सुशील प्रसाद वाग्ले

केही समय अगाडि दमौलीको एक प्रतिष्ठित विद्यालयमा एक जना शिक्षकले विद्यार्थीलाई चरम यातना दिएर ढाडै भाँचिदिएको खबर सार्वजनिक भयो । विद्यार्थीलाई उपचारार्थ काठमाण्डौ लगियो अरे भन्ने पनि सुनियो । यो घटनालाई व्यास नगरपालिकाका सबै जसो पत्रिका एफ.एमहरुले प्राथमिकताका साथ समाचार बनाए । शिक्षक अभिभावक र विद्यालयका बिच के कस्तो सम्झौता भयो कुन्नि ? घटनाको राप र ताप सेलाउँदै गयो । ढाड भाँच्चिएका भनिएका विद्यार्थी पनि तुरुन्तै बिना कुनै सहयोगी विद्यालय जान थाले । यो घटनामा जुन शिक्षक मुछिनु भयो म उहाँलाई विगत दस बाह्र वर्षदेखि चिन्दथेँ । मलाई उहाँमा त्यो हदसम्मको क्रुरता प्रकट हुन सक्छ भने विश्वास नै लागेन । म र उहाँ बिच प्रायः कला, साहित्य, खेलकूद समसामयिक राजनीतिर घर व्यवहारका विषयमा छलफल भइरहन्थ्यो । उहाँमा वालसुलभ निर्दाेषपना र सहजता थियो तर उहाँमा कत्ति इगो थिएन उहाँ आफ्नो विषयमा परिपक्व हुनुहुन्थ्यो पेशाप्रति इमान्दार हुनुहुन्थ्यो ।

यो घटनाले मलाई मेरो बाल्यकालको त्यतिबेलाको पढाईको अनि कतिपय शिक्षकहरूको याद दिलायो । मैले जुन बेलामा स्कुले शिक्षा पाएँ त्यतिबेला तत्कालीन मुमा बडामहारानी रत्नको जन्मदिन भाद्र ४मा बालदिवस त मनाइन्थ्यो तर बालअधिकार भन्ने केही सुनिएको थिएन। भदौरे घाममा जय जय भन्दै हिँडेपछि चकलेट बाँडिन्थ्यो सायद त्यही नै थियो कि बाल अधिकार ।

विद्यालयमा जुन शिक्षक मोटो न मोटो लठ्ठी लिएर आउँथे अनि विद्यार्थीलाई निर्घात चुट्दथे तिनलाई महान मानिन्थ्यो । मेरा लागि भने ती यमदूत सरह हुन्थे । बिदाको दिन या शनिवारको दिन बजारमा ती देखिए भने म परैबाट भाग्दथेँ । अझै पनि दमौलीमा कतिपय सज्जनलाई देख्दा कता कता अचेतनभित्र घाउको पाप्रो उक्कियो कि झैं हुन्छ । ती ढाड भाँचिएका भनिएका विद्यार्थी र मैले पाएको सास्ती कस्तो हो तुलना गर्नलाई मेरो बाल्यकालको घाउ कोट्याउँदैछु ।

लगभग तिन दशक अगाडिको कुरा हो, एक जना शिक्षक महोदयले विद्यार्थी चुट्न तनहुँमै प्रख्याती कमाएका थिए । पूर्व जुनीको कुन पाप कटनी गर्न हो मलाई त्यही स्कुलमा पढ्न लेखेको रहेछ । म त्यो स्कुलमा भर्ना हुँदा उनी केही समयका लागि काठमाडौं गएका रहेछन् । कक्षामा विद्यार्थीहरु चकचक गर्दा विद्यालय अलि अस्तव्यस्त देखिदा शिक्षक र अनुभवी विद्यार्थी सबैजनाले “जीवराज सर (नाम परिवर्तन) भए देख्थे यिनले” भन्थे । म अचम्म मान्थेँ कस्ता रहेछन् त ति जीवराज सर तिनलाई हेर्ने मभित्र भयमिश्रित उत्सुकता जागिसकेको थियो । लगभग एक हप्तापछि उनी आए । आउनासाथ ताण्डव देखाइ त हाले ।

