
तनहुँ सदरमुकाम स्थित दमौली अस्पतालमा पहिलोपटक पाठेघरको शल्यक्रिया गरिएको छ ।
अस्पतालमा व्यास नगरपालिकाकी एक महिलाको पाठेघरको शल्यक्रिया गरिएको प्रमुख डा. परिवर्तन बरालले जानकारी दिए । अस्पतालका प्रसूति विशेषज्ञ डा. कुमार विष्टको समूहले ती महिलाको पाठेघरको शल्यक्रिया गरेका हुन् । अस्पतालमा यो सेवा सुरु भएसँगै दमौली तथा आसपासका भेगका महिलालाई सहज हुने विश्वास छ । प्रमुख बरालले भने, “यसअघि यस सेवाका लागि पोखरा, चितवन वा अन्यत्रै जानुपर्थ्यो, अब यहीँ यो सेवा नियमित रुपमा सञ्चालन हुनेछ ।”पन्ध्र शैयामा स्वीकृत अस्पतालले हाल ५० शय्याबाट सेवा दिइरहेको छ ।
विसं २०३४ मा स्वास्थ्यचौकी र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएको सो अस्पताल विसं २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो । अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई सेवा दिइरहेको छ । तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्यासँगै अस्पतालले उक्त शैयामा सेवा दिने अवस्था छैन । अस्पतालको स्तरोन्नतिका लागि पटकपटक प्रयास भए पनि त्यसले मूर्त रुप लिन नसकेको बताइन्छ ।
अस्पताल विस्तारका लागि सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गर्ने निर्णय भएको थियो । सो निर्णय कार्यान्वयन नहुँदा विस्तार कार्य रोकिएको छ ।
अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्स–रे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार भइसकेको छ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवा समेत प्रदान गर्दै आइरहेको छ ।




