दमौलीका चर्चित साहित्यकार एवं गीतकार सागर उदासले दुई वटा कृतिहरु ‘सागर सुसेली’ र ‘फैलिन्छ कि माया’ प्रकाशन गरेका छन् । राजधानीमा एक कार्यक्रममार्फत उनका कृतिहरु केही दिन अघि विमोचन गरिएका हुन्।

गीति सङ्ग्रह ‘सागर सुसेली’ मा १०९ सिर्जनाहरु छन्। संग्रहमा समावेश उनका रचनाहरु मध्ये अधिकांश पत्र पत्रिका र अनलाइन न्युज पोर्टलमा प्रकशित भईसकेका छन् भने केही गीतहरुमा सङ्गीत समेत भरिएर कर्णप्रिय गीतका रुपमा बजारमा आइसकेका छन् । कृति ४ वर्ष अगाडि तयारी भएको थियो तर कोभिड र विविध कारणले प्रकाशनमा ढिलाइ भएको गीतकार सागर उदासले जानकारी दिए ।

अर्को कृति ‘फैलिन्छ कि माया’ मा १२३ वटा सिर्जनाहरु छन्। यस कृतिमा मन–मुटु, माया–प्रेम, राष्ट्र– प्रेम र कोभिड्का पीडाहरु झल्किएका छन्।

गीतकार उदासको नेपाली गीत संगीतमा राम्रो योगदान रहेको वरिष्ठ सञ्चारकर्मी तथा कवि रमेश पौडेलले बताएका छन्। वरिष्ठ साहित्यकार एवंम गजलकार श्रवण मुकारूङ्गले जीवनको करिब ४ दशक गीत सिर्जनामा बिताएका सर्जक सागर उदासको खुलेर प्रसंशा गरेका छन् । उनको सिर्जनाले नेपालको साहित्य क्षेत्रमा ठुलो टेवा पुगेको समेत उनले बताए।

तनहुँको सदरमुकाम दमौली बजार निवासी गीतकार उदास र सफल व्यवसायी पनि हुन्। उनको दर्जनौं गीत रेकर्ड भैसकेका छन्। उनको गीतहरुमा राष्ट्र प्रेम, मायाप्रिति र देशभक्ति झल्कने गर्छ। उनले सरल भाषामा गाउँघरका सुवास झल्किने मायाप्रेम र विकृति विसंगति विरुद्धका गीत, कविता र मुक्तक लेख्दै आएका छन्। उनको गीतले नयाँ पुस्तालाई देशमै बस्न र सृजनात्मक बनाउन ऊर्जा भर्ने काम गर्छन्। मिलनसार, सहयोगी र आत्मीय व्यवहारका कारण उनी सामाजिक कामहरूमा समेत मन खोलेर सहयोग गर्छन्। उनी गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष समेत हुन्। उनी आफ्नो व्यवसायिक कर्मसँगै साहित्य, पर्यटन प्रवर्दधनमा समेत पनि उत्तिकै क्रियाशील छन्।

स्कुले जीवनदेखि नै नाचगान सधैँ अगाडि रहेका गीतकार उदास सानै उमेरदेखि रेडियो नेपाल निरन्तर सुनेर गीत संगितमा अभिरुची बढेको बताए।

विसं २०५० मा रेकर्ड भएको उनका पहिलो गीत आइसिं लामाको संगीतमा देवकुमार लामाले गाएका ‘हिँडेको छु छातिभरि व्यथाहरू बोकी, जिन्दगीको परिभाषा दुःख मात्रै हो कि’ भन्ने हो । सागर उदासको पहिलो कृति ‘सागरका गीतहरू’ २०५२ सालमा प्रकाशित भएको थियो। उनले २०६० सालमा ‘आभार’ नामक पहिलो गीति एल्बम र २०७० मा दोस्रो एल्बम ‘रवी’ रेकर्ड गरेका थिए।

उनी चोटिला मुक्तक र रसिला गीत लेख्नमा निपूर्ण छन्। दुवै कृतिको सम्पादन र संयोजन गीतकार रमेश पौडेलले गरेका हुन्।

यसैबीच, गीतकार उदासले आफ्ना दुई कृतिहरु व्यासश्री डटकमकी प्रबन्धक एवं पत्रकार विमला दुवाडीलाई उपहार स्वरुप प्रदान गरेका छन् ।