे, भन्थे उनका जानकारहरु । जे होस् पिताको शेखापछि सकिनसकी भए पनि गाउँमा आफैँले जजमानी सम्हालेका थिए रे अर्जेल बाले ।

सधैँ झैँ निन्द्रा खुल्ने बित्तिकै नानीरामलाई सम्झिएँ मैँले त्यो दिन पनि । ऊ उठ्यो कि उठेन होला ? हिजो रातीसम्म खेल्दाको स्वाद तलतल लागिसकेको छ । आज त छिट्टै खेल्नुपर्छ । यही उत्साहले आँखा मिच्दै आँगनमा निस्केर बोलाएँ । ‘नानीराम ! ए नानीराम !’ मेरो डाँकोले तल्लो घरको बार्दलीमा रुद्री हो कि चण्डी पाठ गरिरहेका ‘अर्जेल बा’ को पारा तातेर मथिङ्गल उम्लिन पुगेछ । त्यो कुरो मलाई अत्तोपत्तो भएन । होस् पनि कसरी ? यो संसारमा सबैलाई आ–आफ्नो विषय, व्यवहार र तन्द्राले गाँजिरहेको हुँदो रहेछ । तनावग्रस्त अवस्थाबाट पार पाउन नसकेर छटपटाएको बखत नजिक आइपर्ने जो कोही प्रहारको भागेदान हुँदो रहेछ । यो वास्तविकता भर्खर बुझ्न थालेको छु मैँले पनि ।

नानीराम बोलेन । मैँले पनि बोलाउन छोडिन । अर्जेल बा चण्डीका पुस्तक पल्टाएर संस्कृतका कठिन शब्द फुटाउन नसकेर छटपटाई रहेका हुँदा हुन् । उनकै भतिजोलाई मैँले चिच्याएको डाँकोले कनिकुथी वाचन गरेको पाठ तलबिलत हुँदो हो । उनलाई पुनः सुरुदेखि वाचन गर्नुपर्दो हो । राम्ररी अक्षर नचिनेका कारण वाचन बिग्रनुको दोष ममाथि नै थोपरेछन् क्यारे बूढाले । बार्दलीबाट एक्कासि कर्कश आवाज आयो । “काम पाइनस् तैँले ? तेरो टाउको फोरिदिन्छु बजिया” । आवाजसँगै रातो माटाका डल्लाहरु म भएतिर बर्सिए थाले । अर्जेल्नी आमाले दैलो पोत्न डल्लो पारेर बार्दलीमा सुकाइराखेका माटाका डल्लाहरु सबै मेरो आँगनमा क्षतविक्षत भएर छिरलिए । पूरा निन्द्रा खुलिनसकेको मेरा आँखा र मन विलखबन्दमा पर्यो । म झस्किएँ । हंशले ठाउँ छोड्यो । ज्यान बचाउन होला म एकै सासमा घरभित्र पसेँ । सबेरै दैलो पोतिरहनुभएकी मेरी आमाको गुनिउँको फेरमा लपेटिँदै थिएँ । आमाले पनि आपत्मा छोराको ज्यान बचाउनु र लुकाउनुको सट्टा झन पन्छाउँदै भन्नुभयो । “छोड्.., यता नआइज.., ठिक्क पर्यो…, कत्ति न मेलो मार्न बितेको तँलाई…, यति सबेरै.. ।” अब अर्जेल बाबाट ज्यान त बचाउनै पर्यो। हतार हतार आफूलाई छिपाउन गग्रेटो मुनि टाउको लुकाउदै थिएँ । माटोको गाग्रो आफ्नै ढाडमाथि खसेर मझेरीमा बजारियो । यता आफू निथ्रुक्क उता गाग्रो दश टुक्रा । अर्जेल बाको त्रास भन्दा आमाको मुड्कीको मार बोझिलो पर्यो मलाई । धन्न बूढा बार्दली ओर्लेर आएनछन् । नत्र दोहोरो मार खेप्ने रहेछु । मेरो के हबिगत हुन्थ्यो होला ? कल्पनासम्म पनि गर्न सक्दिनथेँ म ।

अब मलाई राम्ररी थाहा भयो । नानीरामलाई बोलाउनु हुन्न । बोलायो भने अर्जेल बा बेस्सरी रिसाउनु हुन्छ । आजसम्म मैँले दिनदिनै कत्ति धेरै पल्ट बोलाएँ होला । पक्कै त्यति नै धेरै रिसाएका होलान् उनी । अर्जेल बाप्रति मेरो मनमा अजङ्गको डर पस्यो । चिच्याएर बोलाउन छोडेँ मैँले । अर्जेल बाको नजिक कहिल्यै नपर्ने अठोट गरेँ । धेरै दिनसम्म खेल्ने उत्साह पनि मरेर गयो । नानीराम आयो भने सँगै खेल्थेँ नत्र एक्लै । मैँले नबोलाएकाले होला नानीराम मसँग खेल्न आउन बिर्सिन थालेको थियो । मलाई भने ऊसँग खेल्न नपाएसम्म आनन्दानुभूतिको अजीर्ण समन हुँदैनथ्यो । खेल्दाखेल्दै कहिलेकाँही हामी दुवै नानीरामकै घरमा पुग्थ्यौँ । अर्जेल बा धेरैजसो घरमा हुँदैनथे । हामी ढुक्क बनेर खेल्थ्यौँ ।

