तनहुँको बन्दीपुर गाउँपालिका–४ को बिमलनगर स्थित चुनपहरामा आयोजित रक क्लाइम्बिङ महोत्सव र प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा महिला तर्फ पञ्चमाया तामाङ प्रथम, रुषा प्रधान द्धितीय र जापानकी सावा सुचिता तृतीय भएकी छिन । उनीहरुले क्रमशः ५० हजार ५ सय, २० हजाार, र १० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उनीहरुले वाल क्लाइम्बिङ कोर्स पनि पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

यसैगरि, पुरुष प्रतियोगितामा दिपन गुरुङ प्रथम, सुलभ राई द्धितीय र तेन्जिङ राई तृतीय भएका छन् । उनिहरुले क्रमशः ५० हजार ५ सय, २० हजार र १० हजार सहित मेडल, प्रमाणपत्र प्राप्त गरे साथै १ वर्ष, ६ महिना र ३ महिनाको निशुल्क वाल क्लाम्बिङ कोर्स पनि पुरस्कार स्वरुप हात पारे ।

४ दिन सम्म आयोजित सो महोत्सवमा १ सयभन्दा बढी माउन्टेनरिङ गाइडहरुको सहभागिता रहेको थियो । महोत्सवको गण्डकी प्रदेशका खेलकुद मन्त्री राजिव गुरुङ(दीपक मनाङ्गे आईतबार समापन गरेका थिए ।

महोत्सव अवधीभर रक क्लाइम्बिङ गर्नेको भिड लागेको थियो । पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडकको विस्तारका क्रममा सो पहरा र त्यहाँ गरिने रक क्लाइम्बिङ खेलको अस्तित्व सकिन लागेको भन्दै सो को संरक्षणका लागि दबाब दिने उद्धेश्यले महोत्सवको आयोजना गरिएको आयोजकले बताएका छन् ।

‘‘चुन पहरो बचाऊ’’ बिमलनगर सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले चुन पहरालाई बचाउन महोत्सवको आयोजना गरिएको बताए । ‘‘मुग्लिन कोत्रे सडक खण्ड विस्तारका क्रममा चुन पहराको अस्तित्व मेटिन नदिन र उक्त ठाउँको पर्यटन प्रवर्धन गर्न नेपालमै पहिलो पटक रक क्लाइम्बिङ महोत्सवको आयोजना गरिएको हो’’ अध्यक्ष श्रेष्ठले भने ।

महोत्सवमा स्वदेश तथा विदेशका साहसिक खेलाडीहरुको भिड लागेको थियो । आफूले पहिलोपटक रक क्लाइम्बिङ गर्न पाउँदा निकै खुशी र रोमाञ्चित भएको बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिमल दुवाडीले बताए । डोरी, हार्नेस र एंकरको सहारामा पहरोको टुप्पामा पुग्न निकै संघर्ष गर्नुपरेको बताउँदै डा. दुवाडीले सबै साहसिक युवायुवतीहरुले चुनपहरामा रक क्लाइम्बिङको अनुभव लिनु पर्ने सुझाव दिए ।

फेस्टिवलमा रक क्लाइम्बिङ प्रतियोगिता, रक क्लाइम्बिङ कार्यशाला गोष्ठी र साहासिक खेलबाट पर्यटन प्रवर्द्धन गर्ने बारे छलफल भएको थियो।

नेपालकै उत्कृष्ट मध्येमा पर्ने विमलनगरको चुन पहराको रक क्लाइम्बिङ स्पटलाई अन्तरर्राष्ट्रिय जगतसम्म थप प्रवर्धन गर्न फेस्टिबलले सहयोग गरेको आयोजक गण्डकी अल्पाइन क्लवका अध्यक्ष नरेन शाहीले बताए।

प्रतियोगितामा माउन्टेन गाइड नरेन्द्र शाही, अनुप गुरुङ, सुमन गुरुङ, विनायक जय मल्ल र पिम्वा तेन्जिङ लामा भोटेले निर्णयकको भूमिका निर्वाह गरेका थिए।

सो महोत्सव गण्डकी अल्पाइन क्लब, नेपाल पर्यटन बोर्ड तथा बन्दीपुर गाउँपालिकाको आयोजनामा पुस ९ देखि १२ गतेसम्म आयोजना गरिएको थियो ।