बिमला दुवाडी

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत तनहुँको आसन्न क्षेत्र र जिल्ला अधिवेशनको सरगर्मी अहिले ह्वात्तै बढेको छ ।

तनहुँमा रहेका ४ वटा प्रदेश सभाको अधिवेशन सम्पन्न भएको छ भने निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ । प्रदेशको ४ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नं.२ (ख) मा सर्वसम्मत चयन भए पनि बाँकी तीनवटामा शुक्रबार निर्वाचन भएको थियो । प्रदेशसभाको निर्वाचनले एक किसिमको आँकलन भएतापनि क्षेत्रिय र जिल्ला स्तरको निर्वाचनका लागि माहौल झनै झाँगिएको छ ।

मंसिरको जाडोसंगै तातेको चुनावी माहौलले विशेषतः सदरमुकाम दमौलीका साथै क्षेत्र नं १, क्षेत्र नं २ का मुख्य शहरी र ग्रामीण क्षेत्रहरुमा पार्टीका केद्रदेखि जिल्ला तहका नेताको चहलपहल देखिएको छ । आफ्ना पक्षमा योग्य र लोकप्रिय उम्मेदवारहरुलाई आर्कर्षित गर्न नेताहरुले निकै कसरत गरिरहेका छन् । गोप्य कोठाहरुमा नेताहरु र उनका उम्मेदवारहरुको लर्को लागेको छ भने जिल्लामा आफ्नो पकड कायम गर्न केन्द्रिय नेताहरु कम्मर कसेर लागेका छन् ।

जिल्लामा अहिले प्रष्ट रुपमा दुईवटा गुटहरु सक्रिय देखिएका छन् । एउटा गुटको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् भने अर्को गुटको नेतृत्वमा पार्टीका केन्द्रिय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले गरेका छन् । नेता पौडेलको गुटमा अर्का केन्द्रिय सदस्य प्रदीप पौडेल र जिल्ला सभापति बैकुण्ठ न्यौपानेको समर्थन रहेको छ । त्यस्तै भण्डारीको नेतृत्वमा रहेको गुटमा केन्द्रिय सदस्य गोविन्द भट्टराई, र आमन्त्रित केन्द्रिय सदस्य ध्रुव वाग्ले खुलेरै लागेका छन् । दुई गुटमा विभाजित तनहुँ काँग्रेसको यस पटकको अधिवेशन सामान्य अड्कलबाजी भन्दा निकै फरक भएको र नतिजा पनि सोही अनुसार आउने बुझिएको छ । प्रष्ट रुपमा भन्नुपर्दा प्रदेशको निर्वाचनले कसको पल्ला भारी भन्ने स्पष्टता देखाएपनि नतिजा नआइञ्जेलसम्म यसै भन्न सकिने अवस्था हुँदैन् ।

यसैबीच, मंसिर ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि दुवै गुटबाट दुईवटै क्षेत्रका लागि अलग अलग प्यानल सहित उम्मेदवारहरुको नामावली प्रकाशन भइसकेको छ । सोमबार हुने निर्वाचनका लागि आइतबार दुवै गुटका उम्मेदवारहरुको छुट्टाछुट्टै प्यानल दर्ता भएको छ । त्यस्तै क्षेत्र अन्तर्गतका प्रदेश (क) र (ख) मा गुटगत रुपमै पौडेल र भण्डारीको प्यानलबाट उम्मेदवारी घोषणा गरिएको थियो ।

तनहुँ क्षेत्र नं १ मा भण्डारीको गुटबाट वर्तमान जिल्ला सचिव विश्व वास्तोलाको नेतृत्वमा चुनावी प्यानल घोषणा गरिएको छ तर पौडेल गुटबाट भने दलित नेता श्याम कुमार मौरातीको नेतृत्वमा प्यानल घोषणा गरिएको छ, सम्पूर्ण उम्मेदवारहरुको औपचारिक घोषणा भइसकेको छ । वरिष्ठ नेता पौडेल र जिल्ला सभापति न्यौपानेको निकट मानिने बास्तोलाले एकाएक गुट परिवर्तन गरेर भण्डारीसंग जोडिएपछि तनहुँ काँग्रेसमा तरंग उत्पन्न भएको छ । बास्तोलाको नेता पौडेल र जिल्ला सभापति न्यौपानेसंग असमझदारी बढ्दै गएपछि सुरक्षित अवतरण गरेको बुझिएको छ । बास्तोलाको प्यानलबाट तारानरेश पौडेल र चूडामणि दाहाललाई सचिवमा उठाइएको छ ।

त्यस्तै पौडेलको गुटबाट सचिवमा दयानिधी नराल र राजु बाँनियालाई सचिवका लागि मैदानमा उतारिएको छ । क्षेत्र नं.१ (क) मा भएको निर्वाचनबाट सभापतिमा विश्वेश्वर खनाल निर्वाचित भएका छन् । उनले २९० मत ल्याएर विजयी भएका थिए भने प्रतिप्पर्धी गोरा मिँयाले २१६ मत ल्याएका थिए । र बाँकी समितिमा पनि पौडेलकै गुटबाट उम्मेदवारहरुको विजय भएको छ ।

