

बिमला दुवाडी
उखानै छ, पदका लागि मधेशका नेताहरु मरिहत्ते गर्छन् र सधैं भोकाएका हुन्छन् । सत्ता र पदका लागि जुनसुकै हतकण्डा अपनाउने र जस्तो पनि सहमति गर्ने मधेशी नेताहरुको बानी नै परेको छ । यसै कुराको ताजा उदाहरण अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनमा देखिएको छ ।
ओलीले शुक्रबार मन्त्रीपरिषद् पुनर्गठन गर्दा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका आठ जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री बनाए ।
पार्टीको बहुमत पक्षले दिएको काबारहीको चेतावनीलाई वेवास्ता गर्दै राजेन्द्र महतोको नेतृत्वमा शरदसिंह भण्डारी सहित अनिल झा, लक्ष्मणलाल कर्ण, विमलकुमार श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकवाल मिया मन्त्री भएका हुन् । त्यस्तै चन्द्रकान्त चौधरी र रेणुका गुरुङ राज्यमन्त्री भएका छन् ।
विशेषत मधेशमा राजनीतिक दलका नेताहरु कति पदलोलुप हुँदा रहेछन् भन्ने कुराको उदाहरणका जसपाका नेताहरुले पेश गरेका छन् । शुक्रबार केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद् पुनर्गठनमा नेता भण्डारी १५ औं पटक मन्त्री बनेका हुन् भने राजेन्द्र महतो ५ औं पटकमा उपप्रधानमन्त्री बनेका छन् ।
राजेन्द्र महतोसहित मधेश केन्द्रित दल सत्तामा जाँदा देशमा कुनै न कुनै राजनीतिक हलचल भइरहेको देखिन्छ । महतोकै सत्तारोहणलाई मात्रै केलाउँदा उनी देशमा राजनीतिक अस्थिरता उत्पन्न भइरहेको समयमा सरकारमा सहभागी भएका छन् । देशको राजनीतिक अवस्था कमजोर हुँदा मधेस केन्द्रीत दल सत्तामा जाने गरेका छन् ।
राजनीतिक अवस्था कमजोर भएको अवस्थामा बढीभन्दा बढी सांसदको आवश्यक पर्छ । त्यसपछि सत्ता नेतृत्वले त्यसको आधार खोज्छ अनि त्यो आधार खोज्ने बेलामा मधेस केन्द्रीत दलहरु सरकारमा गइहाल्छन् । सबै मधेसी नेताको हाल यस्तै छ ।

मधेसी दल सत्तामा जाने मौकाको पर्खाइमा रहने र मौका पाउनेवित्तिकै सत्तारोहण गर्न नछाड्ने गरेका छन् । सबैभन्दा बढी सत्ताको भोको मधेसी दल नै हुने गरेको आरोप लाग्ने गरेको छ । तर यो बेला मधेसी दलले सत्ताको भोका नभएको पुष्टि गर्न सक्थे । माग पूरा गर्नेलाई धन्यवाद दिएर सरकारमा नजान सकिन्थ्यो । तर त्यसो भएन ।
सत्ता र पदका लागि मरिहत्ते गर्ने खलपात्रको उदाहरण दिँदा तराई–मधेशको नाउँमा राजनीति गर्ने मधेशी नेताहरुलाई लिइन्छ । अहिले उनीहरु मन्त्री हुनुमा उनीको व्यक्तिगत स्वार्थ बाहेका समाज, नागरिक र राज्यको कुनै स्वार्थ र आस्था उनीहरुमाथि देखिदैंन् । राजनीतिमा भित्रिएको चरम पदलोलुपताको विकृत उदाहरणका रुपमा मधेशी नेताहरु सावित भएका छन् ।
ओलीले संसद् विघटन गर्दा घोर विरोध र आन्दोलन गर्ने तीनै मधेशी नेताहरु अहिले ओलीको फेरो समातेर सिंहदरवार पलायन भएका छन् । र अहिले पनि संसद विघटन गरेर काम चलाउ सरकारको हैसियतमा पुगेको ओली नेतृत्वको सरकारमा उनीहरु लुसुक्क पसेका छन् तथापि सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको मुद्धा उल्टिेने वित्तिकै ओली सरकार ढल्ने देखिन्छ । यस्तो विषम् राजनीतिक परिस्थितिमा पनि मन्त्री पद् भन्ने वित्तिकै र्याल काढेर बालुवाटार पुगिहाल्ने मधेशी नेताहरुको हैसियत र राष्ट्रवादी चरित्र उदाङ्ग भएको छ ।




