सुशील प्रसाद वाग्ले

वि.सं. २०४६ सालको परिवर्तन पछि कलेजहरूमा राजनीतिशास्त्र विद्यार्थीहरूको अत्याधिक रुचिको विषय बन्न पुगेको थियो । कतिपय क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहमा राजनीति शास्त्र विषयका लागि भनेर तिन वटा सम्म सेक्सन छुट्याइएको पाइन्थ्यो । त्यतिबेला राजनीतिमा विस्मयकारी फड्को मारेर शक्तिकेन्द्रमा पुगेका राजनीतिशास्त्र पढेका विद्वान् राजनीतिज्ञलाई रोलमोडेल बनाएर राजनीतिशास्त्र पढ्ने रुचि विद्यार्थीहरुमा अत्यधिक जागेको सहज अनुमान लगाउन सकिन्छ । तर इतिहास, अर्थशास्त्र, राजनीतिशास्त्र जस्ता विषय विस्तारै वैलाउँदै गए । कतिपय कलेजले समाजशास्त्र, जनसङ्ख्या, पर्यटन जस्ता विषय लागु गरेर यि विषयलाई विस्थापित गराएको पाइन्छ ।

आजभोलि कलेजहरूमा राजनीतिशास्त्र विषयको पढाई हुन छाडे पनि राजनीति गर्ने राजनीतिज्ञ बन्ने महत्वाकाङ्क्षामा भने बढोत्तरी भएकै छ । जब स्थानीय पत्रिकाले युवा नेताको पगरी गुथाएर केन्द्रिय सदस्यमा लड्ने होनहार युवा भनेर फोटो छपाइदिन्छ ति युवा नेताको सपनाले संसारको सबैभन्दा गहिरो ठाउँ मरियाना टूेन्चको पिँध छुन पुग्दछ । कुनै धर्मगुरूले आफूलाई ज्ञान प्राप्त भएको घोषणा गरेपछि आफूलाई अयोनिज पुष्टि गर्दै आफ्ना जन्मदाता बाबुलाई नै ढोगाएका थिए अरे । ओ हो हो हो ति युवाहरुमा पनि त्यस्तै हिम्मत उम्लिन पुग्दछ । एक्कासी राजनीति गरेर शक्तिकेन्द्रमा पुग्ने, सत्तासुख लिने, सत्ता बाहिर हुँदा पनि आफ्नो सवारी साधनका आसपासमा सय पचास युवाहरुलाई अगिपछि लगाई हिँड्ने रहर धेरैमा देखिन्छ । तर देशभित्र र देशबाहिरका राजनीति गर्नेले बाँचेको जीवन बाहिरी रूपमा तडकभडकपूर्ण देखिए पनि तिनीहरू जीवन शैली हैरानी परेशानी र तनावको पर्याय बन्न पुगेको अनुभव हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा राजनीति गर्ने धेरै नेताहरुले कालगतिले मर्न नपाएको देखिएको छ । अहिंसाको सिद्धान्तलाई राजनीतिमा विलक्षण प्रयोग गरेर अङ्ग्रेज धपाएका भारतका महात्मा गान्धीले त गोली खाएर अस्वभाविक मृत्युवरण गर्नु पर्दछ भने हिंसालाई शाश्वत सत्य मान्नेहरुको अन्त्य कस्तो होला ? यो कल्पनाभन्दा बाहिरको अनुमान पनि बढी नगरौं क्यार ! जे होस् जीवनमा जतिसुकै भौतिक सुख सुविधाको स्वाद लिए पनि धेरै राजनीतिज्ञले काटिएर सेरिएर झुण्डिएर गोली खाएर मृत्युवरण गर्नु परेको दुःखद इतिहास जिउँदो जाग्दो छ । कालगतिले मरेकाहरू पनि सत्ताको अझ उपल्लो श्रेणीमा पुग्न नपाएर निराशा पोख्दै सास बिसाउने गरेको देखिएकै छ । कूटनीति, धर्मनीति र राजनीतिका माहिर खेलाडी द्वापर युगका युगनायक भगवान् श्रीकृष्णले पनि एउटा व्याधाको वाण ग्रहण गरेर मृत्युलाई स्वीकार गर्नु परेको सत्य सम्झनै पर्ने हुन्छ । एउटा राजनीति गर्नेले शक्तिकेन्द्रमा आसन जमाएर सत्तामा बस्नेले वास्तवमै जीवन आनन्द पाउँछ त यहाँ छलफल गर्न खोेजिएको छ ।

