
तिल बहादुर थापा

ऎतिहासिक, धार्मिक, साँस्कृतिक र पर्यटकीय रुपले महत्वपूर्ण ठाउँहरु मध्ये तनहुँको ऋषिङ्ग पनि एक हो।
बाईसे–चौबिसे राज्यको पालामा बेणिसेनले ऋषिङ्ग राज्यमा राज्य गर्दथे। त्यतिबेला देखि नै ऋषि राज्य प्रख्यात र अरु राज्यको तुलनामा कम्जोर नरहेको विभिन्न किम्बदन्ती र ईतिहासमा पाउन सकिन्छ।

आज ऋषिङ्गे राजाको दरबार रहेको ठाउँ गढीडाडा र कोत हतियार भण्डारण स्थल अति नै महत्वपूर्ण स्थलको रुपमा चिरपरिचित छ। ऋषिको गढिडाडाबाट वरपरका प्रायः सबै ठाउँहरु हेर्न सकिन्छ जसलाई भ्युटावरको रूपमा लिन सकिन्छ। एकपटक त्यहाँ पुगिसकेपछि दोश्रो पटक नजाने सायद कमै भेटिन्छ।

ऋषिङ्ग गाउँपालिका भित्र रहेको ज्यामिरेमाई मन्दिर, कल्याणदेबि मन्दिर, सहिद स्मारक, अजम्मरी माई, दुर्गा भवनी मन्दिर, दुबुङ्ग भ्यु टावर ऋषिङ्गको परिचय र पहिचान हो।
ऋषिङ्ग विभिन्न जानजातिले भरिएको सुन्दर फुलबारी हो। यहाँको सँस्कृती आज देशैभरी प्रख्यात मानिन्छ। कौरा नाचको उद्गगम स्थल पनि ऋषिङ्ग नै भएकोले ऋषिङ्गको नाम नसुन्ने कमै सुनिन्छ।
आज कौरा नाच नेपालाका सबै जातजाति र बिदेशमा समेत अति नै प्रख्यात मानिन्छ। यहाँको नेवार समुदायको लाखे नाच देशैभरी प्रख्यात छ। ऋषिङ्गको सोरठी, ज्याउरे नाच, कृष्ण चरित्र पनि ऋषिङ्गको परिचय दिएको पाईन्छ।

आज ऋषिङ्ग गाउँपालिकाले ऋषिङको चौतर्फी विकासको लागि धार्मिक, साँस्कृतिक, र ऎतिहासिक ठाउँहरुको सम्बर्द्धन र बिकासमा महत्वपूर्ण भुमिका खेलेको देख्दा खुशी र गर्ब लाग्छ। यहाँका विभिन्न मन्दिरहरुमा बर्षेनी भब्य मेला लागेको देख्न सकिन्छ।

आज दुबुङ्गको भ्युटावर, अजम्मरिमाईको मन्दिर, दुर्गा भवानी मन्दिर, सहिद स्मारक,कल्याणदेबि मन्दिर, ज्यामिरे माईको मन्दिरको सरक्षण र सम्बर्द्धमा ऋषिङ्ग गाउँपालिकाले धेरै लगानी गरिसकेको देख्न सकिन्छ।

ऋषिङ्गको विकास गर्न ऋषिमा रहेका सम्भावनाहरुलाई चिन्न र चिनाउन नितान्त आवश्यक छ। यहाँको विकासको लागि ऋषिङ्गबासी सबैको सहयोग र सल्लाह अतिनै आवश्यक छ। हामी फुटेर होइन जुटेर आगाडी बढन जरुरी छ। ऋषिङ्ग गाउँपालिकाले आगामी दिनहरूमा ऋषिङ्गको चौतर्फी विकासमा गुरुयोजना बनाउन र सोही अनुसार अगाडि बढन सकोस् हार्दिक शुभकामना।




