
बसन्त कंडेल
अंग्रेजी शिक्षकहरुको विश्वप्रसिद्ध संस्था आइटेफल (IATEFL) को ५५औं अन्तर्राष्ट्रिय सम्मेलन भर्खरै (मई १७ देखि २१ सम्म) बेलायतको आयरल्याण्ड राज्यको बेलफास्ट शहरमा सम्पन्न भएको छ । नेपालको प्रतिनिधित्व गर्दै सो सम्मेलनमा मैले आफ्नो अनुसन्धान पत्रको प्रस्तुती राख्ने अवसर प्राप्त गरें । नेपालबाट म संगै छनौट हुनु भएकी गंगा लक्ष्मी भण्डारी (उपप्राध्यापक, महेन्द्ररत्न क्याम्पस, काठमाण्डौं) ले पनि सो सम्मेलनमा आफ्नो अनुसन्धान पत्र प्रस्तुत गर्नुभएको थियो । विश्वप्रसिद्ध प्राज्ञिक मञ्चमा नेपालको तर्फबाट प्रस्तुती गर्न पाउँदा म रोमाञ्चित मात्रै होइन्, गौरवान्वित पनि भएको छु ।
५५ औं आइटेफल अन्तर्राष्ट्रिय सम्मेलन
बेलायतको आयरल्याण्ड राज्यको बेलफास्ट अन्तर्राट्रिय सम्मेलन केन्द्रमा विश्वका १५० भन्दा बढी देशबाट आएका करिव ३ हजार अंग्रेजी विज्ञ शिक्षकहरुको उपस्थिति आफैँमा कुम्भ मेला जस्तो थियो भन्दा फरक नपर्ला । विभिन्न जातीय र राष्ट्रिय पोशाकमा सजिएका शिक्षकहरुको प्रस्तुती र विषयबस्तु वास्तवमै अनौठो, रमाइलो र ज्ञानवर्धक थियो । सम्मेलनमा कूल ४८३ जना शिक्षकहरुले आफ्ना प्रस्तुती गरेका थिए । ६ दिने सो सम्मेलनमा बिहानी सत्रका प्रस्तुती, अंग्रेजी भाषाको शिक्षण गर्ने विधी र तरिकादेखि, अनुसन्धानका विविध पक्षहरु र माइन्डफुलनेसका सत्रहरु पनि आयोजना गरिएका थिए । सम्मेलनको उद्घाटन आइटेफलका अध्यक्ष ग्याब्रियल डायज म्यागियोलिले आफ्नो मन्तव्यबाट गरेका थिए । विश्वप्रसिद्ध सो संस्थाको उद्घाटनमा न कुनै तामझाम थियो न त कुनै अनावश्यक राजनीतिक भाषणबाजी । सम्मेलन विशुद्ध रुपमा अंग्रेजी विषय, भाषाको अध्ययन अध्यापनका साथै अनुसन्धानमा केन्द्रीत थियो । सायद नेपालमा भएको भए उद्घाटनका लागि प्रधानमन्त्री, मन्त्री र नेताहरुको तछाँडमछाँड हुन्थ्यो होला, भाषणबाजीले सम्मेलनको मर्मलाई भुलाइदिनसक्थ्यो ।

बेलफास्ट शहरको दक्षिणमा अवस्थित सुन्दर र शान्त लगान नदीको किनारमा अवस्थित भव्य र आधुनिक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको सो सम्मेलनको व्यवस्थापन पक्ष आर्कषक र लोभलाग्दो थियो । अत्याधुनिक प्रविधि जडित सभाकक्षहरुमा विभिन्न देशका डेलिगेट्स (विज्ञहरु)का बीच नेपालको राष्ट्रिय पोशाकमा सजिएर आफ्नो विषयवस्तुको प्रस्तुती गर्न पाउँदा गर्वले छाती फुल्यो अनि मातृभूमि नेपाल र उपस्थित विज्ञजनलाई हार्दिक नमन गरें ।
मेरो प्रस्तुती
मेरो अनुसन्धानको शीर्षक “ल्याङ्ग्वेज पोलिसी इन एजुकेशन : “अ क्रिटिकल एथनोग्राफी इन नेपाल्स स्कुल” र कार्यक्षेत्र तनहुँको व्यास नगरपालिका भएको हुनाले यस क्षेत्रको शैक्षिक भाषिक नीति र प्रयोगको अवस्थालाई मैले सम्मेलनमा प्रस्तुत गरेको थिएँ । विशेषतः मेरो प्रस्तुतीमा नेपालको संविधान, २०७२ ले स्थानीय सरकारलाई २२ वटा स्वायत्त अधिकारहरु प्रत्यायोजन गरेकोमा भाषा, लिपी, र संस्कृतिको विकास र संरक्षणका साथै शैक्षिक भाषा नीतिका विषयमा व्यास नगरपालिका सरकारले