म पढ्ने स्कुलमा कक्षा कोठा पर्याप्त थिएनन् । सिनियर दाई दिदीहरु चाहिँ कक्षाकोठामा पढ्थे । हामी उनीहरुभन्दा एक वर्ष जुनियरहरु वरको रुखको छहारीमा पढ्थ्यौ । त्यस्तोमा अरु त ठिकै थियो बेला बेलामा चराले बिष्टायाउँथे । अनि बरका पाकेका दाना चराकै बिष्टा सरह नै हाम्रा कापी किताब र टाउकोमा खस्थे । एउटी मिस थिइन् ओ हो हो हो । उनले पढाउँदा पढाउँदा अहिलेको संविधान सभामा ओनसरी घर्ती मगरले ओशोप्रवचन दिए झैं तिमीहरुको टाउकोमा चराले अनि बरको दाना खसेर दुःख दिएको छ तर के गर्छाै यो तिमीहरुले सहनुपर्छ भन्थिन्, अब विस्तारै अर्काे कक्षा कोठा बन्दैछ भन्थिन् तर त्यहाँ अर्काे कोठा म पढुन्जेल कहिल्यै बनेन । हामी आठ नौ वर्षका केटाकेटीलाई त्यो अमृत वचन एउटा कानले सुनेर अर्काे कानले उडाउने भन्दा अर्काे महत्वको हुँदैनथ्यो । यस्तैमा एउटा साथीको कापीमा चराले विष्ट्यायो उसले भन्यो, “मिस हेर्नुस् न ”अनि केही अघिसम्म हामीलाई सहनशील हुनुपर्छ भन्ने सन्देश र अर्ती दिने मिसको धैर्य टुट्यो र भनिन् “त्यै खा मोरा ।” उनी हामीलाई एउटा कक्षा कार्य दिएर खाजा खान गइन् । तिन चार कक्षामा पढ्ने हामी जसो तसो बरको रुखमनि बसिरह्रयौं । बुद्धलाई पो ज्ञानको तिर्सना थियो र सुजाताले खिर खुवाएको रात जसरी पनि ज्ञान पाउनु थियो र उनी रातभर पिपलको बुटमा ध्यानस्थ हुन सके । हामी चाहिँ कहिले चार बज्ला र अनि घर जाने छुट्टी मकै भुट्टी भन्दै कतिखेर पाइला नापौला भन्दै बरको रूखमनि छटपटाइरह्यौं ।

हामी बसेको बरको रूखदेखि पर अर्काे कक्षामा जीवराज सरले पढाइरहेका । हाम्रो हल्ला एक्कासी आफ से आफ शान्त भयो । उनले एकजना अग्लो विद्यार्थीलाई निर्घात चुट्न थाले । मोटो न मोटो लठ्ठीेले पिट्दा प्रत्येक पिटाईमा उस्तै चर्काे गाली गर्थे ।
तँ गधालाई चुरोट खान सिकाउने को हो ? भन् भन्दै उसको कपाल समातेर फनफनी घुमाए

–आफू त बिग्रिइस् बिग्रिइस् अरूलाई पनि बिगार्छस् अनि हातले गालामा एक कसिलो चड्कन ।
–तँ यत्रो लाठे भएर पछाडि बसेर हल्ला गर्छस् ?अनि लठ्ठीको दनक ढाडमा
–तँ यत्रा सानाका अगाडि अझै पाँच कक्षामा पढिरहँदा लाज लागेको छैन? अनि लठ्ठीको उस्तै तगडा दनक पिडौलामा
–तँलाई रेस्टिकेट गर्दियूँ ? अनि लठ्ठीको दनक हातमा
–तैंले मलाई चिनेको छस् ? अनि लठ्ठीको दनक तिघ्रामा ।

यसरी जीवराजले एउटा अनुशासनहीन लाठेलाई चुटिरहे । केही वर्षअगाडि अभिताभ बच्चनको इन्द्रजीत फिल्म हेरेको थिएँ । फिल्ममा अमिताभ बच्चनले मासु बजारमा एउटा खलनायकलाई चुटि चुटि मार्दछन् । मारेको दृष्य देखाइदैन । तर त्यो दृष्यलाई सङ्केत गर्न एउटा मासु पसलेले सायद मम बनाउनका लागि मासुको ठुलो चोक्टा खुकुरीले अचानोमा छ्याकछ्याकछ्याकछ्याक काटिरहेको देखाइन्छ । त्यो दृष्यमा मलाई तिनै जीवराज सर र अनुशासनहीन लाठेको याद आएको थियो ।

हामी निशब्द भएर जीवराजको अचानोमा एउटा केटो ममको कच्चा पदार्थ बनेको हेरिरह्यौं । तर अचम्म त्यो केटो भने मूर्तिजस्तै पिटाई सहिरह्यो ऐया आत्थो केही छैन बा । मलाई लागेको थियो केही रोएको भए जीवराज भित्रको जीव केही नर्मिन्थ्यो कि? तर आफूभन्दा निकै साना अनि भाई बहिनी भन्न सुहाउने साथीहरूको अगाडि रून पनि उसलाई उभित्रको इगोले दिएन सायद । उसको एक्सन देख्दा लाग्थ्यो कतै यसले काउण्टर एट्याक गर्ने त होइन ? आखिरमा उसलाई पछाडि जान भने जल्लाद मास्टरले । ऊ कपाल मिलाउँदै पछाडि गयो । अहिले सम्झन्छु उसको हाउभाउ यस्तो थियो कि अस्पतालबाट मानौ एउटा मात्र सुई लगाएर पिडालाई सामान्यीकरण गर्दै पछाडि गएको होस् । हाम्रो कक्षामा बिस्तारै ज्यान आयो लज्जावती झार बौरिए झैं । माथिबाट हाम्रो हल्लालाई लक्ष गरेर जीवराजले त्यही मोटो लठ्ठी देखाउँदै हुङ्कार गरे,

“ए तल्लो कक्षा ! यो देख्याछस् ?”