आचार्य रजनीशले आफ्नो आश्रममा एउटा सूचना पाटी राख्न लगाएका थिए : Dogs and Politicians are not allowed in my Ashram अर्थात् कुकुर र राजनीतिज्ञलाई मेरो आश्रममा प्रवेश निषेध गरिएको छ । रजनीश कुकुर र राजनीतिज्ञ प्रति किन त्यतिविघ्न आक्रोशित थिए यो छुट्टै बहसको विषय हुन सक्छ । यहाँ केही राजनीतिज्ञलाई प्रतिनिधि पात्रका रूपमा लिँदै तिनले बिताएका जीवनका केही दृष्यलाई उतार्दै राजनीतिज्ञले सच्चा सुख र शान्ति पाएको हो त ? भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरिन्छ ।

बीरबल 

राजनीति र शक्तिको मदान्धताकै कारणले दुःखद मृत्यु वरण गर्नेमा बीरबलको नाम पनि आउँछ । भारतका चर्चित मुसलमान राजाहरुमा अकबरको नाम पनि एक हो । मुसलमान भए पनि अकबर हिन्दुहरूप्रति सहिष्णु भएको बुझिन्छ । त्यसैले त उनले प्रतिभाशाली हिन्दु युवक बीरबललाई प्रधानमन्त्री बनाएका थिए । अकबर र बीरबलका अनेक किस्सा दशकौंदेखि सुन्दै सुनाइदै आइएको छ । बीरबलका जन्मका विषयमा पनि सबैको एकमत छैन । एक अनुमान अनुसार बीरबलको जन्म नेपालको लुम्बिनी अञ्चलको कुनै एक जिल्लामा भएको हुनुपर्दछ । उनी गरिब थिए । सानैमा पिताको मृत्युले उनलाई अझ सकसमा पारेको बुझिन्छ । चलन चल्तीको भनाइ अनुसार एकपटक अकबर भेष बदलेर शिकार खेल्दै बीरबलको गाउँमा पुगेछन् । अकबर देउरालीको चौतारीमा पुगेर आफ्ना सहयोगीहरूसँगै विश्राम गरिरहँदा त्यहाँ बीरबल पुगे । उनले भेष बदलेका अकबरलाई चिन्ने कुरा आएन । खासमा घाँस काट्न हिँडेका बीरबलले हँसिया ल्याउनै बिर्सेछन् । देउराली र बीरबलको घरको दूरी त्यति टाढा रहेनछ । उनी देउरालीको चौतारीबाट तल बेसीतिर कराएछन्

“आमा……”
तल बेसीबाट आमाले जवाफ फर्काइन् “किन हो ?”
मैले त हँसिया ल्याउनै बिर्सेछु
के गर्ने त अब ?
कालेको घाँटीमा बाँधेर पठाइदिनुस् । त्यो मकहाँ लुरुलुरु आउनेछ ।
अकबरले आमा छोराका यो संवाद ध्यानपूर्वक सुनिरहेका थिए ।

दासयुगको समयमा अकबर र उनका सिपाहीहरुले काले भन्नाले दास होला भन्ने अनुमान गरेछन् । एकछिन पछि त घाँटीमा नाम्लो र हँसिया झुण्ड्याउँदै बीरबलले घरमा पालेको कुकुर पो आइपुगेछ । बीरबलको यो चातुरी अनि उनले कुकुरलाई दिएको तालिम देखेर अकबर दङ्दास । त्यसपछि अकबरले बीरबललाई दिल्ली दरबारमा आउन निम्ता दिए । प्रधानमन्त्रीका रुपमा बीरबलले नून दिने अकबर र दिल्लीको सेवा गरे । उनका हाजिरजवाफी चुट्किलाहरु आज पनि उत्तिकै लोकप्रिय छन् । राज्य सञ्चालनमा आउने अत्यन्त पेचिला समस्याहरू बीरबलले सहजै फुकाउँथे । प्रधानमन्त्रीका रुपमा बीरबलले शत्रुमित्रु दुवै कमाए । उसै त बाठा बीरबलले मन्त्र साधना गरेर माता सरस्वतीलाई रिझाएको कुरा पढ्न पाइन्छ । एक पटक अकबरको प्रियपात्र अनि प्रधानमन्त्री हुनुको मात बीरबलले नियन्त्रण गर्न सकेनन् । एक दिन बीरबलले सोखले खोलामा बल्छी खेल्दा एकजनाले यो बल्छीमा के आउँछ भनेर जिस्किएछ । बीरबललाई हल्का रिस उठेछ र भनिदिएछन् “रोटी आउँछ ।” जिभ्रोमा सरस्वती बसेकी सरस्वतीलाई बीरबलको वचन पु¥याउन मुस्किल परेछ तर आखिर रोटी नै आएछ । त्यसपछि देवी सरस्वती प्रकट भएर बीरबललाई आइन्दा कसैसँग असम्भव उटपट्याङपूर्ण कुराको सवालजवाफ गरेमा ठुलो अनिष्ट हुने चेतावनी दिइछन् । यो चेतावनी बीरबलले सम्झिरहे ।