एकदिन नानीराम मेरोमा आएन । मलाई खेल्न साथी चाहियो । चिच्याएर बोलाउने काम मैँले छोडिसकेको थिएँ । उसलाई सम्झँदा सम्झँदै स्वतःस्फूर्त मेरा पाइला उसको घरसम्म पुगिसकेछन् । पिँढीको फलैंचामा टुसुक्क बसेँ । नबोलाए पनि साथी पक्कै बाहिर निस्कला भनेर कुरिराखेँ । ऊ बाहिर अझै निस्केन । के गरूँ, के गरूँ भइरह्यो । चञ्चल स्वभावको रहेछु क्यारे संयम बन्न सकिनछु । फलैंचामा कोइला निभेका अँगारले भरिएको धूपौरो थियो । बिना उद्देश्य नै त्यो अँगार टिपेर फलैंचामा ‘क’ ‘ख’ ‘ग’ को आकार कोर्दै थिएँ म । नानीराम अझै आएन बरु भित्रबाट हातमा पानीको अम्खोरा बोकेका अर्जेल बा ढोकामा आएर ठिङ्ग उभिएको देखेँ । झसङ्ग भएर आफ्नो अनुहार भुईँतिर गाडेँ । “ला ! आज बूढा घरमै होलान् भन्ने त होशै भएनछ ।” केही दिन अगाडिको ‘रातोमाटे काण्ड’ सम्झिएँ । छिनभरमै रिङ्गटा लागेको जस्तो भो । पसिना आउला आउला जस्तो भो । के गरूँ गरूँ अक्क न बक्कमा परेँ । उठ्नु न फलैंचामा बसिरहनु भयो । म फलैंचाबाट ओर्लिएँ । ओर्लँदा उनको अनुहारतिर मेरो नजर पुगेछ । बूढा त मैँतिर हेरिरहेका रहेछन् । लौ बित्याँस पर्यो । मेरो शरीर थरथर काँप्न थाल्यो । अब मेरो रुवाइ फुट्न मात्र बाँकी थियो । त्यतिबेलै अर्जेल बाले फलैंचामा मेरो पौरख देखाउँदै “यो के गरेको ? अँगारले कोर्नु हुन्न, अलच्छिना लाग्छ भन्ने थाहा छैन तँलाई ?” मात्र के भनेका थिए । भर्खर थपिएको अर्को गल्तीले झन आत्तिन पुगेँ म । अब चाँहि बाँचिने भइएन भन्ने लाग्यो । रुवाइको आवाज एक्कासि विस्फोट भयो । “होइन… मैँले होइन.. अब गर्दिन… आमा ! मैँले होइन… बुवा ! अब कहिल्यै गर्दिन…।” चिच्याउँदै थिएँ । डरले काँपेको मेरा दुवै हातले बेसरी च्यापेर रोक्न खोज्दा खोज्दै जाँगे भिजेर भुइँमा ताल बनिसकेछ । “ए ठूली ! हेर, हेर ! यो सिल्लीले त पिँढीमै मुत्यो ।” मेरो मुन्टो तलतिर फर्कियो । आफैँले गरेको तेस्रो गल्तीको धारा पिँडुलाबाट बगिरहेको देखेँ । शरीर क्षणभरमै थाकेको अनुभव भयो । लल्याकलुलुक परेँ । रुवाइमा आवाज कम हुँदै गयो । आँखा मलिन तर आँसु रोकिएनन् । भित्ताको आड लिएर थुचुक्क बसेँ । अर्जेल्नी आमा बाहिर निस्किनु भयो । “ए ! यो त.., के भयो आज तँलाई ? आइज, घर लगिदिन्छु ।” हातमा समातेर डोर्याउँदै घर लगिदिनुभयो ।

अर्जेल्नी आमाले मेरी आमालाई कुन्नि के के सुनाउदै हुनुहुन्थ्यो । ध्यान दिइनँ मैले । आफूलाई त अर्कै त्रासले लेखेटिरहेको थियो । अब के के पो गर्ने हुन् ? तर त्यसबेला भने मलाई कसैले पनि गाली गरेनन् । हप्काएनन् । कुटेनन् । आमाले अनि अर्जेल बाले पनि कुटेनन् । हो, त्यत्रो गल्ती गर्दा पनि सजायँ भोग्नु परेन मैँले । म धन्य भएँ । धन्यवाद अर्जेल बा, धन्यवाद आमा ।

यी त मेरा अनजान, अबोध बाल्यकालका प्रतिनिधि घटनामात्र हुन् । यस्ता कतिपय घटना र गल्तीहरु छिपेका होलान् मेरा पटमभित्र । आगामी दिनमा समयको हुरीले स्मृतिका पाना पल्टाइदिएछन् भने उजागर हुने नै छन् । बाल्यकालका यस्ता घटनालाई फर्केर हेर्दा हीनताबोध होइन आनन्द र जीवन बुझ्ने हौसला प्राप्त हुने गर्दछ मलाई त । जीवनका अविस्मरणीय घटना र सन्दर्भहरुलाई उजागर गर्नुमा पनि आनन्द आउने रहेछ ।

(डा. अधिकारी आदिकवि भानुभक्त क्याम्पस, तनहुँका उपप्राध्यापक हुन् ।)