चर्चित एवं आधुनिक पुस्ताका ‘भाइरल गायक’ दुर्गेश थापाले ‘आलुजस्तो गायक’ गीत सार्वजनिक गरेका छन्।

इनाक्छी इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा दुर्गेशले आफू केही नसिकी संगीत क्षेत्रमा आएको भन्ने सन्देश समेटेका छन्। यो गीतको शब्द तथा संगीत बसन्त थापाको हो। गीत दुर्गेश ट्रोलको सिकार भएपछि सार्वजनिक भएको छ।

पछिल्लो समय चर्चासँगै विवादमा रहे। ‘बिच्च बिच्चमा ३ – बेसार’ सार्वजनिक भएपछि चुलिएको उनको चर्चा प्राइम टेलिभिजनमा दिएको एक अन्तर्वार्तापछि विवादमा आयो। उनले स्वर सम्राट नारायणगोपालको गीत गाउनुभन्दा भक्तराज आचार्यको गीत गाए, त्यसपछि उनी ट्रोलको सिकार भए।

त्यतिबेला उनले आफू चिप्लिएको बताएका थिए। बिच्च बिच्चमा गीत सार्वजनिक भएपछि धेरैले प्रशंसा गरेका उनलाई संगीतको बारेमा साना भन्दा साना कुरा पनि थाहा नभएको भनेर आलोचना गरियो। थापाले भने, ‘त्यही आलोचनाको जवाफ यो गीत हो।’ गीतमा ‘नगर सवाल’ भनिएको छ।

‘म आफूले आफूलाई गायक भन्दा पनि राम्रो प्रस्तुतकर्ता भन्छु। मलाई गायक जनताले बनाएका हुन्। मेरो पेसा मोडलिङ हो,’ थापा भन्छन्, ‘मेरा गीतहरु म जस्तो छु, त्यस्तै गरी निकाल्ने गरेको छु। मैले न सुर सिकेको छ, न ताल सिकेको छ। म रहरले गीत गाएको मात्र हुँ।’

उनी आफू मोडल ज्यादा भएकोले अभिनय गर्ने कलाकारको बारेमा बढी थाहा भएको बताए। उनको क्षेत्रको बारेमा उनलाई सबै थाहा छ भन्छन्।

तपाईको गीतको हरफ ‘आलु जस्तो गायक’ तपाईँलाई भन्न मिल्छ त भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिले दुई लाइनको गीत मान्छेको दिमागमा बस्यो भने त्यो हिट हुन्छ। उसको सुर तालको मतलब छैन। अहिले प्रविधि नै त्यस्तै आइरहेको छ। सेन्सर छैन, जसले पनि गीत गाएको छ, त्यसैले यहाँ ‘आलु जस्तो गायक पनि भइदो रैछ हिट’ भन्न खोजिएको हो।

गीतमा विवादित अन्तर्वार्तापछि मानसिक तनाब भएको देखाइएको छ। ‘त्यो अन्तर्वार्तापछि मलाई तनाव त भएको थियो, तर मैले धेरै सोचिन। समाधानमा जान्छु।’ थापा भन्छन्, ‘धेरैले धेरैथरी भने त्यसको जवाफ मैले गीत बाट नै दिएको हुँ।’

थापा आफूले गाएको सबै गीत दर्शकले मन पराइदिएको भएर आफूसँग आशा हुनु स्वाभाविक मान्छन्। ‘नारायण गोपालले कति साधना गरेर गाउनुभयो, उहाँको गीत गाउन शिव परियार, प्रमोद खरेल दाजूहरुलाई त गारो हुन्छ म त कहाँ हो कहाँ,’ थापा भन्छन्, ‘भिडियोमा केही नसिकी आउँदा पीडा हुँदो रहेछ, केही सिकेर आउनुपर्दो रहेछ भन्ने सन्देश दिन खोजिएको छ।’ भिडियोमा उनलाई साथ दिनेहरुको क्लिप देखाइएको छ।

अन्त्यमा उनले भने, ‘केही कुरा परेर जानिने रहेछ, पहिला पहिला हिजो आज गीत बन्यो भने, भोलि एरेञ्ज पर्सि रेकर्ड गरिन्थ्यो भने अब गर्दा सोच्ने छु। मेरो तर्फबाट गल्ति भएको छ भने माफि माग्न चाहन्छु।’

गीतको भिडियो शिव विकको निर्देशन तथा कोरियोग्राफि रहेको छ। भिडियोमा नायक पल शाह, पुष्प खड्का र सरिता केसीको अभिनय पनि रहेको छ।