बिमला दुवाडी

नेपाली काँग्रेस तनहुँ विगत केही वर्षदेखि चरम गुटबन्दीको रोगबाट ग्रसित भएको छ भन्दा अतिशयोक्ति नहोला । जिल्लाबाट केन्द्रसम्म हैसियत बनाएका र जिल्लाकै नेतृत्वमा रहेका ७ जना नेताका ७ वटै गुट र उपगुटले काँग्रेस तनहुँ नराम्रोसंग भूमरीमा रुमल्लिएको छ । जसले गर्दा आम कार्यकर्ता अलमल्लमा छन् भने कुन गुटको फेरो समातेर कहाँ पुगिने भन्नेमा विलखबन्दमा परेका छन् ।

यसैबीच, नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत असोज ९ गते तनहुँका १० मध्ये ८ वटा पालिकामा गाउँ–नगर अधिवेशन सम्पन्न भएको छ । नेपाली काँग्रेस तनहुँका अनुसार तीन वटा पालिकामा सभापतिहरु सर्वसम्मत चुनिएका छन् भने ५ वटा पालिकामा निर्वाचन भएको छ । त्यस्तै २ वटा पालिकाको अधिवेशन स्थगित भएको छ । तर, पालिकास्तरीय अधिवेशनमा देखिएको काँग्रेस नेताहरुको चलखेल र गुटबन्दीले काँग्रेस तनहुँको भविष्यमा नराम्रो संकेत गरेको छ । विशेषतः जिल्लाबाट केन्द्रमा हैसियत बनाएका वरिष्ठ नेता रामचन्द्र पौडेल देखि पूर्व सहमहामन्त्री भएका गोविन्दराज जोशी हुँदै केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले र स्वयं तनहुँ सभापति बैकुण्ठ न्यौपानेले बेग्लाबेग्लै गुट खडा गरेका छन् । सो गुटबन्दीको प्रत्यक्ष अप्रत्यक्ष असर पार्टी भित्र र अन्तर पार्टी गतिविधी र कार्यक्रमहरुमा छरपष्ट देख्न सकिन्छ । गुटबन्दीमा रमाएका नेताहरुले कार्यकर्तालाई विरालाले मुसाहरु खेलाएजस्तै खेलाएका देखिन्छन् । गुटबन्दीको असर विगतमा भएका स्थानीय, प्रदेश र संसदीय निर्वाचनका बेलामा पनि सतहमै देखिएको थियो र त्यसको धङधङीले नेताहरुलाई अझैसम्म पनि गाँजेको छ । जसकारण, नेताहरुबीचको आपसी मतान्तर र प्रतिष्पर्धा बेलाबेलामा निकै चर्को र खरो देखिदैं आएको छ ।

अब चर्चा गरौं पार्टीको अधिवेशनको । पालिकास्तरको अधिवेशनमा पार्टी वरिष्ठ नेता पौडेल र उनकै लाइनका जिल्ला सभापति बैकुण्ठ न्यौपानेले आफ्ना पक्षका उम्मेदवारहरुलाई जिताउन कम्मर कसेर लागे । फलस्वरुप, व्यास नगरपालिकाको सभापतिमा सूर्यचन्द्र हड्खलेले बाजी मारे । हड्खलेलाई पौडेल र न्यौपानेले खुलेरै समर्थन गरेको बताइन्छ तथापी गतबर्ष सम्म सभापतिमा निर्वाचित हड्खले गोविन्दराज जोशीका “हाडलाइनर” र “किचेन क्याविनेट”का सदस्य थिए । जोशीको साथ, संगत र गुट परित्याग गरेपछि हड्खलेलाई उपहार स्वरुप सो पद प्राप्त भएको पनि बजारमा चर्चा छ । तथापी शंकर भण्डारी निकट मानिएका उनका प्रत्यासी डम्बर बहादुर अधिकारीले अन्तिमसम्म चुनावी मैदान नछोडेपछि मतदान प्रक्रियाबाट अधिवेशन सम्पन्न भएको थियो । दोब्बर मतान्तरले हड्खलेको प्यानलले अधिकारीलाई पराजित गरेपनि अधिकारीको हिम्मत र साहसलाई धेरैले खुलेरै प्रशंशा गरेका छन् । यूवा नेता बसन्त बहादुर आलेले अधिकारीको कदम लोकतान्त्रिक पार्टीको लागि उदाहरणीय भएको भन्दै पार्टी भित्रको टिकाटालो गरेर पद र नेतृत्व हस्तान्तरण गर्ने परम्परालाई चुनावी वातावरणले चुनौति दिएको सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । अध्यक्षको उम्मेदवारका रुपमा चर्चामा रहेका अन्य ८ जना स्थानीय नेताहरुले गुटबन्दीकै मार र चेपुवामा परेर चुनावी मैदानमा छिर्ने हिम्मत पनि गरेनन् । सभापतिमा तीन जनाको उम्मेदवारी परेको भएतापनि अन्तिममा चुडामणि दाहालले पनि “वाकओभर” गरे फलस्वरुप उनको कदमले हड्खले र अधिकारीमध्ये कसलाई फाइदा वा वेफाइदा गर्यो ? थप विश्लेषण हुनेनै छ । यसैबीच, उपसभापति, सचिव र सहसचिवमा भएको भिडन्तमा पनि गुटबन्दीकै कारण आशालाग्दा यूवाहरु पराजित भएको कतिपयको टिप्पणी छ । गुटबन्दीका कारण पार्टीलाई दुरगामी असर पार्ने र नजिकिदैं गरेको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा त्यसको नतिजा प्रष्ट देखिने उनीहरुको विश्लेषण छ ।