गरेका काम र गतिविधीहरुको जानकारी गराएको थिएँ । स्थानीय सरकार सञ्चालनको ५ वर्ष वितिसक्दा स्थानीय सरकारले भाषाको संरक्षण, सम्बर्धन, योजना र नीति निर्माणका पक्षमा उल्लेखनीय कामहरु गर्न नसकेको, परिणामस्वरुप, स्थानीय तहमा भाषिक अपचलन र मृत्युको सन्त्रास बढेको मेरो अनुसन्धान पत्रमा उल्लेख छ। साथै, स्थानीय सरकारले शिक्षा क्षेत्रमा भाषिक नीतिको निर्माणमा खासै चासो नदिएको, स्थानीय शिक्षा ऐन र नियमावली निर्माण गरिएतापनि त्यसको कार्यान्वयन पक्ष अत्यन्तै फितलो रहेको नतिजामा देखिएको छ । विद्यालयमा शैक्षिक भाषा नीतिको अवस्थामा एकरुपता नभएको, शिक्षक र विधार्थीले आफुँखुशी नीति लागु गरेको पाइएको र यस विषयमा सम्बन्धित सरकारका प्रतिनिधिले अनुगमन र अवलोकन नगरेकोे अनुसन्धानमा उल्लेख छ । स्थानीय सरकारले विद्यालयहरुमा पठनपाठनको माध्यम भाषाको रुपमा स्थानीय भाषा, नेपाली र अंग्रेजी भाषालाई लागु गर्न सकिने साथै माध्यमिक तहसम्म मातृभाषामा शिक्षा दिन सकिने भन्ने नेपालको संविधान प्रदत्त अधिकार पनि केवल कागजमा सीमित रहेको उल्लेख छ । समग्र नेपालका साथै व्यास नगरपालिकामा पनि विश्वव्यापीकरण प्रभावका कारण विद्यालयमा अंग्रेजी भाषाको दवदवा बढेको, आवश्यकता र देखासिखीका कारण अंग्रेजी माध्यममा पढाउनुपर्ने बाध्यता रहेको र अंग्रेजीको प्रभाव स्वरुप नेपाली भाषा र अन्य स्थानीय भाषाहरु विस्तारै ओझेलमा परेको तथ्य पनि मैले आफ्नो प्रस्तुतीमा राखेको थिएँ । २० मिनेटको मेरो प्रस्तुती पश्चात संयुक्त अधिराज्य, पाकिस्तान, भारत, नेपाल र चीनका सहभागी विज्ञहरुले अनुसन्धान र नतिजाका बारेमा जिज्ञासा राखेका थिए र त्यसबारेमा थप १० मिनेट अन्तर्किया भएको थियो । नेपालबाटै हामीसंग जानुभएका व्रिटिश काउन्सिलका अफिसर गौरव कुमार शर्माले सो क्रममा आवश्यक सहयोग र सहजीकरण गर्नुभएको थियो ।

सम्मेलनका अवधिका विभिन्न दिनहरुमा आइटेफलका अध्यक्ष डा. ग्याब्रियल डायज म्यागियोलि, पूर्व अध्यक्ष डा.ह्यारी कुचा कुचा, डा.एड्रिन अन्डरहिल, डा. अलान म्याली, डा. रिचार्ड स्मीथ, डा. साउन, डा.म्यागी सोकोलिक लगायतका अंग्रेजीका विश्वविख्यात विद्धानहरुसंग नेपालमा अंग्रेजी भाषाको अध्ययन, अध्यापन र अनुसन्धानका बारेमा केही अन्तरक्रिया गर्ने अवसर पनि जुट्यो ।
साथै सम्मेलन स्थलमा विश्वप्रख्यात प्रकाशन गृह र रिसर्च सेन्टरहरुको प्रदर्शनी पनि रहेकाले पाँच दिनसम्मै सो परिसरमा पुगेर विभिन्न जानकारी र उपहारहरु प्राप्त गरियो । मैले नेपाली पोशाक दौरा, सुरुवाल, कोट र टोपी लगाएकाले पनि हुनसक्छ कतिपयले टाढैबाट चिन्दथे र परिचय पश्चात फोटो खिच्ने प्रस्ताव राख्दथे । नेपालको राष्ट्रिय पोशाकले दिएको पहिचानलाई मैले ह्दयदेखिनै आत्मसाथ गरे ।
अध्ययन, अनुसन्धान र सपना
