
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि तनहुँमा चार हजार पाँच सय ६३ कर्मचारी खटिने भएका छन् । एक सय ४२ वटा मतदान स्थलमा रहेका ३ सय ५ वटा मतदान केन्द्रमा सो सङ्ख्यामा कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । निजामती एक हजार सात सय ८२ र शिक्षक दुई हजार सात सय ८१ जना गरी चार हजार पाँच सय ६३ जना खटिने ढकालले जानकारी दिए । सो सङ्ख्याको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाईएको सोही कर्मचारीहरु मध्येबाट आवश्यक जनशक्ति निर्वाचनका लागि खटिनेछन् ।
तीन सय पाँच मतदान केन्द्रमा तीन सय पाँच जना मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत खटाईने छन् । एक मतदान केन्द्रमा पाँच जना सहायक कर्मचारीका खटाईने कार्यालयले जनाएको छ। निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी निर्वाचनको सुरक्षामा खटिनेछन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि तीनवटै सुरक्षा निकायले छुट्टाछुट्टै गस्ती गर्ने, मतदान अधिकृतको कार्यालयको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षा प्रदान गर्नेछ ।
कार्यालयका अनुसार तनहुँमा दुई लाख ४८ हजार चार सय ९५ जना मतदाताहरु रहेका छन् । तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभामा गरी एक लाख २३ हजार ४ सय ९० र क्षेत्र नं. २ मा एक लाख २५ हजार ५ जना मतदाता रहेका छन् । जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशिल र सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको छ । समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले एक सय ४२ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले ६ अति संवेदनशील, ५२ वटा संवेदनशिल ८२ वटा सामान्य रहेको जानकारी दिए । विगतका निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्था लगायतलाई आधार बनाइ मतदानस्थलको वर्गीकरण गरिएको उनले जानकारी दिए ।
निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइने समितिले जनाएको छ । ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता अपनाइने प्रजिअ अर्यालले जानकारी दिए । संवेदनशील स्थलहरुमा सुरक्षालगायत अन्य हिसाबले प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।
तनहुँको क्षेत्र नम्बर १ बाट निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि आदिकवि भानुभक्त क्याम्पस दमौलीमा प्रक्षिक्षण सम्पन्न भएको छ।




