
औपचारिक रुपमा नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु भइसकेको छ ।
तिहारको मुख्य विशेषता मध्ये मानिने देउसी भैलो अहिले चोक र आँगनहरुमा खेल्ने क्रम तीब्र छ । सांस्कृतिक रुपमा निकै धनी मानिएको तनहुँ जिल्लामा कार्तिक कृष्ण द्धादशीदेखि हरिवोधनी एकादशीसम्म देउसी भैलो खेल्ने गरिन्छ ।
शहर बजारका चोक गल्ली र घरआँगनमा पुगि देउसी भैलो खेल्नेहरुको अहिले चारैतिर भीड नै लागेको छ । केटाकेटीदेखि विभिन्न क्लवहरुमा आवद्ध युवायुवती र आमासमुहहरु देउसी भैलोमा रमाइरहेका छन् । यसक्रममा विभिन्न सांगीतिक कार्यक्रमहरु देखाएर देउसी भैलो खेल्ने समुहहरुले ठूलो मात्रामा दान दक्षिणा संकलन गर्दछन् ।
यसरी देउसी भैलोवाट संकलित रकम कतिपय बुज्रक समूहले विकास निर्माण देखि सामाजिक कार्यका प्रयोग गर्ने गरेका छन्, जुन निकै प्रशंशनिय कार्य हो । तर युवायुवतीले भने देउसी भैलोवाट संकलित रकमको सदुपयोग भन्दा दूरुपयोग गरेको देखिन्छ । उनीहरुले संकलित रकमबाट विभिन्न स्थानमा भ्रमण गर्ने, वन भोज खाने, जाडरक्सी खाने, बाँडीचुँडी लिने जस्ता कार्यमा सिध्याउने गरेका छन् ।
त्यतिमात्रै नभएर देउसी भैलो खेल्ने क्रममा हुने अमर्यादित र उछृङ्खल कार्यहरुले यसको साँस्कृतिक गरिमा र मर्यादालाई विकृतीउन्मुख बनाएको छ । सांगीतिक कार्यक्रमहरु प्रस्तुत गर्ने क्रममा पनि नेपाली संस्कृतिको जगेर्ना र संरक्षण हुने खालका भन्दा पश्चिमी र छाडा संस्कृतिको नक्कल गरेर देखाइएका तथाकथित मनोरञ्जनात्मक कार्यक्रमहरुले दर्शकहरुलाई पनि लाजमर्दो बनाएको छ । यसैकारण पनि देउसी भैलो आजकल संस्कृति भन्दा विकृतीतर्फ उन्मुख भएको धेरैको ठम्याई छ ।
वास्तवमा , नेपाली संस्कृतिको अनुपम उदाहरणको रुपमा रहेको देउसी भैलोले नेपाली मौलिक कला र संस्कृतिको जगेर्ना गर्न सक्नु पर्दछ र त्यसबाट संकलित रकम विकास निर्माण र सामाजिक कार्यमा लगाउनु पर्दछ नकि अमर्यादित र व्यक्तिगत कार्यमा ।
तसर्थ, देउसी भैलोको मौलिकता र महत्वलाई आत्मसाथ गदै नेपाली कला संस्कृतिको संरक्षण र सवद्र्धन गर्नु हामी सबैको कर्तव्य र जिम्मेवारी हो । तर, देउसी भैलोमा देखिएको विकृती रोक्नु जरुरी छ । यसतर्फ सबैको ध्यान पुगोस ।




