
दक्ष कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेशमै रोक्ने र उद्यमशील बनाउने उद्देश्यका साथ तनहुँमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान सुरु गरिएको छ । नेपालभित्रै कृषि क्षेत्रमा रोजगारी र व्यवसायको प्रचुर अवसर रहेको सन्देश दिँदै जिल्ला कृषि विकास कार्यालय तनहुँले विद्यालय तहदेखि नै अभियान थालेको हो ।
अभियानको पहिलो चरणअन्तर्गत तनहुँको भिमाद नगरपालिका भिमाद बजारस्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि ‘नेपालमा कृषि स्नातकः अवसर र भविष्य’ विषयक सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । कृषि विकास कार्यालयका अनुसार भिमादबाट सुरु भएको यो अभियानलाई क्रमशः जिल्लाका अन्य सबै स्थानीय पालिकाहरूका विद्यालयमा समेत विस्तार गरिनेछ । तर बजेट अभावले गर्दा यस वर्ष तनहुँका दुई विद्यालयमा मात्रै कार्यक्रम गरिने कार्यालयले जनाएको छ ।
कृषि विकास कार्यालय तनहुँका बाली संरक्षण अधिकृत किरण परियारले नेपालमा कृषि शिक्षा अध्ययन गर्नेहरूका लागि पछिल्लो समय देशभित्रै अवसरका नयाँ ढोकाहरू खुलेको बताउनुभयो । कृषि स्नातक गरेका जनशक्तिका लागि सरकारी सेवा, अनुसन्धान र प्राविधिक क्षेत्र मात्र होइन, निजी क्षेत्र, सहकारी, कृषि उद्योग र पशुपालनमा ठुलो माग भएको अधिकृत परियारले बताउनुभयो । कृषि अब परम्परागत निर्वाहमुखी पेसा मात्र रहेन, यसलाई व्यावहारिक र प्रविधिमैत्री बनाउन सके युवाहरू रोजगारीका लागि विदेश पलायन हुनुपर्ने अवस्था अन्त्य हुने उहाँले बताउनुभयो ।
उहाँले कृषि क्षेत्रमा आधुनिक प्रविधि, जैविक खेती र व्यावसायिक उत्पादनमा युवाको सहभागिता बढाउन विद्यालय तहदेखि नै काउन्सिलिङ (परामर्श) आवश्यक परेको र यसैलाई मध्यनजर गर्दै जिल्लाभर अभियान चलाउन जरुरी रहेको बताउनुभयो ।
सो अवसरमा विद्यार्थीहरूलाई रासायनिक विषादीको सुरक्षित प्रयोग, वातावरण संरक्षण तथा दिगो कृषि प्रणालीका विषयमा समेत व्यावहारिक जानकारी दिइएको भिमाद नगरपालिका कृषि शाखा प्रमुख सुस्मिता गौतमले बताउनुभयो । विद्यालय तहदेखि नै कृषिको व्यावसायिक सम्भावना र नेपालमै उपलब्ध अवसरबारे बुझ्न पाउँदा सहभागी विद्यार्थीहरूले खुसी व्यक्त गरेका थिए । गोरखापत्र अनलाइन




