तनहुँको व्यास नगरपालिकाले सहिद दिवसका अवसरमा आयोजना गरेको मानहुँदेखि पुलिमराङ सम्मको अल्ट्रा म्याराथन प्रतियोगिता आज हुने भएको छ । प्रतियोगिताका लागि सबै तयारी पुरा गरेको नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन धावकहरु र आयोजकको टोली मानुङ प्रस्थान गरेका छन् । सहिद दिवसका साथै प्रतियोगिताका अवसरमा नगरपालिकामा आज सार्वजनिक विदा दिइएको छ ।

यसैबीच, प्रतियोगितामा सहभागी हुन चाहने धावकले माघ १५ गते सम्म नाम दर्ता गराएका छन् । नाम दर्ता गराउने धावकले मात्र म्याराथन दौडमा सहभागी हुन पाउने बताइएको छ । नगरपालिकाको आयोजनामा हरेक माघ १६ गते म्याराथन प्रतियोगिता हुँदै आएको छ ।

वडा नम्बर ५ को मानहुँदेखि वडा नम्बर ८ को सहिदग्राम पुलिमराङ्सम्मको ४४ किमी दुरीमा म्याराथन आयोजना गरेको हो । प्रतियोगिताको तयारी पुरा भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्यले विगत पाँच बर्षदेखि शुरुवात गरेको म्याराथनलाई यसबर्ष पनि निरन्तरता दिन लागेको हो । नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले पर्यटकीय गाउँ मानहुँ र सहिदहरुको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरेको बताए ।

विगतमा गदै आएको म्याराथनले मानहुँकोटको पर्यटकीय प्रवर्धनमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको उनले बताए । म्याराथन नगरपालिकाको पहिचान बनिसकेकोले वर्ष निरन्तर दिदै आएका छौ । मानहुँकोट देखि सिद्धमार्ग हुँदै अलैचे, चापाघाट, पृथ्वीराजमार्ग हुदै दुर्गा मन्दिर अनसन चौतारी, सफासडक, भोर्लेटार चोक, व्यास मार्ग हुँदै बैरेनी दुम्सी खहरे,कलेस्ती बोटेटार, पाथ्रा सत्रसय,कालिका मार्ग हुदै बर्लाछी सोतीबेसी, बगुवा रिस्ती, बाहुन पोखरा हुँदै पुलिमराड सहिद स्मारक पार्कमा पुगेर टुंगिने आयोजकले जनाएको छ ।

फाइल फोटो

गतबर्षसम्म म्याथनमा राष्ट्रिय धावक सहभागी गराइएपनि यसबर्ष जिल्लाभित्रका धावकलाई सहभागी हुन पाउने प्रावधान राखिएको छ ।

आयोजक नगरपालिकाले दिएको जानकारी अनुसार म्याराथन दौड प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने धावकहरुले क्रमशः ६१ हजार, ५१ हजार र ३८ हजार रुपैयाँ प्रदान गरिने छ । त्यस्तै ३ जनालाई सान्तवना पुरस्कार १२ हजार ५ सयका दरले प्रदान गरिने छ । नगरपालिकाले आयोजना गरेको म्याराथनमा तनहुँ स्थायी घर भएका धावकहरुले मात्र सहभागिता जनाउन पाउने भएका छन् । अघिल्ला वर्षहरुको खुल्ला व्यास नगर अल्ट्रा म्याराथनमा देशभरबाट धावकहरु आउने गरेका थिए । व्यास नगरपालिकाले यस वर्ष स्थानीय धावकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाभित्रका व्यक्तिहरुले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको हो । स्थानीय युवाहरुलाई खेलकुदतर्फ आकर्षण गर्न जिल्लाभित्रका व्यक्तिहरुलाई मात्र म्याराथनमा भाग लिने व्यवस्था मिलाइएको हो ।

यसैबीच, नगरपालिका स्रोतका अनुसार अल्ट्रा म्याराथन प्रतियोगितामा ५७ जना धावकले नाम दर्ता गराएका छन् । सहभागी थपिने क्रम जारी रहेको छ । सहभागी हुने धावकहरुलाई व्यास नगरपालिकाको हलमा आधा घण्टाको ब्रिफिङ गराइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख नविन पराजुलीले जानकारी दिए । सहभागी धावकहरुलाई दौडका नियमहरु बारे बताईएको थियो ।

सहभागी धावकहरुलाई आइतबार अपरान्ह सेण्डो वितरण गरिएको छ ।  प्रतियोगिताको नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेलले उद्घाटन एवं समापन गर्ने कार्यक्रम रहेको छ ।