हाम्रो कक्षामा मुर्दा शान्ति छायो । मैले जीवराज कसाई रूप देखेँ ।
अहिले पनि कही कतै खसी बोकालाई मार हान्न लागेको छ भने छिटो छिटो त्यो बाटो हिँड्छु । त्यति बेला हेर्नै नसकिने कक्षारूपी बधशालामा मानवबधको उपक्रम देखेँ अनि सोचे, “ गल्ती नै नगर्ने त को छ र यहाँ ? एक न एकदिन त म पनि त्यसरी नै मम बनाउने मासुमा पेलिनेछु नै ”

जीवराजको जल्लाद रूप दाईदिदीहरूको कक्षामा देखिएको थियो । एक दिन आप्mनै कक्षामा देखेँ । बिचरा एउटा साथी कक्षामा पढाइ हुँदा निदाउँथ्यो । कक्षाका फस्र्ट ब्वाई जो पदेन मनिटर हुन्थे तिनले निद्रालु साथीको विरोधमा “रिपट” लेखेर लगिहाल्थे अनि कक्षाका अन्य शिक्षकहरूले उसलाई विभिन्न सजायँ दिन्थे । जति बढी “रिपट” पुर्याउन सकियो मनिटरको वजन बढ्थ्यो । तैपनि जीवराज सरको सजायँका अगाडि सहायक जल्लादका सजायँ खासै केही थिएनन् ऊ मत्र्यलोकको ज्यमराजको फेला अझै परेको थिएन तर आखिरमा एकदिन राम्रैसँग फेला पर्यो ।

एकदिन नियमित पढाउने सर बिदामा बसेपछि हेडसर आए । पढाउँदै थिए निद्रालु साथी निद्रादेवीको काखमा मस्त भएको देखिहाले । अनि के थियो बस् हामीले देख्यौं उनको घटोत्कच अवतार । कपालमा समातेर एक झड्कोमा उनले कक्षाको बिचबाट अगाडि पुर्याए ब्ल्याकबोर्डमा टाउको जोते गालामा कम्मरमा अनि हिपमा यसरी हाने कि त्यो चर्काे आवाजबाट तर्सिएर पल्लो कक्षाबाट एक जना सर कोही लड्यो कि भनेर हेर्न आए कुरा बुझे आफ्नो कक्षामा लागिहाले । त्यसपछि यता हाम्रो कक्षामा ज्यमराजले उसको टाउकोलाई निहुराउन लगाएर अण्डकोषनेर पु¥याउन लगाए । दुवै हात घुँडामुनिबाट कानमा । शरीर कति लचिलो रहेछ भने उसले त्यो तुरुन्तै गर्यो लगभग चालिस मिनेटसम्म ऊ घुँडा मुन्टो जोतेर अद्भूत योगासन गरिरह्यो ।
हे भगवान् कक्षामा उनी पढाइरहेछन् ।

सानै छ बारी सानै छ खेत सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान

कक्षालाई सामूहिक रुपमा रट्न लगाइरहेछन् के को पढ्न आउनु । ओठ तालु सुकेको छ तै घरी किताबमा हेर्नु छ घरी उनलाई हेर्नु छ र पढाईमा पूर्ण ध्यान दिएको देखाउनु छ । अगाडि उनी छन् कक्षाको पछाडि चाहिँ रिपट लेख्ने कागत लिएर सेकेण्ड व्वाई अर्थात सेकेण्ड मनिटर बसिरहेको छ । यसो हाई गरेको देख्न पनि नहुने । रिपट लेखिदिहाल्ने । कोई शक भन्दा नो सर भन्ने मुद्रामा पढिरहनु पर्ने
कक्षा सकिएपछि फेरि उसलाई उठ्न लगाएर छ सात चोटि गतिलैसँग ठोके ।

गधा कुम्भकर्ण तँ कक्षामा निदाउँछस् भन्ने सरहरुले सुनाउँथे आज त आफैले देखे ।
तँ गरिखाँदैनस् ।

फेरि यस्तै देखे तँलाई कहीँ पढ्न नमिल्ने गरी रेस्टिकेट गरिदिन्छु ।
तँ बाबु आमाको लागि हाम्रा लागि बोझ होस् ।
उनी प्रत्येक गाली पिच्छे मरूञ्जेल चुट्दथे ।

शरीरले कति खप्न सकेको हो कुन्नि ? उसले ऐया पनि भनेन अनि उसले आप्mनो सिटमा तपस्याबाट खारिएको बालतपस्वी झै आसन ग्रहण गर्यो । अघिल्लो कक्षाको चुरोट खाने साथी पिटिएको मैले केही परबाट देखेको थिएँ तर त्यो दिन भने नजिकैबाट सहपाठी पिटिएको देखेँ । साथी चुटिदा मेरो मुटुको गति फुट्ला झैं गरी बढेको थियो प्रहार ऊ खान्थ्यो चोट मलाई दुख्थ्यो । स्कुलमा चुटिने धेरैलाई म चिन्दिनथेँ तर जब ती गोरु चुटाईमा पर्दथे म त्यसै त्यसै मर्ममा पर्दथे । झन् त्यो दिन साथी निर्घात चुटिएको नजिकैबाट देख्दा मैले कक्षामै पिसाव गरेछु । सुद्धिबुद्धि केही नाई । धन्न रहिछौ सरस्वती माई । दियौ बुद्धि ! कक्षा सकिनासाथ मनिटरको अनुमति लिएर स्कुल नजिकैको धारामा बेतोडले हानिएँ पानी खाने बहानाले मुख धुने बहानाले कट्टी देखि तल सबै पानीले निथ्रुक्कै पारेँ । अनि बेइज्जत हुनबाट जोगिएँ ।