वास्तवमा, म विगत २ वर्षदेखि व्यास नगरपालिकालाई कार्यक्षेत्र बनाएर “स्थानीय सरकार र भाषानीति” का विषयमा “क्रिटिकल एथनोग्राफीक” अनुसन्धान गर्दै आएको छु । त्रिभुवन विश्वविद्यालय अन्तर्गत विद्यावारिधिको शोधार्थीका रुपमा मैले नगरपालिकाका हरेक गतिविधी, नीति, योजना र सूचनाहरुलाई गहन रुपमा व्याख्या विश्लेषण गरिरहेको छु । विशेषतः भाषा नीति र शैक्षिक भाषा नीतिका क्षेत्रमा मेरो अध्ययन केन्द्रीत भएकाले यससंग हुने हरेक गतिविधि मेरो अध्ययनको चासो र क्षेत्र हुने गर्दछ । आदिकवि भानुभक्त क्याम्पसमा नियमित अध्यापनका साथै मेरो अध्ययन–अनुसन्धानको एउटा पक्षका रुपमा रहेकोे शैक्षिक भाषा नीतिका बारेमा व्यास नगरपालिकाका १४ वटै वडाहरुमा पुगेर विभिन्न विधालय, शिक्षक, विधार्थी, अभिभावक र जनप्रतिनिधिहरुसंग गरिएको अध्ययनको सार संक्षेप र प्रस्तावना पत्र अंग्रेजी भाषा शिक्षकहरुको विश्वप्रसिद्ध संस्था आइटेफल (IATEFL) को ५५औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि पेश गरेको थिएँ । अध्ययनका क्रममा राम्रै मेहनत गरेको र त्यसको व्याख्या, विश्लेषण र निष्कर्ष पनि सन्तोषजनक रहेकोले मेरो प्रस्तावना पत्र सो सम्मेलनका लागि स्वीकृत हुनेमा आशावादी थिएँ । “परिश्रमको फल मीठो हुन्छ” भनेजस्तै सन् २०२१ नोभेम्वर २४ तारिखमा मेरो अनुसन्धान पत्र प्रस्तुती स्वीकार भएको बधाई सहितको इमेल सम्मेलनका संयोजक सारा वार्डबाट प्राप्त भयो । त्यसपछि खुशीको सीमानै रहेन्, तर खुशी संगै यो अन्तर्राष्ट्रिय सम्मेलनमा कसरी सहभागी हुन सकिन्छ भन्ने चिन्ताले झन पिरोल्न थाल्यो ।
त्यसको केही दिनपछि नेपाल अंग्रेजी भाषा शिक्षक संगठन (नेल्टा) का तालिम संयोजक बिकास रिमाल र केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवानलाई यस बारेमा जानकारी गराएँ र आवश्यक सहयोग गरिदिन अनुरोध गरे । उहाँहरुको सल्लाह बमोजिम मलाई आइटेफलबाट पठाइएका इमेल र निमन्त्रणाहरु शेयर गरे । मेरा कागजात, इमेल र प्रस्तावना पत्रहरु नेल्टाले नेपालस्थित व्रिटिश काउन्सिलमा पठायो र सम्मेलनमा सहभागी हुन र प्रस्तुती गर्नका लागि आवश्यक सहयोग गरिदिन पनि संस्थागत रुपमा आग्रह गर्यो । कोभिड–१९ को महामारी पश्चात भर्खरै तङ्ग्रिएको नेपाल र विश्व समुदायका कारण काउन्सिलले तत्कालै निर्णय दिन सकेन् । मनमा हुटहुटी चलिरहन्थ्यो कतै कोभिडको वहानाले मेरो एउटा प्राज्ञिक सपनामा कुठाराघात नहोस् । विगत १८ वर्षदेखि अंग्रेजी विषयको शिक्षक/प्राध्यापक हुनुको नाताले जीवनको एउटा लक्ष्य/सपना थियो कि अंग्रेजी भाषा शिक्षकहरुको विश्वप्रसिद्ध संस्था आइटेफल वा टिसोलका सम्मेलनहरुमा प्रत्यक्ष पुगेर प्रस्तुती गर्न सकौं । स्नातक र स्नातकोत्तर तहका विधार्थीहरुसंगको छलफल र अध्यापनका क्रममा अंग्रेजी भाषाका विश्वव्यापी पेशागत संगठनहरुका बारेमा जानकारी पनि दिदैं आएको छु । वर्तमानमा म नेल्टा तनहुँको सचिव हुँदै उपाध्यक्ष पदको जिम्मेवारीमा पनि छु । विभिन्न तालिम, सेमिनार र गोष्ठीहरुमा पेशागत संगठनको महत्व र आवश्यकताका बारेमा अनुभवहरु आदानप्रदान पनि हुने गरेको छ । कक्षाकोठाका सीमित घेरामा रहेर पाठ्यपुस्तकका सीमित पानाहरु रटाउनु र घोकाउनु भन्दा शिक्षण सिकाई प्रक्रियालाई अनुसन्धानमूलक बनाउनु पर्दछ भन्ने वकालत मैले आफ्ना कक्षाहरुमा गर्दै आएको छु । अनुसन्धानको मर्म, दायरा र महत्व नबुझ्नेहरुका लागि यो फगत एक आदर्शबादी विचार हुन सक्छ, नत्र आधुनिक शिक्षण सिकाई कार्यगत अनुसन्धानद्धारा निर्देशित भई समाधानमूलक हुनपर्दछ भन्नेमा मेरो अडान छ ।