जीवनको अन्त्यतिर बीरबल एकपटक एउटा गाउँमा पुगेछन् । गाउँ नजिकै कुवा रहेछ । कुवा छेउमा पिपलको ठुलो रुख । विनाशकाले विपरीत बुद्धि भने झैं उनलाई त्यतिबेला सरस्वतीले दिएको चेतावनी विस्मृत हुन पुग्यो । उनलाई एउटा उटपट्याङ काम गर्न मन लागेछ । उनी रुख चढे । एउटा मान्छेले कुवाको पानी बेसरी धमिल्याएर गएछ । त्यसको केही क्षणपछि एउटी महिला त्यहाँ आइछन् र भनिछन्, “कुन आमाको पोइले यो कुवाको पानी धमिल्याएर गएछ हे” । बीरबलले यो कुवाको पानी धमिल्याएर गएछ हे भन्ने मात्र सुनेछन् । अनि उनले रुखमाथिबाट कराएछन् “पोइले धमिल्यायो । ” युवतीले भनिछन् “तँ आमाको पोइ होस् त ?” बीरबललाई त्यसपछि मात्र होस आएछ कि युवतीले त पहिल्यै आमाको पोइ भनेर गाली गरिसकेकी थिई । लाखौंलाई आफ्नो हाजिरी जवाफी कौशलले कायल बनाएका बीरबल युवतीको “तँ आमाको पोइ होस् त ?” भन्ने सवालमा अवाक् भएछन् र कहिल्यै नभोगेको अवाक् क्षणमा चक्कर लागेर उनी रूखबाट खसेर मरेको किम्बदन्ती सुन्न पाइन्छ । जे होस् यसले शक्ति र सत्ताको मदान्धता मृत्युको कारण बन्न सक्छ भन्ने तिर सङ्केत गर्दछ ।

भीमसेन थापा 

राजनैतिक सफलताको चुलीमा पुगेर दुर्दान्त अन्तमा पुगेका चर्चित अभागी पात्रहरूमा भीमसेन थापा पनि पर्दछन् । तत्कालीन राजा रण बहादुर शाहको हजुरियाबाट प्रधानमन्त्री सम्म हुन पुगेको भीमसेन लामो समयसम्म नेपाल दरबारमा शक्तिको केन्द्रविन्दु बनेर बसे । रणबहादुर शाह काशीबाट नेपाल फर्कदा रोकेको सेनालाई उनै भीमसेनले बुद्धिमत्तापूर्ण सवाल जवाफ गर्न लगाएर रण बहादुरकै पक्षमा मोडेका थिए । शक्तिमा पुगेपछि भीमसेनले लगभग राजाकै हैसियतमा शासन चलाए । लुमडीस्थाननेर काटिएका दामोदर पाण्डेका सन्तानहरुले सधैं भीमसेनलाई मात्र होइन थापा खलकलाई नै जन्मशत्रु मान्न थाले । उनै शक्तिशाली भीमसेन राजेन्द्र विक्रम शाहकी जेठी रानी साम्राज्यलक्ष्मी जो पाण्डेहरुलाई अत्याधिक मन पराउँथिन् उनको कारण पतनको अन्तिम हदसम्म पुगे । साम्राज्यलक्ष्मीका कान्छा छोरा देवेन्द्रको पखाला लागेर मृत्यु भएको घटनालाई आधार बनाउँदै भीमसेनका विरोधीहरूले राजा राजेन्द्र र जेठी रानी साम्राज्यलक्ष्मीलाई विष खुवाउन खोज्दा झुक्किएर राजकुमारलाई विष परेको हल्ला चलाइयो । भीमसेन नजरबन्दमा परे । त्यतिमात्र होइन उनकी श्रीमतीलाई राजधानीमा नग्न पारेर घुमाइने झुटो खबर भीमसेनको कानमा पारियो । जेलको सिसा फुटाएर त्यसैलाई हतियार बनाई भीमसेनले घाँटी रेटे । तत्कालीन एक अङ्ग्रेज विद्वान्को भनाइमा प्राचीन ग्रीसेली दुःखान्त नाटकमा समेत देख्न नपाइने चरम वियोगान्त अन्त्य भीमसेनको पतन थियो । एउटा शक्तिशाली प्रधानमन्त्रीले पशुले पनि भोग्नु नपरेको विभत्स र त्रासदीय मृत्यु वरण गर्नु पर्यो । भीमसेनको यस्तो चरम यातनादायी मृत्युको प्रसङ्गले राजनीतिमा भोग्नु पर्ने सम्भावित दुर्गतिलाई सधैभरिका लागि सङ्केत गरिरहेको छ ।

बाँकी अंश अर्काे अङ्कमा……

(लेखक आदिकवि भानुभक्त क्याम्पस, दमौलीका उपप्राध्यापक हुन् ।)