यसैबीच, गुटबन्दीकै मार तनहुँका अन्य पालिकाहरुमा पनि पर्यो । आँबुखैरेनी गाउँपालिकाको सभापतिमा निर्वाचित विष्णु पन्त र बन्दीपुरमा निर्वाचित सभापति कर्णबहादुर खत्री शंकर भण्डारीको साथ समर्थनमा चुनाव जितेको बताइन्छ । आँबुखैरेनी र बन्दीपुरमा शंकर भण्डारी गुट र गोविन्द भट्टराई गुटको भिडन्त भएको थियो जसमा भण्डारी गुटले बाजी मारेको स्पष्ट देख्न सकिन्छ । दुई गुटको लडाईंमा पौडेल वा अन्य पक्ष हावी हुन नसकेको अधिकाँशको बुझाई छ । गुटबन्दीको मारमा भट्टराई पक्षधर प्रितम गुरुङ र बैँस गुरुङले हार वेर्होनु पर्यो । आँबुखैरेनी र बन्दीपुरमा भण्डारी गुटको दवदवा रहेको प्रष्ट देखिन्छ । जसले गर्दा भट्टराई पक्षलाई आसन्न निर्वाचनहरुमा ठूलो धक्का र मार पर्ने निश्चित छ ।

गुटबन्दीकै सेरोफेरोमा शुक्लागण्डकी नगरपालिका पनि पर्यो । केन्द्रीय सदस्य एव विधार्थी नेता प्रदीप पौडेलको गुटले गोपीबहादुर गुरुङलाई सर्वसम्मत रुपमा सभापति बनाउन सफल भए । गुरुङका लागि बरिष्ठ नेता पौडेल र मेयर किसान गुरुङ खुलेरै लागेको आम बुझाई छ । सभापति लगायत अन्य पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेल गुटनै हावी भएको छ । सभापतिमा सर्वसम्मत भएपनि अन्य पदमा भएको निर्वाचनमा उपसभापतिमा कृष्ण रेग्मी सहित उनको प्यानल विजयी भएको छ जसले गर्दा सो क्षेत्रमा पौडेलद्धयको पकड बलियो सावित गरेको छ ।

भानु नगरपालिकामा पौडेल गुटका रामकुमार श्रेष्ठले बाजी मारे भने भण्डारी गुटबाट उम्मेदवार बनेका नवीनराज दाहाल थोरै मतान्तरले पराजित भए । त्यसैगरि, घिरिङ गाउँपालिकामा पनि पौडेल पक्षको बर्चस्व कायम भएको छ । सर्वसम्मत रुपमा चयन भएका सभापति यम थापालाई पनि पौडेल पक्षले तथास्तु गरेको बताइन्छ ।

त्यसैगरि, म्याग्दे गाउँपालिकामा भएको रोचक प्रतिष्पर्धामा प्राध्यापक समेत रहेका रामभक्त घिमिरेले प्रत्यासी विनोद खनाललाई तेब्बर वढी मतले पराजित गरे । म्याग्देमा भएको निर्वाचनमा पौडेल, भण्डारी र वाग्ले गुटको प्रभाव परेको बताइन्छ तथापी गुटको त्रिपक्षीय भिडन्तमा सभापतिमा घिमिरेले बाजी जितेका छन् । घिमिरेले आँफु गुटबन्दीको मारबाट अलग रहेको बताउँदै पपुलर मतका आधारमा आफनो जित भएको बताएका छन् । तथापि राजनीतिक विश्लेषकहरु सभापति घिमिरेलाई भण्डारी र वाग्ले गुटको नजिक रहेको बताउँदै आएका छन् । वरिष्ठ नेता पौडेल गुटको उम्मेदवार बनेका खनालले केही बर्ष पहिला जोशी गुटको सदस्यता लिएतापनि हाल आएर “क्याम्प” परिवर्तन गरेका हुन्।