साथी चुटिएपछि घर फर्किदा अहिलेको भोर्लेटार चोकमा आईपुगेपछि मेरो मस्तिष्कमा सहपाठी चुटिएको दृष्य एक्सन रिप्ले भयो । भाउन्न छुट्यो । म त रोडको बिच बिचमा हिँडेछु । सम्झन्छु एउटा ट्रकले मलाई झण्डै अचार बनाएको । ड्राइभरले जोडले ब्रेक लगाउँदाको क्वाइक्क आवाज र हर्नको चर्काे आवाजले नमिठो तन्द्राबाट बिउँझिएछु ।

ओइ स्याल्ला च्याँसे ! अचार हुन मन छ ? ड्राइभरले गालीको अर्काे चड्कन हान्यो ।

घरमा खाजा खाना कही रुचेन । दमौली खेल मैदानमा हुतुतु खेल्थ्यौं । त्यो दिन के को खेल्न मन लाग्नु ? बेलुका खाना खाए पछि वाक्वाकी लाग्यो वान्ता गरको थाहा पाए अभिभावकबाट फेरि कस्तो प्रतिक्रिया हुने हो भनेर तल शौचालयमा गएर वान्ता गरेँ । कसैलाई थाहा दिइन। धन्य वालवुद्धि !

त्यसको भोलिपल्ट मैले साथीहरुको माझमा भने त्यसरी पिटिँदा ऐया पनि भनेन यार एल्ले । उसले सहजभावमा भन्यो सरको पिटाई खाँदा पनि को रुन्छ त ? मैले बुझे हामी बालकहरु घरमा बाबु आमाले पिट्दा पो रुने हो । सरको पिटाई त हाम्रो भाग्यको अनिवार्य हिस्सा हो ।
एकपटक रिपट लेख्ने फस्ट व्वाई मनिटर बिरामी भए । बजारमा उपचार गरेर फर्किदै थिए । एकजना साथी खाजा खाने ट्याममा कक्षाकोठाको ढोकाको उभिरहेको थियो । बिरामी साथी आए बिस्तारै बाटो छोड भनेछन् ढोकामा उभिने साथीले सुनेन । अनि बिरामी मनिटर बिस्तारै कन्कनाउँदै बाटो नि नछोड्ने भन्दै अगाडि बढे । ढोकाको साथीले भन्यो “अलि सुनिने गरेर भन्नु पर्छ नि त ?” बिरामीसँग मुखमुखै लाग्छस् भनेर मनिटरले रिपट लगिदिए । बस् के थियो जल्लादको सवारी भयो । ढोकामा बसेको साथीले ढोकामा हिरण्यकशिपुको दुर्नियतिको भाँतीमा चुटाई खायो । यति चुटिसकेपछि मनिटरलाई पनि गाली गरिदो रहेछ त । तँ पनि बढी नहो है । अलि पर तर्किएर जान सक्दैनथिस् ? शत्रुलाई चुटाएबापत मनिटरले यति गाली चाहिँ खायो । तर मनिटरले “रिपट” लेखेपछि त पिट्नै पर्ने अभेद्य कानुन बनिसकेकै थियो पालना भएकै थियो ।

यि सबै दृष्य परिदृष्यहरूले मलाई भविष्यमा उनीबाट उग्र रूपमा चुटिन मनोवैज्ञानिक रुपमा तयार पार्दै थिए आखिर एकदिन त्यो स्वर्णीम दिन आयो चुटिनेमा मेरो पनि पालो आयो मैले उनीबाट त्यो विद्यालयमा पढुञ्जेल लगभग दर्जन चोटि चुटाई खाएँ होला । केही सम्झन्छु धेरै विस्मृत भए ।

हामीलाई बरको रुखमनि कक्षाकार्य दिएर एकजना सर होटलतिर खाजा खान दौडिए । हामी मध्ये कतिले कक्षा कार्य गर्यौं कति अक्षमचाहिँ कापी जसोतसो भरेर बस्यौं । खाजा खान गएका सर आएनन् बरको रुखमनि कतिञ्जेल कुर्ने ? माथिल्लो कक्षाका दाईहरु नजिकैको कम्पाउण्डबाहिर तेलकासा खेल्दै थिए । हाम्रो कक्षाका साथीहरु पनि आफ्नो समूह बनाई तेलकासा खेल्न थाले । म चाहिँ पर्खालमा आडेस लागेर खेल हेर्न थालेँ । कुन सड्को कुन सड्को सर आएछन् । बाठा साथीहरु उनी आएको टाढैबाट देखेर हत्तपत्त बरको रुखमनि आफ्नो आफ्नो आसनमा बसिहालेछन् । म लगायतका धेरै साथीहरु उनी आएको देख्यौं निकै ढिलो ।
मैले खेलेको होइन सर पर्खालमा आड लगाएर हेरेको मात्र हुँ ।