त्यस्तै, क्षेत्र नं.१ (क) मा भएको निर्वाचनबाट सभापतिमा काजीमान श्रेष्ठको प्यानलनै (एक जना बाहेक) विजयी भएको छ । श्रेष्ठले २२० मत ल्याएका थिए भने प्रत्यसी राजेन्द्र पियाले १५४ मत प्राप्त गरेका थिए । श्रेष्ठपनि पौडेलकै गुटका उम्मेदवार भन्दा अतिशयोक्ति नहोला ।

उता क्षेत्र नं २ (क) मा भने पौडेलको गुटबाट व्यवसायी कृष्णराज पण्डितको नेतृत्वमा प्यानल बनेको छ भने भण्डारीको गुटबाट नेविसंघका जिल्ला अध्यक्ष चुडामणि खनालको नेतृत्वमा प्यानलनै घोषणा गरिएको छ । चुडामणिको प्यानबाट सचिवमा जीवन चन्द ठकुरी र सन्तोष घिमिरेलाई अगाडि सारिएको छ । क्षेत्र नं २ को चुनावी माहौल निकै रोचक हुने अड्ककलबाजी रहेको छ । क्षेत्र नं २ प्रदेश सभा क मा भण्डारीको गुटबाट जितराज रानाको प्यानलकै जीत भएको छ भने पौडेलको गुटबाट हिरा थापाको नेतृत्वको प्यानल पराजित भएको छ ।

त्यस्तै, क्षेत्र नं २ (ख) को सभापतिमा इन्द्रबहादुर आले शुक्रबार निर्विरोध निर्वाचित भए । उनी भण्डारी र जीत प्रकाश आले समूहका उम्मेदवार हुन भन्दा फरक नपर्ला ।

यसैबीच, जिल्लाका हाइप्रोफाइल र अग्रज नेतादेखि यूवा नेताहरुले महाधिवेशन प्रतिनिधी, प्रदेश प्रतिनिधी लगायतका महत्वपूर्ण पदहरुमा आफ्नो उम्मेदवारी सामाजिक सञ्जालमार्फत प्रस्तुत गरेका छन् ।

विगतमा विभिन्न नेताहरुको गुट उपगुटमा विभक्त नेपाली काँग्रेस तनहुँमा अहिले प्रष्ट रुपमा दुइवटा गुटहरु सतहमा देखिएका छन् । चर्को गुटमा विभक्त काँग्रेसको राजनीतिले कतिपयलाई त फाइदा पुगेको देखिन्छ भने कतिपयलाई निकै पीडा महशुस भएको नाम गोप्य राख्ने शर्तमा जिल्लास्तरीय एक नेताले बताए । भाइफुटे गवाँर लुटे भनेजस्तै पार्टीमा देखिएको गुटगत अराजनीतिले अन्ततः काँग्रेस विगतमा प्रदेश, संघीय निर्वाचनमा बढारिएजस्तै आसन्न स्थानीय तहको निर्वाचनमा पनि बढारिन सक्ने भन्दै उनले दुःखेसो पोखे । एक विश्वस्त श्रोतका अनुसार तनहुँ काँग्रेसको साख र गरिमा जोगाउनका लागि गोप्य रुपमा सर्वसम्मतिबाट क्षेत्र र जिल्लास्तरमा नेतृत्व चयनको प्रयासपनि जारी रहेको बताइएको छ। तर, अधिवेशनको लागि १ दिन मात्रै बाँकी रहँदा त्यो आशा निकै झिनो रहेको श्रोतको भनाई छ ।

यसैबीच, काँग्रेसको कारवाहीमा परेर हालै फुकुवा भएका काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पनि अहिले जिल्लामै आएर सक्रिय राजनीति गरिरहेका छन् । आफ्नो टिकट जनताबाट लिऔं भन्ने अभियान चलाएका नेता जोशीले स्वतन्त्र रुपमा आफुँ प्रस्तुत हुने बताउँदै आएका छन् । पार्टीको आन्तरिक निर्वाचनमा हालसम्म खासै हस्तक्षेप नगरेका जोशीले नजिकिँदै गरेको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा निकै प्रभाव पार्ने बुझिएको छ । विगतमा जोशीकै गुटमा लागेर महत्वपूर्ण पद सहित नेतृत्वमा पुगेका कतिपय जिल्लास्तरका युवा नेताहरु खनाल, थापा लगायतकाले अहिले एकाएक क्याम्प परिवर्तन गरेका छन्, जसलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

राजनीति सधैं सरल र समानान्तर रेखामा मात्रै नभई बक्र रेखामा हिड्ने उदाहरण तनहुँ काँग्रेसको आसन्न अधिवेशनले प्रमाणित पनि गरेको छ ।