यसैगरि, अधिवेशन स्थगित भएका भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकामा पनि गुटकै प्रभावका कारण प्रक्रिया रोकिएको बताइन्छ । सहमतिका लागि भन्दै तरुणदलको दवावमा अधिवेशन स्थगन गरिएको छ। गाउँपालिका सभापतिका लागि तिलबहादुर थापा, दानबहादुर श्रेष्ठ, र भोजराज रानाभाट अग्र मोर्चामा देखिएका छन्। पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पनि आफ्नो दवदवा कायम गर्न ऋषिङमै भएपनि गुट खडा गरेको आरोप लागेको छ । स्थानीय गुट, जिल्ला वा केन्द्रीय गुटमध्ये कुन गुटले ऋषिङमा बाजी मार्नेछ, त्यो भने पर्खनै पर्ने हुन्छ ।

त्यस्तै स्थगित भएको भिमाद नगपालिकाको अधिवेशनको नगर सभापतिमा रामकृष्ण राना र अर्जुन श्रेष्ठ दाबेदार छन् । अन्य पदमा पनि सर्वसम्मत गराउने प्रयास भइरहेको छ । भिमादमा कार्यवाहक जिल्ला सभापति जित प्रकाश आलेको अलग्गै गुट बन्ने प्रक्रिया रहेका बुझिएको छ । आसन्न जिल्ला अधिवेशनमा पार्टी सभापतिका दावेदार मानिएका आलेले आफ्नो भूमिकाको खोजी गरिरहेको कार्यकर्ताको बुझाई छ ।

यसैगरि, देवघाट गाउँपालिकामा निर्वाचित सभापति तीलबहादुर थापापनि पौडेल गुटको समर्थनबाट पद प्राप्त गर्न सफल भएका छन् । देवघाटमा पौडेल बाहेक अन्य गुटको खासै प्रभाव नपरेको बुझिएको छ ।

स्थानीय पालिकाहरुमा भएको काँग्रेसको आन्तरिक अधिवेशनले सुदुर भविष्यमा समेत दुरगामी प्रभाव पार्ने निश्चित छ । समग्रमा तनहुँ काँग्रेसको राजनीतिक वातावरण अहिले निकै धमिलिएको छ । एउटै राजनीतिक पार्टी भित्रपनि नेता तथा कार्यकर्ताका बीचमा हुने आरोप प्रत्यारोप, दोषारोपक्ष, पक्ष–विषक्ष, गुट–उपगुट, र विभिन्न लबिङलमा विभक्त तनहुँको राजनीतिक अनुशासन पूर्णतयाः खलबलिएको छ । सुदुर भविष्यसम्म पनि तनहुँ काँग्रेसको राजनीतिक वातावरण सङ्लिने सम्भावना न्यून देखिन्छ । जसको मार कसलाई कति पर्नेछ, त्यो भविष्यलेनै तय गर्नेछ ।

समग्रमा फलानो नेताले यति गर्यो तर अर्कोले केही गरेन भन्ने अस्वस्थ्य प्रतिष्पर्धाले तनहुँको राजनीति दोषारोपणमै गुज्रिएको छ । आफुले काम गर्नुभन्दा अर्काको कुरा काट्ने र खोइरो खन्ने प्रवृति र प्रचलन तनहुँका राजनीतिक दल, नेता र कार्यकर्ताहरुको गम्भिर कमजोरी हो ।

वास्तवमा, गुट भनेको स्वार्थ हो र यसले नीति, कार्यक्रम र योजना माथि छलफल र वहस गर्दैन । यसले नाफा नोक्सानका हिसाव किताव गर्दछ , आफ्नो र अर्काको भनेर छुट्याउँछ र बाँडी खाने र लुटी खाने प्रपञ्च यसको योजना र कार्यक्रम बन्छ । गुट कुनै निश्चित नेताको वरिपरि घुम्छ, अरुको कुरा काट्छ र आफ्नो स्वार्थ पूर्तिका लागि नेताले जे बोल भन्छ त्यही बोल्छ र गुटले बर्बाद गर्यो भन्दै गोप्य कोठाभित्र बसेर झनै ठूलो गुट निर्माण गर्छ । आफू माथि विश्वास नभएका विचार र दृष्टिकोण शून्य भएका पदलोलुप व्यक्तिहरु गुटको सदस्य बन्छन् । यो विवेकहीन र मृत हुन्छ । यो विनासको घोतक हो । गुट र उपगुटको राजनीतिबाट काँग्रेस अलग रहन सकेन भने कांग्रेसको साख सकिन्छ।

तसर्थ, नेपाली काँग्रेसले समग्र राजनीतिक शुद्धिकरणका लागि गुट र उपगुटको संस्कारलाई सदाका लागि अन्त्य गर्नुपर्छ र अन्य राजनीतिक पार्टीका लागि शिक्षा दिनुपर्छ ।