
नेपालीमा चर्चित उखान छ, भाग्यमानीको भुतै कमारो । हो, जब मानिसलाई भाग्यले साथ दिन्छ, भुतहरु पनि उसको नोकर र कमारो बन्छन भन्ने भनाई गायक दुर्गेश थापामा लागु भएको छ ।
पछिल्लो समय “ट्रोल” को शिकार बनेका गायक दुर्गेश फेरि अहिले “आलु जस्तो गायक” नामक म्युजिक भिडियोबाट चर्चाको शिखरमा पुगेका छन् । गायक दुर्गेश थापालाई दुई वटा सफलता एक साथ मिलेको छ। उनको कुरा काट्नेहरुको नाक, मुख अहिले बन्द भएको छ । चाहेर पनि नचाहेर पनि दुर्गेश अहिलेको पुस्ताका लागि भाइरल गायक र मोडल बनेका छन् ।
इनाक्छी इन्टरटेन्मेटको युट्युव च्यानलबाट सार्वजनिक गीत ‘आलु जस्तो गायक’ २४ घण्टामै युट्युव ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ। यो गीत युट्युव ट्रेन्डिङको नम्बर १ मा पुगेको छ र अपलोड गरिएको दुई दिनमै १० लाख भ्यूज पाएको छ ।
त्यसैगरि, हरितालिका तीज लक्षित गरेर हालै सार्वजनिक गरिएको बीच बीचमा–२ गीतले १ करोड भ्यूज पाएको छ। थापाको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गीत आइतबार दिउसो सम्ममा १ करोड २ लाखले हेरेका छन्।
पछिल्ला दुई गीतमा श्रोता दर्शकले देखाएको अपार माया र सद्भावबाट निकै उत्साहित भएका गायक थापाले बताए। गीतको शब्द संगीतसँगै म्युजिक भिडियोलाई पनि धेरैले रुचाएका छन्। अग्रज कलाकारको सुझाव सहितको भनाइबाट आरम्भ गरेको भिडियोमा अहिलेका चल्तीका नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय छ। ‘हो हो माले भन्ने मान्छे गायक भो बबाल’ भन्ने गीतको वाक्यांशलाई लिएर भने केहीले प्रश्न र चिन्ता व्यक्त गरेका छन्।
टेलिभिजन अन्तर्वार्तामा अग्रज कलाकारको गीत गायन र नामका विषयमा चिप्लिंदा तीव्र विवाद र आलोचना खेपेका थापाले ‘आलु जस्तो गायक’बोलको गीतबाट उक्त प्रकरणबारे स्पष्ट पार्न खोजेका छन्।
यद्यपी गायक थापाले आफुलू अग्रजहरुको सदैव सम्मान गर्ने र अपमान गर्ने नियतले गीत तयार नगरेको स्पष्ट गरेका छन्।
‘सालको पात टपरी’जस्ता सर्वाधिक रुचाइएको गीत सहित करोड क्लबमा प्रवेश गर्न सफल अनगिन्ती गीतको संगीत सिर्जना गरेका लोकप्रिय गायक संगीतकार वसन्त थापाको साथ पछिल्लो गीतको लोकप्रियताका लागि महत्वपूर्ण कडी मानिएको छ। यो गीतसँगै संगितकार थापाले गायक अनुसार संगीत भर्न सक्ने आफ्नो सामथ्र्यलाई पनि आम संगीतप्रेमीका माझमा प्रस्तुत गरेका छन्। बागलुङको गलकोट मल्ममा घर भएका दुर्गेशलाई शुरुवातमा मोडलिङ करियरमा पनि संगीतकार थापाले डेब्यु गराएका थिए।
युवा पुस्तामाझ गत वर्षको तीज गीत ‘हामी पनि नाँच्नुपर्छ बीच बीचमा’बाट गायक तथा मोडेल दुर्गे थापाले सर्वाधिक सफलता प्राप्त गरेका थिए।