मलाई कताबाट त्यति फिराद गर्ने बुद्धि त आयो तर त्यसले डेट एक्सपाएर ओखती भन्दा अरु केही काम गरेन ।
लौ आज त जल्लाद पनि आएका छन् त लौ । पर्यो बित्यास् । मरियो आज ।
छुट्टी नभई खेल्न जाने डाँकाहरु ! उनको चट्याङे हुङ्कार चारैतिर गुञ्जियो ।
ए कुर्माने ! (पियनको नाम परिवर्तन) जा लठ्ठी लिएर आइज ।
ए सर यिनलाई लाइनमा राख्नुस् ।

हामीलाई अलपत्र छोडेर छुट्टी हुनुभन्दा पहिल्यै खाजा खान जाने सरलाई अर्डर दिए । ति कर्तव्यनिष्ठ सरले आई एस.आइ एस का लडाकुले काटिनेलाई लाईनमा लगाएझै लाइन लगाए । हामी लगभग सत्तरी जना जति थियौं होला लाईनमा हात तेर्साएर बस्यौं । अरु चुटिएको देखिरहेथे आज आफै त्यसको अनुभव गर्दैछु कुर्मानेले मोटो लठ्ठी उनलाई दिएपछि उनी चुट्दै आए म चालिसौं स्थानतिर थिएँ होला । तर त्यो दिन म भाग्यमानी ! सत्तरी जनालाई चुट्दा त उनको शक्ति विकेन्द्रीकरण हुने भो । एक जनाले मात्र गल्ती गरेको भए त्यो दिन सारा झोक उसैले बेहोथ्र्याे होला हामी सत्तरी जना जतिले त्यो सजायँ बाँडीचुँडी गर्ने भयौं ।
उनी उग्रमूर्तिमा गाली फलाक्दै चुट्दै आइरहेछन् । शिर पाउ सबै कामिरहेछ ।
म सम्झन्छु त्यतिबेला मनमनै भगवान्लाई पुकारा गरेको थिएँ भनेको थिएँ हे भगवान् अरु जे भए नि आज चाहिँ निदाउने साथी चुटिएको देखेको दिन जस्तो पिसाव चाहिँ नहोस् है ।

हेडसर म नजिक नजिक जस्तो आएपछि लठ्ठी भाँचियो । अर्काे लठ्ठी ल्याउन फेरि कुर्माने गयो । पिटिएको भए टण्टै सकिन्थ्यो । तर पिटाई भन्दा पनि पिटाईको प्रतिक्षा त झनै यातनादायी पो हुँदो रहेछ त ।

ढ्याक्ढ्ढाक ढ्याक्ढ्ढाक
ढ्याक्ढ्ढाक ढ्याक्ढ्ढाक
मुट बेत्तोडले धड्किन थाल्यो

लठ्ठी पाइएन सर ! कम्पाउण्डमा गाई गोरु पस्दा धपाउने कटबाँस मात्र छ क्यारम् ?
परबाटै कुर्माने करायो ।
त्यही लेराइज मात्रा मिलाएर हान्छु । यता सर कराए ।
खाजा खान गएका सर अनायासै बोले होइन सर बाँकीलाई छोडिदिने कि त ?
चुटाई खान बाँकी म लगायतका साथीहरुमा आसा पलायो । तर तुरुन्तै वैलायो पनि ।
के को छोड्ने सबैलाई समान व्यवहार गर्छु । उनी डुक्रिए ।

कटबाँस आइपुग्यो । सिनेमाको मध्यान्तर सकिएर अर्काे भाग दृष्यमान् भए जस्तै फेरि चुट्ने क्रम सुरु भयो देब्रे हात तेस्र्याए पुग्ने रहेछ पछि थाहा भयो । मैले त दाहिने देब्रे दुवै हात समर्पण गरेछु ।
दार्शनिकहरुद्वारा जागृतिलाई स्वप्न झैं ठान्नु भनिए झैं मलाई लाग्यो म अब स्वप्नभित्र प्रवेश गर्दैछु । शारीरिक र मानसिक सास्ती खप्न तनमनले आफै उपाय गर्दाे रहेछ । म होश र बेहोशको दोसाँधमा पुगेँ । उनी साथीलाई चुट्दै म नजिकै आइपुगे ।

“तँलाई क्लास टाइम्मै खेल्न पर्ने”
चट्याक् चट्याक्

कटबासले दाहिने र देब्रे दुबै हातमा चुटे । जीवनमा कटबाँसे पिटाईको पहिलो अनुभूति । अद्भूत अनुभूति । उनले म लगायत सबैलाई तँलाई क्लास टाइम्मै खेल्न पर्ने भन्दै गाली गर्दै त पिटे तर क्लास टाइम्मै खाजा खान जाने शिक्षकले कुन स्तरको गल्ती गरेका हुन् त्यसको पुर्पक्ष कसले गर्ने ? अब बढी व्याख्या नगरौं ।

पिटाई पछि हात राम्रैसँग सुनिए । पिटिएपछि एउटा साथीले भन्यो, “एउटा हातमात्र तेस्र्याए हुन्थ्यो किन दुइटै हात तेसारेको ?” म त अलमल्ल परेँ ।

