नेपालमा कोरोना भाइरसको प्रकोप हरेक दिन उकालो लागिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ। देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६१४ छ।

नेपाल विश्वभर कोरोना भाइरसको महामारीबाट प्रभावित भएको मुलुकको सूचीमा ४० औँ स्थानमा रहेको छ। वर्ल्डोमिटरको तथ्यांक अनुसार विश्वभर ४३ वटा देशमा कोरोना संक्रमितको संख्या एक लाखभन्दा बढी छ। संक्रमित संख्याका हिसाबले नेपाल ४०,  युएई ४१, इजिप्ट ४२ र ओमान ४३ औँ स्थानमा छ।

सबैभन्दा प्रभावित मुलुकको सूचीमा पहिलो स्थानमा अमेरिका छ। जहाँ कोरोना संक्रमितको संख्या ७९ लाख ४५ हजारभन्दा बढी छ भने २ लाख १९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

दोस्रो स्थानमा रहेको छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७० लाख ५३ हजारभन्दा बढी छ भने १ लाख ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीको तेस्रो स्थानमा ब्राजिल, चाैथोमा रुस, पाँचौँमा कोलम्बिया, छैठौँमा स्पेन, सातौँमा अर्जेन्टिना, आठौँमा पेरु, नवौँमा मेक्सिको र दशौँ स्थानमा फ्रान्स रहेको छ।