
विमला दुवाडी
नेपाली हिन्दु महिलाहरुको पवित्र र महान चाड तिजको रौनक र चहलपहल यतिबेला देशैभरि चलेको छ ।
हरेक बर्ष भाद्र शुक्ल तृतीयाका दिन नारीहरुले सौभाग्यका लागि निराहार भई शिव र पार्वतीको उपासना गर्ने पर्वका रुपमा तिज लाई लिइन्छ ।
तिजको मुख्य विशेषता मध्ये मानिने नाचँगान अहिले गाउँघरदेखि सहरबजारका चोक र आँगनहरुमा चारैतिर देख्न र सुन्न सकिन्छ । त्यसमा पनि तिजका बेलामा दिदीबहिनीहरु भेला भई सामूहिक रुपमा दर खाने प्रचलन निकै रमाइलो पक्षका रुपमा लिइन्छ । सांस्कृतिक रुपमा निकै धनी मानिएको तनहुँ जिल्लामा अहिले साना नानी देखि लिएर विभिन्न क्लवहरुमा आवद्ध युवायुवती र आमा समुहहरु तिजको नाचगान र दरमा रमाइ रहेका छन् । यसक्रममा जिल्लाका विभिन्न ठाँउमा तिजे गीत प्रतियोगिताहरु पनि आयोजना गरिएका छन् । तिज पर्वले महिला दिदीबहिनीहरुमा छुट्टै खालको रौनक ल्याएको छ भने उनीहरु बीचमा सुमधुर सम्बन्ध स्थापना गर्न सहयोग पुर्याएको छ । समाजमा रहेका विभिन्न विकृती, विसंगतीदेखि घरपरिवारका समस्या,बालअधिकार, महिलाअधिकार साथै सरकारका गतिविधीसम्मका विषयबस्तुहरु तिज गीतमा समेटिएका छन् । जुन अत्यन्तै सकारात्मक पक्ष हो ।
तर, विगतमा पर्व र संस्कृतिको जुन मान्यता र मिठास थियो, त्यसको गुणात्मकता आज कसरी नाप्ने ? जनैपूर्णिमा सुरु नहुँदै तीजका कार्यक्रम र तीन दिन मनाइने तिज आजभोलि महिनौं लगाएर मनाइनुले तिजको गरिमा र महत्वमाथि प्रश्न उठेको छ । तिजेभाका र शब्दको मौलिकता हराएको छ । तिजे गीत आफ्ना स्वतस्फूर्त रचना जसमा आफ्ना जीवनका भोगाइ, समाजका कुरीति र अन्याय, देवीदेवताका प्रार्थना, बाआमा र छोराछोरीबीचको विवाह, प्रेम भएर नयाँ घर गएकी छोरीले तिजमा माइत आउँदा पोख्ने भावना समेटिएका हुन्थे । दिदीबहिनी भेला भएर मौखिक रचना गरिएका हुन्थे। आज आवाज उठ्ने महिला सशक्तीकरण र स्वतन्त्रता अनि महिलाले लिनुपर्ने घरका जिम्मेवारी र त्यसमा पनि बुहारीले सहनुपर्ने व्यावहारिक कठिनाइलाई तिज पर्वले खुलस्त भएर उजागर गर्ने अवसर दिएको हुन्थ्यो । महिलाको प्रतिभा र आत्मविश्वास गीतकै माध्यमबाट छताछुल्ल भएर पोखिँदा एक किसिमको सुन्दरता थपिएको हुन्थ्यो । तर आजकल, पर्वको विशेषता झल्किने संस्कार, व्यवहार, फेसन र खानपान नहुँदा धेरै परिवर्तन महसुस हुनु स्वाभाविक हो ।
तिजे भाका र यसको मर्म फेरिएर तिजे गीतको नाममा रत्यौली, दोहोरी र छाडापनले स्थान पाएको छ । पुराना तिजका गीत चेतनामूलक, सन्देशमूलक र घटनाप्रधान हुने गर्दथे, तर आजभोलि तिज भड्किलो हुँदै गएको, परम्परा र संस्कार धान्ने नाममा विकृति र विसंगति भित्रिँदै गरेको महसुस भइरहेको छ ।
त्यसैगरि तिजका अवसरमा गरिने केही गतिविधी र क्रियाकलापहरु भने झनै अवान्छनीय छन् । तिजका अवसरमा गरिने उछृङ्खल नाचगान, लवाई खुवाई र शैलीहरुले यसको अनुपम साँस्कृतिक गरिमा र मर्यादालाई विकृतीउन्मुख बनाएको छ। सांगीतिक कार्यक्रमहरु प्रस्तुत गर्ने क्रममा पनि नेपाली संस्कृतिको जगेर्ना र संरक्षण हुने खालका भन्दा पश्चिमी र छाडा संस्कृतिको नक्कल गरेर देखाइएका तथाकथित मनोरञ्जनात्मक कार्यक्रमहरुले दर्शकहरुलाई पनि लाजमर्दो बनाएको छ । यसैकारण पनि तिज आजकल संस्कृति भन्दा विकृतीतर्फ उन्मुख भएको धेरैको ठम्याई छ ।

अस्तव्यस्त जीवन र भड्किलो संस्कार अनि बिग्रँदो स्वास्थ्य र तनावग्रस्त जीवनलाई आनन्दित बनाउन ध्यान र मौनको जरुरत छ । तीजको पहिचान कसरी कायम राख्ने चिन्ताभन्दा पनि आफ्नो पहिचान के हो चिन्न सके वास्तविक धर्म त्यही हुनेछ । हिजोआज पर्व, संस्कृति, पहिरन, खानपान र शिष्टता असहज लाग्नुको मुख्य कारण पनि आफ्नो स्वभाव बिर्सेर देखासिकी र प्रतिस्पर्धालाई अनुकरण गर्नु हो। बहिर्मुखी जीवनशैलीले आन्तरिक स्वभावलाई दमित गराउँदै लगेको छ। आफ्नो स्वभावको, जीवन जिउनुको, जीवनमा खुसी र आनन्दको अनुभूति गर्ने कला पहिचान गर्न सकेको क्षण नै वास्तविक संस्कार, सभ्यता र शिष्टताको पहिचान हुनेछ ।त्यस्तै तिजका अवसरमा खाइने र खुवाइने दरको महत्व र साँस्कृतिक पक्षलाई बेवास्ता गरेर दरका नाउँमा महिला दिदीबहिनीहरुले मदिरा सेवन गर्ने, उछृङ्खल गतिविधीमा लाग्ने गरेका घटनाले समाजको बर्तमानको चरित्र चित्रण गरेको छ । तिजका अवसरमा महिलाहरुले लगाउने गरगहना, देखासिखी, प्रतिष्पर्धा र पोशाकको प्रदर्शनीले यसको गरिमालाई घटाएको छ भने धनी र गरिवको बीचको अन्तरलाई फराकिलो बनाएको छ ।
नेपाली संस्कृति र परम्पराको अनुपम उदाहरणको रुपमा रहेको तिज पर्वको मौलिकता र महत्वलाई आत्मसाथ गदै नेपाली कला संस्कृति र चाडवाडको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको कर्तव्य र जिम्मेवारी हो । तिजको संस्कृति जोगाऔं, विकृती रोकौं, यसमा नै हाम्रो कल्याण छ, चेतना भया ।