सुन्निएका हातका बारेमा अब घरमा के भन्ने ? समस्या पर्यो। लाम बाहुले सर्ट थियो नाडीसम्म त जसो तसो छोप्न सकेँ । तर खान खाँदा कहिल्यै चम्चा नखोज्ने दाउरेले चम्चा खोज्दा पोल खुल्यो । तैपनि महतारीलाई भनें
बुल्दी खोला तरेर उक्लिएको उकालोमा धसारिएर लडेँ ।

खै त लुगामा त माटो लागेको छैन त ? उनको अर्काे प्रश्नमा नबोली नबोली भात खाएँ ।

त्यसको केही दिनपछि फेरि मैले अरूले सजाय खाएको दर्दनाक दृष्य देख्नु पर्यो । कक्षामा शिक्षक जब आउँदैनथे बस् मनिटरको काम सुरु हुन्थ्यो । एक दिन दोस्रो पिरियड फेरि खाली भयो । सबै जना कक्षामा जसो तसो बसिरहेका थियौं । एक जना साथी उमेरमा हामीभन्दा लगभग चार पाँच वर्ष जेठो थियो होला । उसले अलि ठूलो स्वरमा गोरे र जुठे शीर्षकको कथा पढिरहेको थियो । सेकेण्ड मनिटरबाट “रिपट” लेखिदै रहेछ । मनिटर महाराजलाई उसको पारा पढाई नभएर हल्ला जस्तो लागेछ । “रिपट” लेख्दिहाल्यो । लगभग बिस जना जतिको नाम लेखिएपछि उसले पिटाई महाराजकहाँ त्यो “रिपट” पुर्याई हाल्यो । उनी यमराजको भाँतीमा मोटो लठ्ठी लिएर भर्याङबाट तल ओर्लिए । अनि सुरु भयो यम यातनाको अर्काे रूप । मनिटरले लेखिदिएको “रिपट” पढेपछि विद्यालय परिसरमा उनको चट्याङे स्वर गर्जन बनेर गड्किन्थ्यो जस्तै

सोमहरि काफ्ले….. यहाँ आइज….

त्यसपछि सोमहरि काफ्ले पिटाईले तातो न तातोसँग डामिएका हात लिएर डब्डबाएका आँखा लिँदै कक्षाभित्र पस्दथ्यो अनि बेञ्चमा घोप्टिन्थ्यो ।

संयोगवश त्यो दिन भने ति पुण्यकर्मीहरूको लिस्टमा मेरो नाम भने रहेनछ । सबै साथी पिटाईको बप्तीस्मा लिएपछि रूँदै कक्षामा फर्किए । त्यो ठुलो साथी भने राम्रैसँग रोयो । उसको रूवाईको डाँको सुनेर “रिपट” लेख्ने मनिटर पनि अँध्यारो मुख लगाउँदै भन्दै थियो, “मैले के गर्ने ? रिपर्ट लेख भनेपछि लेखिदिएको हुँ ।”

मनिटरले “रिपट” लेख्नासाथ कक्षामा अरू सोधपुछ केही नगरी “रिपट”मा नाम चढ्नेहरूले कुन स्तरको गल्ती गरेका हुन् भन्ने बुझ्दै नबुझी औसतमा दस वर्ष पनि नपुगेका केटाकेटीलाई मरूञ्जेल चुटेर ति शिक्षक महोदयले चाहेका के थिए ? आजभोलि पनि यो दुःखी प्रश्नले मलाई सताईरहन्छ ।

अझ यि सजायँ केही थिएनन् । उनले दिएको एकपटकको सजायँले त मेरो जीवन शैलीलाई नै परिवर्तन गरिदियो।
पढ्ने स्कुलमा कोठा पर्याप्त थिएननु । एउटा कक्षा बरको रूखमुनि पढ्दा अर्काे कक्षा कोठामा पढ्दथ्यो । अनि दोस्रो पिरियडमा बरको रूखमा पढ्ने कक्षा फेरि कोठामा पढ्दथ्यो । कक्षा कोठामा पढ्ने बरको रूखमा सर्दथ्यो । यसरी रूख र कोठा साटासाट हुन्थ्यो । गर्मी मौसममा टिनको छानोको कोठा हाम्रा लागि अर्काे याम यातना थियो।

भदौको महिना थियो । गर्मीले आत्तिएर माथिल्लो कक्षाका दाईहरु बुल्दी खोलामा पौडी खेल्न जाँदा रहेछन् । हाफ छुट्टीमा मेरा कक्षाका साथीहरू पनि पौडी खेल्न जाने भए । म पनि गएँ । पौडी खेलियो । एउटा साथी बाठो रहेछ । ऊ पौडी खेलेर घर फर्कियो । हामी हाफ छुट्टी सकिएको घण्टी नबज्दै कक्षा कोठामा प्रवेश गरेको भए सायद कसैलाई थाहा हुँदैनथ्यो । मनिटरलाई छुस्की लगाउन सके उनीहरूको प्यारो भइने हुनाले छुस्की लगाउने जासुसहरु छ्याप्छ्याप्ती हुन्थे । उनीहरूले कुरा लगाईहाल्दथे । स्कुल पुग्नु भन्दा पहिले नै हाम्रो नाम यमराजको टेबुलमा टेबुल भैसकेको रहेछ । हामीलाई अफिसमै लगियो । त्यो दिन पाँच जना जति थियौ क्यार उनको बलिबेदीमा बलि चढ्ने।

