व्यासश्री सम्पादकीय

असोज ६, २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनले अहिले सिंगो देशनै तातेको छ । नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टीको यो महाधिवेशनलाई सबैतिरबाट अत्यन्तै चासो र अर्थपूर्ण रुपमा लिइएको छ । तर, यहीबीच, पार्टीभित्र देखिएका गुट उपगुट, अप्रजातान्त्रिक गतिविधीले पार्टीको समग्र अस्तित्वमाथि शंशय पैदा गरेको छ । साथै वडा, गाउँनगर, क्षेत्र, जिल्ला र प्रदेशमा हुने अधिवेशनले पनि काँग्रेसका नेता, क्षेत्रीय प्रतिनिधी र क्रियाशिल सदस्यहरुलाई शसंकित बनाएको छ ।

२१ औं शताब्दीमा पार्टीको नेतृत्व कस्तो हुनुपर्ने हो ? नीति, कार्यक्रम र योजनाहरु कस्ता हुनु पर्ने हुन् ? भन्ने प्रश्नहरु महत्वपूर्ण छ । तर यी प्रश्नहरुको समाधान भन्दा काँग्रेस गुट उपगुटको राजनीतिमा होमिएको छ भने जसरी पनि आफू नेतृत्वमा पुग्नै पर्ने दाउपेचमा नेताहरु लागेका छन् । जसले गर्दा काँग्रेसमा प्रजातान्त्रिक र लोकतान्त्रिक गतिविधीहरु भन्दा अप्रजातान्त्रिक र अलोकतान्त्रिक हर्कतहरु देखिन थालेका छन्, फलस्वरुप कार्यकर्ताहरु अन्यौलमा परेका      देखिन्छन् ।

आसन्न महाधिवेशनमा काँग्रेसभित्र अझै बढी गुट, उपगुट र पैसाको दबाबबाट डरलाग्दोसँग प्रभावित हुने प्रष्ट छ । जसरी भएपनि निर्वाचन जित्न पर्छ भन्ने प्रवृत्तिबाट कोही पनि माथि उठ्न सकेको देखिँदैन । हार्दिकता, सहकार्यता र समान अवसर भन्ने शव्दावली काँग्रेसका नेता कार्यकर्ताले विर्सिएको देखिन्छ । गुट र पैसाको भरमा हुने निर्वाचनले व्यक्ति र गुटलाई मात्रै जिताउँछ तर देश, जनता र पार्टीलाई सम्पूर्णरुपले हराउँछ र बरबाद गर्छ भन्ने कुराको चेतना नेता र कार्यकर्तामा देखिदैन् । निर्वाचनमा व्यक्तिले हार्न हुन्छ तर देश, जनता र लोकतान्त्रिक संस्कारले हार्न हुँदैन भन्ने मान्यता स्थापित गर्न काँग्रेसले सक्नु पर्छ ।

वास्तवमा, गुट भनेको स्वार्थ हो र यसले नीति, कार्यक्रम र योजना माथि छलफल र वहस गर्दैन । यसले नाफा नोक्सानका हिसाव किताव गर्दछ , आफ्नो र अर्काको भनेर छुट्याउँछ र बाँडी खाने र लुटी खाने प्रपञ्च यसको योजना र कार्यक्रम बन्छ । गुट कुनै निश्चित नेताको वरिपरि घुम्छ, अरुको कुरा काट्छ र आफ्नो स्वार्थ पूर्तिका लागि नेताले जे बोल भन्छ त्यही बोल्छ र गुटले बर्बाद गरयो भन्दै गोप्य कोठाभित्र बसेर झनै ठूलो गुट निर्माण गर्छ । आफू माथि विश्वास नभएका विचार र दृष्टिकोण शून्य भएका पदलोलुप व्यक्तिहरु गुटको सदस्य बन्छन् । यो विवेकहीन र मृत हुन्छ । यो विनासको घोतक हो । गुट र उपगुटको राजनीतिबाट काँग्रेस अलग रहन सकेन भने कांग्रेसको साख सकिन्छ ।

तसर्थ, नेपाली काँग्रेसले समग्र राजनीतिक शुद्धिकरणका लागि गुट र उपगुटको संस्कारलाई सदाका लागि अन्त्य गर्नुपर्छ र अन्य राजनीतिक पार्टीका लागि शिक्षा दिनुपर्छ ।