दशै शुरु भएलगत्तै देशभरि नै चहलपहल र रौनकमा बृद्धि हुनुपर्नेमा त्यस्तो देखिदैन् । यसैबीच, तनहुँ जिल्लाका विभिन्न धार्मिक स्थल र मठमन्दिरहरुमा पूजापाठका लागि भक्तजनको संख्यामा नगन्य बृद्धि भएको छ । सदरमुकाम दमौली लगायत जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख व्यापारिक केन्द्रमा किनमेलका लागि मानिसहरुको चहलपहल हुनुपर्नेमा त्यस्तो देखिदैन् ।

विगतमा दशैका लागि जिल्लाका विभिन्न भेगबाट आएका मानिसहरुको भीडले दमौली बजार भरिभराउ हुने गर्दथ्यो तर आजकल त्यस्तो दृश्य देखिदैन् । दशैका लागि चाहिने खाद्धान देखि नयाँ लत्ताकपडा, गरगहना र अन्य सामाग्रीहरु किन्न बजारमा मानिसहरुको ओहोरदोहोर हुनुपर्नेमा अनलाइन व्यापारले प्रत्यक्ष व्यापारलाई मार पारेको देखिन्छ । यस समयमा व्यापारी र व्यवसायीहरुलाई आफना पसलमा आएका ग्राहकलाई सरसामान बिक्री गर्न भ्याइनभ्याइ हुनुपर्ने हो, तर व्यापारीहरु दसै भन्दा दसा लागेको महशुस गरेका देखिन्छन् । दशैका बेलामा अन्य समयमा भन्दा बढी बिक्री हुने व्यवसायीहरु यस पटक भने ग्राहकहरु नभएका कारणले पसलमा हाइ काढेर र उँघेर बसेका देखिन्छन् ।

विगतमा दसैंभन्दा एक महिना अघिदेखि नै किनमेल गर्नेको घुइँचो बजारमा देखिन्थ्यो तर विगत केही वर्षदेखि भने दसैंको चहलपहल र रौनक भने पुरै हराएको देखिन्छ । तनहुँको सदरमुकाम दमौली लगायत प्रमुख व्यापारिक बजारहरुमा दसैंको पूर्वसन्ध्यामा पनि बजारहरु सुनसान जस्तै बनेका छन् । दसैँको किनमेल विशेष नै हुन्छ तर यसपालि दसैँको किनमेल गर्नेको भिडभाड पहिलो जस्तो देखिँदैन । देशका मुख्य बजारहरुमा पनि दसैँको उत्साह खासै देखिँदैन । दसैँ आएसँगै एक महिनाअघिदेखि चहलपहल हुने बजार सुनसान जस्तै देखिन्छ । विगतका वर्षमा सडकपेटीदेखि ठुला–ठुला व्यापारिक मलमा दसैँलाई लक्षित गरेर सामान किनमेल गर्नेको भिड लाग्ने गरेकोमा यसपालि फाट्टफुुट्ट मात्र ग्राहक पुग्ने गरेका छन् । सडकपेटीमा पसल राख्न नपाइने भएकाले पनि खासै चहलपहल देखिँदैन । आम उपभोक्ताको क्रयशक्ति न्यूून हुनुु र अधिकांश सामानको मूल्य बढेकाले दसैँको चहलपहल त्यति नदेखिएको हो । यसका साथै कोभिडको महामारी, डेङ्गुका संक्रमण र यूवाहरु विदेश पलायन जस्ता कारणले मानिसहरुको चहलपहलमा निकै कमी आएको बताइएको छ । साथै आर्थिक मन्दीका कारण कतिपय उद्योग, व्यवसायहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् भने सञ्चालनमा आएकाहरु पनि बैंकको व्याजको मारमा परेर थलिएका छन् । बजारमा माग कम हुुँदा उत्पादनमा कमी, विदेशबाट आयात गरी ल्याइने सामानको समेत कमी भएको तथ्याङ्कले देखाउँछ । समग्रमा आर्थिक गतिविधि सुस्त र यूवावर्गको अभाव भएको हुुँदा दसैं बजारमा चहलपहल कम हुन पुगेको हो ।