तनहुँको बन्दीपुरमा अंग्रेजी नयाँ बर्षको उपलक्ष्यमा सडक खाना महोत्सव हुने भएको छ । महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम पनि हुने भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक बढाउने उद्धेश्यले विविध साँस्कृतिक कार्यक्रम गर्न लागिएको क्षेत्रीय होटल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले बताए । कोरोना संक्रमणका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सो महोत्सवको आयोजना गरिएको अध्यक्ष प्रधानले जानकारी दिए ।

अंग्रेजी नयाँ बर्षको अघिल्लो साँझ सुरु हुने महोत्सव लगातार ३ दिनसम्म चल्नेछ भने महोत्सवमा स्थानीय उत्पादन र खानाका परिकारहरूलाइ प्राथमिकताका साथ विक्री गरिनेछ । महोत्सवले तनहुँलाई पर्यटकीय गन्तव्य बनाउने र स्थानीय कलाकार र संस्कृतिलाई प्रोत्साहन गर्ने बताइएको छ ।

सडकमै खाऔं, सडकमै रमाऔं भन्ने नाराका साथ आयोजित सो महोत्सवमा बन्दीपुर पर्यटन बिकास समिति, उद्योग बाणिज्य संघ बन्दीपुर बजार इकाई र क्षेत्रीय होटल संघ बन्दीपुर बजार इकाईको सहयोग रहने छ ।

बन्दीपुरका कलात्मक घरहरू, प्राकृतिक रमणीय वातावरण साथै स्थानीइ अर्गयानिक खानाहरूले पर्यटकहरू खुशी हुने बन्दीपुर पर्यटन बिकास समितिका अध्यक्ष किसान प्रधानले विश्वास व्यक्त गरे । त्यसैगरि, उद्योग वाणिज्य संघ बन्दिपुरका सभापति घनश्याम उपाध्यायले बन्दीपुरमा सबैलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताए ।