तनहुँका सबै सामुदायिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने भएको छ ।

शिक्षा ऐनमा भएको संशोधन अनुसार पुराना समितिमा मनोनित सदस्यहरू स्वतः पदमुक्त भएपछि नयाँ समिति गठन गर्न लागिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जिल्लाका सबै स्थानीय तह र सामुदायिक विद्यालयहरूलाई पत्राचार गर्दै संशोधित व्यवस्था अनुसार व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको छ ।

‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३’ मार्फत शिक्षा ऐन २०२८ को दफा १२ को उपदफा १ को खण्ड (ग) को व्यवस्था खारेज भएकाले उक्त खण्ड बमोजिम मनोनित सदस्यहरू स्वतः पदमुक्त भएको इकाईले जनाएको छ ।

ऐन संशोधनपछि विद्यालय व्यवस्थापन समिति गठनबारे स्थानीय तह र विद्यालयहरूबाट सोधपुछ भइरहेकाले परिपत्र मार्फत स्पष्ट पारिएको इकाई प्रमुख एवं उपसचिव कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार अब जिल्लाका सबै विद्यालयले संशोधित कानुनी प्रावधान अनुरूप नयाँ समिति गठन प्रक्रिया अघि बढाउनुपर्नेछ ।