नेपाल पत्रकार महासंघको २६ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भएसंगै अहिले देशभरिनै पत्रकारबीच चुनावी माहौल शुरु भएको छ ।

नयाँ नेतृत्व चयनका लागि अहिले देशभरका पत्रकारहरुमा चुनावी सरगर्मी शुरु भएको छ । दिनहुँ कलम, डायरी, रेकर्डर र क्यामेरा बोकेर कार्यक्षेत्रमा खटिने पत्रकारहरु अहिले महाधिबेशन र चुनावको चर्चा, परिचर्चा र जोड घटाउमा व्यस्त देखिन्छन् । महासंघको भावी नेतृत्वका सवालमा पत्रकारहरु र पत्रकारका संघ सगठनका फरक फरक धारणा र विचारहरु आईरहेका छन् । यसबारेमा कतिपयले विगतका प्रसंग र यथार्थहरुलाई आत्मसाथ गरेर, कमीकमजोरीलाई सुधारेर , सहमतिय र सहकार्यलाई मिलाएर जानु पर्ने धारणा राख्दै आएका छन् भने कतिपयले चुनावी प्रतिष्पर्धामा उत्रिनुको विकल्प नभएको बताउँदै आएका छन् । यसैबीच, महासंघको चुनावमा विभिन्न संघसंगठन बीच तालमेल र सहकार्य भएका छन् जुन आफैंमा नराम्रो होइन् ।

पत्रकारिता आँफैमा स्वच्छ, निष्पक्ष र मर्यादित पेशा भएता पनि कतिपय व्यक्तिहरुको स्वार्थ र पद लोलुपताका कारण यो पेशामा पनि थुपै्र दाग र धब्बाहरु लागेको देखिन्छ । बास्तवमा पत्रकारिता र पत्रकारहरु कुनै जात, धर्म, बर्ण, लिङ्ग, राजनीति, स्वार्थ र बहकाउमा लाग्नु हुँदैन् । पत्रकारिता एउटा कर्म हो, जो निःस्वार्थ हुन्छ । पत्रकारहरुलाई फुटाएर रमिता हेर्न खोज्ने र आफ्ना भित्री आकाँक्षाहरु पूरा गर्ने खेलमा समाजका कैयौं तत्वहरु अझै पनि सक्रिय छन् । पत्रकार र पत्रकारितालाई कमजोर बनाएर समाजमा अराजकता र अशान्ति मच्चाउन खोज्नेहरुको डफ्फा ठूलै छ । तसर्थ सम्पूर्ण पत्रकारहरुले आसन्न महाधिवेशनमा अस्वस्थ प्रतिष्पर्धामा उत्रिनु भन्दा प्रजातान्त्रिक तरिकाले निकास खोज्नु बुद्धिमानी ठहर्छ । कसैको गोटी बनेर आफ्नै पेशा र सहकर्मीहरुसंग बैमनश्यता र दुश्मनी गर्नु घातक हुन सक्छ । आखिर चुनावी परिणाम अनि जित, हारको भावनाले पत्रकारहरुमा बेमेलको स्थिति सिर्जना हुन सक्छ ।

पत्रकारिता समाजको ऐना हो । समाजमा हुने गरेका प्रत्येक घटना, परिघटनाका बारेमा जानकारी लिनु र त्यसको प्रकाशन, प्रसारण गरेर नागरिकलाई ती विषयबस्तुका बारेमा सुसूचित गराउनु यस पेशाको मुल धर्म हो । तसर्थ पत्रकारिताको सम्वन्ध जीवन र जगतसंग छ । पत्रकारिताको उद्धेश्य एउटा आदर्श समाजको स्थापना गर्नु हो । बास्तवमा , पत्रकारिता कुनै व्यापार होइन, यो त ज्ञान र बिद्याको खेती हो । यो कुनै भावना वा घमण्डको विषय पनि होइन । यो एउटा विशुद्ध सामाजिक सेवा हो, त्याग र समर्पण हो । पत्रकारिताका यही आदर्श र सिद्धान्तहरुबाट पत्रकारहरु अडिग हुनुपर्दछ । सबैलाई चेतना भया ।