अफिसमा सरहरू टनाटन । उनीहरू हामी चुटिएको हेरेर मुसुमुसु हाँस्दथे । त्यतिबेला सलमान खानका दबङग स्टाइलका फिलिम हेर्न दमौलीमै पाइदैनथ्यो । त्यही दृष्यले उनीहरूलाई सित्तैमा “एक्सनप्रधान”लाइभ सिनेमाले आत्मतृप्ति प्रदान गर्दथ्यो क्यार । अनि कक्षामा कुन हदसम्म निर्मम हुन सकिन्छ भनेर पनि सिक्दथे सायद । उनीहरू कक्षामा पढाउन नगइकन बस्नुको कारण त्यही नै हुनुपर्दछ । हुन पनि जीवराजले अफिस कोठामा कोइ नभएको बेलामा पिट्दा भन्दा सहकर्मी साथीहरूको माझमा विद्यार्थी चुट्दा उनी असाध्यै क्रुर र निर्मम भएको मैले प्रत्येक पटक अनुभव गरेको थिएँ ।
दुई जना साथी चुटिएपछि मेरो पालो आयो ।

पहिलो दनक गालामा ठोके ।
ऐया बाबा…..
चिच्याएर कराएछु ।
तेरो बाउ यहाँ छ ? भन्दै माथिल्ला दाँतले तल्लो ओठ टोक्दै मुड्की उज्याए ।

त्यसपछि कति पटक पिटे होश छैन मलाई । खाली तेरो बाउ यहाँ छ ? तेरो बाउले पौडी खेल्न जा भनेको हो ? भन्ने प्रश्न गरेको मात्र अलिअलि चाल पाउँछु । सपनाको दुनियामा दुस्वप्न देखेजस्तो मात्र भयो ।

हामीलाई कक्षामा लगिएछ । सामाजिक पढाउने सरले पढाइरहँदा बिस्तारै निवर्तमान भएको पिटाईबाट वर्तमान अनुभूति गर्न थालेँ । दाहिने हातमा चोर औँलामा नङ् उक्किएर रगत आइरहेको । सायद पिटाई छेक्न खोज्दा नङ्ले पनि अलिकति कुर्बानी दिएछन् कि ? केही दिन अगाडि गोरे जुठे कथा पढ्दा पिटाई खाने ठुलो साथी छेवैमा थियो । पौडी खेल्न गएपछि घर पो जानुपर्दछ फर्केर आउने हो ? भन्यो । रगत आएको देखेर आफ्नो हातले रगत थामिदिन खोज्यो । अनि मलाई अँगाल्यो हाल्यो । कक्षामा अलिअलि दादागिरी देखाउने त्यो साथी पनि आखिर मान्छे नै त थियो ।

हामीसँग पौडी खेल्न जाने एउटा साथी चाहिँ पौडी खेलेर हामीसँग फर्किएन सिधै घरतिर हानियो । भोलिपल्ट उसलाई जीवराजले होइन कक्षा शिक्षकले सजायँ सामान्य सजाय दिए । विद्यार्थी कहालिएर चिच्याएको दृष्यमा आखिर सधैं सलमान खानको सुल्तान हेरेको आनन्द पनि त मिल्दैनथ्यो सायद ।

त्यसदिन देखि बेला बेलामा अनौठा सपना देख्न थालेँ । खेतका आली आलीमा हिँड्दा हिँड्दै चिप्लिएर लडेको । आकाशमा पुगेर एक्कासी खसेको । यस्तोमा निस्सासिदै बिउँझन्थेँ । निद्रामा झस्किन थालेँ । सयौंचोटि दाँत झरेको रुख ढलेको सपना देखेँ । यस्तो सपना देखे मरिन्छ भन्थे मान्छेहरु । खै आजसम्म बाँचेकै छु ।

मेरा अभिभावकको कित्ताभित्र पर्ने कुनै महोदयलाई जीवराजले मेरो पौडी काण्ड सुनाएछन् । म ऐया बाबा….. भनेर कहालिएको अनि उनले तेरो बाउ यहाँ छ भनेर सातो जाने गरेर झपार्दै चुटेको पनि सुनाएछन् । ति अभिभावक सज्जन अचेल पनि हाँस्दै त्यही काण्ड दोहोर्याइरहन्छन्
उनी भन्छन् – “यसले जीवराजबाट चुटिदा ऐया बाबा भनेर कहालिएको रे हो हो हो हा हा हा …अनि जीवराजले तेरो बाउ यहाँ छ भनेर सातो खाएको रे हि हि हि उफ् उफ् उफ्…। ”
हृदयमा भुइचालो गएर प्वाल परेको त सताएर खानेहरूले कहाँ देख्न सक्दछन् र ? त्यसका लागि त तेस्रो आँखा खुलेको व्यक्ति हुनुपर्दछ । मानवीय संवेदना हुुनुपर्दछ ।

