
पृथ्वीराजमार्गको याम्पाफाँट–घाँसीकुवा खण्डलाई दैनिक चार घण्टा बन्द गरिने भएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तिब्रता दिन रातको समयमा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
उक्त सडकखण्ड फागनु ११ गते देखि २७ गते सम्म गरी १० दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म गरी पाँच बन्द गर्ने निर्णय शुक्रबार गरिएको प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले बताए ।
काम छिटोछरितो गर्नको लागि मुग्लिन पोखरा खण्ड योजना (पूर्वी खण्ड) बाट अनुरोध भई आएको विषयमा छलफल गरी दैनिक रुपमा अत्यावश्य सवारी बाहेक अन्य सवारी साधनहरु पूर्ण रुपमा रोकी काम गर्ने निर्णय भएको उनले जानकारी दिए । चार लेन सडक विस्तारका क्रममा यस खण्डमा भिक्तो काट्ने काम गर्नुपर्ने भएकोले रातको समयमा सो खण्ड बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । यात्रुलाई यात्रा सहज बनाउन दिउँसो बन्द नगरी रातको समय छनोट गरिएको प्रअिज रिजालले बताए । ‘‘ दिनमा धेरै यात्रु यात्रा गर्ने भएकोले रातमा बन्द गर्ने निर्णय गरेका हौं’’ प्रजिअ रिजालले भने ।
यसैगरी पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा गत वर्ष वर्षातको समयमा पहिरो गई सडक क्षति भएको स्थापना मर्मत सुधारको काम तिब्र गर्न आग्रह प्रशासनले गरेको छ । सो ठाउँमा हाल सम्म एकतर्फी मात्र सडक सूचारु भएकोले यस वर्षको मनसुन सुरु हुनुभन्दा अघि नै मर्मत सुधार गरी भरपर्दो व्यवस्था मिलाउन सडक डिभिजन कार्यालय दमौलीलाई अनुरोध गरिएको प्रजिअ रिजालले जानकारी दिए ।

उनका अनुसार राजमार्ग विस्तारको क्रममा धुलो उडेर सवारी साधनहरु सञ्चालन गर्न असहज हुने हुँदा दुवै सडकका योजनाहरुले आवश्यकता अनुसार सडकमा पानी हाल्न व्यवस्था मिलाउन निर्देशन गरिएको छ । सडक विस्तारको क्रममा ठुलो मात्रमा भित्तो काट्ने (बल्क कटिङ) को काम गर्नु पर्ने भएकोले यस वर्षको मनसुन सुरु हुनुभन्दा अघि नै कार्य सम्पन्न गर्ने गरी सडक आयोजनाहरुले आवश्यक अनुसार बन्दोबस्त मिलाउन अनुरोध गरिएको छ ।
चाईना कम्पनीले पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता खार्ने र खाल्टोहरु पुर्ने कार्य भईरहेको छ ।
हाल पृथ्वीराजमार्ग दुई लेनको रहेको छ । चाइना एण्ड कम्युनिकेशनले उक्त सडक तीन चरणमा पुरा हुने गरि योजना बनाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिनसम्म गरी तीन चरणमा सडक फराकिलो गरिरहेको छ मुग्लिनदेखि पोखरासम्मका सडक फराकिलो पार्न चिनिया कम्पनीले ठेक्का पाएर निर्माण कार्य थालनी भईरहेको छ ।
सो कम्पनीले सडक फराकिलो गर्न ६ अर्ब १४ करोड रुपियाँको ठेक्का पाएको छ ।




