तनहुँमा कोरोना संक्रमणको दर दिनानुदिन बढिरहेको छ । कोरोनाको ग्राफ उच्च दर बृद्धि हुँदै जाँदा यसका लागि अपनाउनुपर्ने सतर्कतामा भने कमी हुँदै गएको छ । कोरोनाकै कारण अझैपनि जनजीवन त्राहीमान र त्रासदीपूर्ण नै छ । तनहुँका स्थानीय निकायहरुमा पनि दिनप्रतिदिन कोरोना संक्रमणको दर र जोखिम बढिरहेको देखिन्छ । जसका कारण जनजीवन सामान्य तर्फ फर्कन सकेको छैन् । भिडभाडयुक्त ठाउँमा काम गर्ने कर्मचारीहरुमा संक्रमण देखिएपछि सिंगो समुदाय र सेवाग्राहीहरु झन जोखिममा परेका छन् ।

जिल्लामा शुक्रबार एकैदिन ४४ जना, शनिबार ७ जना र आइतबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सदरमुकाम पनि रहेको व्यास नगरपालिकामा मात्रै तीन दिनमा गरि ३५ जना संक्रमित थपिएका छन् । यो संख्या अहिले सम्मकै उच्च हो । व्यास नगरपालिकामा रहेका बैंकका कर्मचारी, प्रहरीहरु, औषधी व्यवसायी, शिक्षक, यातायात व्यवसायी र कारागारका बन्दीहरुमा संक्रमण देखिएपछि त्रास झनै थपिएको छ ।

यसैबीच, स्वास्थ्यकर्मीहरुले भने नागरिकको लापरवाही र गैरजिम्मेवारीका कारण संक्रमण तीब्र रुपमा फैलिएको गुनासो गरेका छन् । राम्रोसंग मास्कको प्रयोग नगर्ने, मर्निङ्गवाक गर्ने, बजार तथा भिडभाडमा घुमफिर गर्ने, भिडभाड हुने ठाउँमा स्वास्थ्य मापदण्ड पालना नगरी लापरवाही गरेका कारण विशेषतः दमौली बजार क्षेत्रमा कोरोना संक्रमण फैलिएको र समुदाय स्तरमा जोखिम उच्च रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । संक्रमणको दर र जोखिम घटाउन भिडभाड नगर्ने र पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले पटकपटक सुझाव दिदैं आएका छन् । नत्र तनहुँमा कोरोनाको अवस्था र संक्रमण भयावह हुने देखिएको छ ।

व्यास नगरपालिकामा नागरिकको लापरवाहीका कारणले कोरोना संक्रमणको दर बढेको बताइएको छ । होम क्वारेन्टिनमा बसेका र पीसीआर परीक्षणका लागि स्वाब नुमना दिएका मानिसहरु पनि बजारमा लखरलखर डुल्ने गर्नाले संक्रमण फैलिएको स्वास्थ्यकर्मीहको भनाई छ ।

महान चाडहरु दशै र तिहार नजिकिंदै गर्दा तनहुँमा बढेको कोरोना संक्रमणको दरले जिल्लाबासीलाई चिन्तित बनाएको छ । नागरिकको लापरवाहीका साथै स्थानीय निकायको अकर्मण्ययताका कारण कोरोनाको ग्राफ तनहुँमा उच्च हुँदै गएको सबैको ठम्याई छ । साथै स्थानीय निकायले पनि जथाभावी रुपमा विधालय, क्याम्पस, वित्तिय संस्था र बजारलाई खुला गर्ने अनुमति दिएसंगै कोरोनाको अवस्था भयावह र त्रासदीपूर्ण बन्दै गएको छ।

हालसम्मको तथ्याङ्क अनुसार तनहुँमा ९ हजार ३०५ जनाको पीसीआर परीक्षण गरिएकोमा ५६४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४१० जना निको भएर घर फर्किएका छन भने ५ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न आइसोलेसनमा १४९ जना उपचाररत छन् भने ४८ जना क्वारेन्टिनमा छन् ।

तसर्थ, कोरोनाको बढ्दो जोखिम, संक्रमण दर र ग्राफलाई मध्यनगर गर्दै यसको संक्रमणबाट आफू बच्ने र अरुलाई पनि बचाउने अभियानमा हामी लाग्नु पर्दछ । कोरोनासंग मजाक र हेलचेक्र्याइ नगरौं । नत्र कोरोनाको संक्रमणबाट हुन सक्ने भयावह अवस्था थेग्न हामी असमर्थ हुनेछौं । सबैलाई चेतना भया ।