जीवराज छेऊ पुर्याईपछि अधमरा हुने निश्चित हुन्थ्यो तर एक पटक भने मैले गरेको एउटा खतरनाक भूलमा उनी मप्रति त्यति कठोर भएनन् जति उनी हुनुपर्दथ्यो । स्कुलनेर रोटेपिङ थियो । हामीहरु हाफ छुट्टीमा त्यही रोटेपिङ चलाउँथ्यौं । त्यहाँ पिङ् थिएन रोटे अर्थात् काठका लामा थाम मात्र थिए । हाफ छुट्टीमा हामी बेस्सरी त्यही बत्ताउँथ्यौं । कसले घुमाउँदा कति चोटि घुम्छ भन्ने प्रतिस्पर्धा हुन्थ्यो ।
एक पटक मैले हाफ छुट्टीमा पिङको काठको एउटा थाम बेसरी घुमाइदिएँ । एउटा साथी दौडादौड गर्दै आएर मैले घुमाएको काठमा स्वादसँग निधार जोत्यो अनि भुक्लुक्क ढल्यो । मलाई लाग्यो – यो आज सकियो ।

माथिल्लो कक्षाको एउटा साथीले मलाई च्याप्प समाएर जीवराजकहाँ लग्यो । यस्तोमा आफै मनिटर बनेर अगाडि आउने महत्वाकाङ्क्षा सबैमा हुन्थ्यो नै । मेरो भाग्य दह्रो ! उनी खाजा खान गएका रहेछन् । तर पनि मलाई त्यो साथीले स्कुल नजिकैको होटलमा खाजा खाँदै गरेका जीवराजकहाँ पुर्याई छाड्यो ।
के भो ? उनी कराए ।

सर ! यसले रोटेपिङ हल्लाएर यसको निधार ठोकिदियो । मलाई लैजाने प्रहरी साथीले भन्यो ।
खै खै तेल ल्याऊ । उनी उसको टुटिल्को उठेको निधारमा तेल मालिस गर्न थाले ।
मैले अझै पिटाई नखाएको देख्दा वरिपरीका तमासेलाई स्वादै आएन ।
सर ! यसलाई के गर्ने ? मलाई समाएर लैजाने साथी फेरि करायो ।
अचम्म उनले त्यो दिन सामान्य चड्कन मात्र हानेँ ।

साथीको टुटिल्को ठूलो हुँदै थियो । उनी तेल मालिस गरिरहे । मलाई कक्षामा जान अनुमति मिल्यो ।
आश्चर्य ! त्यो निधार ठोकिने साथीले मलाई तैले यसो गरिस् भनेर कहिल्यै गुनासो गरेन । प्रत्येक दिन स्कुल जाँदा मैले उसको निधार हेर्दथेँ । उसको निधारको पहाड बिस्तारै मैदान हुँदै पनि गयो ।

प्रिय पाठकवृन्द ! आजभन्दा लगभग पैतिस वर्ष अगाडिका यी घाउका पाप्रा उक्काउनुको उद्देश्य कसैलाई बदनाम गर्नु होइन । मैले मुख्य पात्रको नाम पनि परिवर्तन गरेकै छु । म स्वयं शिक्षण पेशामै छु । जीवराजले दस बाह्र वर्षका विद्यार्थीलाई तह लाउनु पर्दथ्यो । मेरा कक्षामा कहिले माइक टाइसन जस्ता त कहिले इभाण्डर होलिफिल्ड जस्ता आउँछन् । कतिलाई सुन्दरताकी रानी ऐश्वर्याको रुपको घमण्ड हुन्छ अनि कतिलाई महारानी ऐश्वर्याको अर्काे मात हुन्छ । १७ वर्षको शिक्षण अनुभवमा मैले कहिल्यै हात छोडेको छैन । पढाउँदा दिक्क बनाउने स्थिति नहुने होइन । लेग पुलिङ गेमको शिकार नभइने पनि होइन । यस्तोमा जीवराजजस्तालाई रोलमोडल बनाइयो भने म पनि आखिर शैक्षिक राणा शासनकै जङ्गबहादुर नै हुनेछु । हुनत जीवराजको उद्देश्य पनि हामीलाई सुधार्ने नै थियो आफ्ना विद्यार्थी हरतरहले अनुशासित र सुयोग्य बनून् भन्ने उनको मनसाय त थियो नै होला । तर हामी जस्ता कलिलासँग त्यतिविधि कठोर हुनै पर्दैनथ्यो । उनी निहुरोलाई बन्चरो चलाईरहन्थे जबकि निहुरो तरकारी त हातको सामान्य बलमै पिटिक्क भाँचिन्छ । सुधार्ने नाममा विद्यार्थीलाई निद्रामा झस्काउने स्थितिमा पुर्याइन्छ भने त्यस्तो सजायँ त सर्वथा आलोच्य नै हुन्छ होइन र ?

(लेखक वाग्ले आदिकवि भानुभक्त क्याम्पस, तनहुँका उपप्राध्यापक हुन् ।)