नेपालको सांगीतिक बजारमा तडकभडक, रमझमका तीज गीत सार्वजनिक भइरहँदा गायक प्रकाश सपुतले फरक गीत लिएर आएका छन् ।

महिलाका पीडा गीतमा राख्ने सोच्दै गर्दा बलात्कारको विषयमा सपुतले “बदला बरीलै” नामक गीत बजारमा ल्याएका छन् । यतिखेर यो गीत निकै चर्चामा छ । गीतको शब्द र संगीतसँगै दृश्यमा देखाएको कथाले दर्शकको मन छुन सफल भएको छ ।

गलबन्दी र बोल मायाजस्ता चर्चित गीत दिएका गायक प्रकाशलाई फेरि चर्चामा ल्याइदिएको छ यो गीतले । गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीको अभिनय छ । यो गीतको वन लाइन कन्सेप्ट र मेलोडी १ वर्ष अगाडि नै तयार भएको थियो । लकडाउनमा गीतलाई प्रकाशले मुर्तरुप दिए ।

महिलाका मुद्दा उठाउँदै आएकी केकीलाई उनले गीतको म्युजिक भिडियोका लागि छनौट गरे । केकीको अभिनय क्षमता अब्बल छ । यस्ता विषयवस्तुमा आवाज उठाउने अभियन्ता पनि भएकाले यो चरित्रलाई न्याय दिन सक्ने कलाकार उहाँ नै होजस्तो लाग्यो, उनले सुनाए ।

गीतबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेकी केकी बदला बरीलै लाई अभियानको रुपमा लिएको बताउँछिन् ।

आफूले महिलाको बेदना पोख्ने, पीडा पोख्ने,गीत लेख्ने क्रममा यो गीत सिर्जना भएको प्रकाश बताउँछन् ।