
तनहुँको प्रमुख पर्यटकीय केन्द्र बन्दीपुरमा चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण भइरहेको ‘मिनी ग्रेटवाल’ को काम अलपत्र परेको छ ।
आवश्यक बजेट अभाव भएपछि बन्दीपुर गाउँपालिकाको यो महत्वाकाङ्क्षी आयोजनाको काम अघि बढ्न सकेको छैन । सम्झौता अनुसार यतिबेला निर्माण पूरा हुनुपर्ने हो तर हालसम्म भौतिक प्रगति ४० प्रतिशत मात्रै भएको गाउँपालिकाले जनाएको छ ।
थानीमाई डाँडादेखि मुकुन्देश्वरी डाँडासम्म कुल एक हजार २५० मिटर लामो ढुङ्गाको पर्खाल लगाउने काम भइरहेकाले यसलाई ‘मिनी ग्रेटवाल’ नामकरण गरिएको हो । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ऐतिहासिक स्थल पनि हो ।
सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा आयोजना अगाडि बढाउन २०७८ असोज १२ गते धर्मयस कश्यप जेभीसँग सम्झौता भएको थियो । २०७९ चैत ३० भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदारले समयमा काम गर्न नसकेको पालिकाको भनाइ छ ।
गाउँपालिका र नेपाल सरकारको गरी हालसम्म आयोजनामा एक करोड पाँच लाख रुपियाँ लगानी भइसकेको छ । बाँकी करिब ६० प्रतिशत काम अगाडि बढाउन अहिले बजेट अभाव छ । तोकिएको समयमा ठेकेदारले काम नगर्दा थप बजेट निकासामा समस्या भएको र अब पनि काम सुरु नगरे ठेक्का तोडेर भए पनि निर्माण पूरा गर्ने तयारी पालिकाले गरेको छ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले ठेकेदारले समयमा काम नगर्दा र सरकारबाट थप बजेट नआउँदा पालिकाको एउटा महत्वपूर्ण भौतिक पूर्वाधार अलपत्र बनेको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “ठेक्काको म्याद थप भएको पनि छैन । गाउँपालिकाले पटक पटक पत्र पठाएर निर्माण अघि बढाउन अनुरोध गरे पनि ठेकेदारले टेरेनन् ।
गाउँपालिकाको स्वप्न योजना नै अलपत्र पारिदिए ।” ठेकेदारले काम पूरा नगर्दा अधुरो कामको मूल्याङ्कन नभएर सङ्घीय सरकारले थप बजेट नपठाएको उल्लेख गर्दै उहाँले आगामी आर्थिक वर्षमा सङ्घीय सरकारले बजेट उपलब्ध गराउनेमा आशावादी रहेको बताउनुभयो ।
मूल्य अभिवृद्धि कर (भ्याट) सहित कुल तीन करोड ६९ लाख रुपियाँ लागतमा बन्ने भनिएको मिनी ग्रेटवालका दुवैतर्फ पर्खाल लगाउने, पर्खालमा १२.५ एमएमको स्लेट ढुङ्गा टाँस्ने, भुइँमा पिसिसी गरेर २५ एमएमको ढुङ्गा छाप्ने र थानीमाई जाने भानु माविदेखि ग्रेटवालसम्म करिब तीन सय वटा आकर्षक बत्ती राख्ने सम्झौतामा उल्लेख छ ।
पोखराबाट ७४ किलोमिटर र काठमाडौँबाट १४२ किलोमिटरको दुरीमा रहेको बन्दीपुर पृथ्वी राजमार्गको डुम्रे बजारबाट नौ किलोमिटर पक्की सडकको यात्रा गरेपछि पुग्न सकिन्छ । काठमाडौँ, पोखरा, सौराहा जस्ता प्रमुख पर्यटकीय केन्द्रको बिचमा रहेको बन्दीपुरमा प्राचीन बजार, टुँडिखेल, थानीमाई, रानीवन, रामकोट, तीनधारा, धरमपानी, कोरिखाका होमस्टे, गुम्बा, सिद्धगुफा, यहाँबाट देखिने विभिन्न हिमशृङ्खला आदिले पर्यटकलाई आकर्षित गर्छ ।