हुनत, गतवर्ष मात्रै क्यानडामा भएको भाषा नीति र योजना सम्बन्धि भर्चुअल सम्मेलन, नेपालमा भएको टिसोल–नेल्टा सम्मेलन, नेल्टाका अन्य २ वटा अन्तर्राष्ट्रिय सम्मेलन, मार्टिन चौतारीको राष्ट्रिय सम्मेलन, त्रिभुवन विश्वविधालयको अंग्रेजी विभागद्धारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनहरुमा मैले आफ्नो अनुसन्धान क्षेत्रका विषयवस्तुहरुमा रहेर प्रस्तुती गरिसकेको थिएँ र त्यसै विषयमा आधा दर्जन जति लेखहरु पियर रिभ्यूड जर्नलहरुमा प्रकाशन भइसकेको छ । तर यस पटक भने विदेशी भूमिमा नै पुगेर प्रस्तुती गर्ने एक उत्कण्ठ इच्छा थियो । त्यसमा पनि मेरो अध्ययन क्षेत्र अन्तर्गत रहेको व्यास नगरपालिकाको विषयवस्तुलाई विश्वमाझ प्रस्तुत गर्ने सपनाले मलाई लालायित बनाएको थियो । अन्ततः सपना यथार्थमा बदलिने भयो, अर्थात व्रिटिश काउन्सिलले म र गंगालक्ष्मी म्याडमलाई सम्मेलनको दर्ता र भिसा शुल्कदेखि हवाई टिकट, आवासखर्चहरु पूर्णरुपमा प्रायोजन/सहयोग गर्ने भन्ने व्यहोराको इमेल व्रिटिस काउन्सिलका अंग्रेजी भाषा विभाग प्रमुख भोगेन्द्र लामिछाने र प्रोजेक्ट अफिसर राधा पुनबाट प्राप्त भयो । काउन्सिलका नेपाल निर्देशक शाहिदा म्याकडगलबाट पनि सम्मेलनमा जान लाग्ने सम्पूर्ण खर्च बेहोरिने साथै भ्रमणका लागि भिसा उपलब्ध गराइदिन दिल्लीस्थित व्रिटिश उच्च आयोगलाई लेखिएको पत्र प्राप्त भयो । एकपटक फेरि खुशीले सीमा नाघ्यो ।
यात्रा बेलायतको
अन्ततः मई १३ गते बेलायतको भिसा हात पर्यो । मई १७ देखि शुरु हुने सो सम्मेलनको तालिकालाई मध्यनजर गर्दै मई १५ तारिखमा म, गंगालक्ष्मी म्याडम र व्रिटिस काउन्सिलका अफिसर गौरव कुमार शर्मा काठमाण्डौंबाट कतारको राजधानी दोहा हुँदै बेलायतको म्यानचेष्टर पुग्यौं । १३ घण्टाको हवाई यात्रा र १४ घण्टाको ट्राञ्जिट पश्चात म्यानचेष्टर हुँदै हामी सम्मेलनस्थल वेलफास्ट पुग्यौ । पर्यटकीय नगरीको रुपमा परिचित वेलफास्ट शहरको मोहिनी रुपले आकाशमार्गबाटै हामीलाई मन्त्रमुग्ध बनाएको थियो । सम्मेलनका सेसनहरु सकिएपछिको अवधिमा साँझ पख हामीले वेलफास्ट शहरका विभिन्न ठाउँहरुको भ्रमण पनि गर्यौं । आफ्नो प्रस्तुतीका लागि सम्मेलनमा आउनुभएका र हाल बेलायतको लण्डनमा प्राध्यापन गर्नुहुने मेरो आदरणीय गुरुआमा डा. सरस्वती दवाडी र लण्डनमै रहनुहुने हर्नवी ट्रष्टकी स्कलर ज्ञानु दाहाल र उहाँकी ८ वर्षीया छोरी सहित सिटी बसमा चढेर त्यहाँका विश्वविधालय, विधालय, संग्रहालय र ग्रामीण बस्तीहरुमा पुग्दाको अनुभव र यात्रा अनुपम र अविस्मरणीय छन् । ६ दिनसम्मको वेलफास्ट बसाईको क्रममा नेपाली र भारतीय रेष्टुरेण्टमा पुगेर नेपाली र भारतीय परिकारमा रमाउँदाको अनुभव पनि नौलो बनेको छ । वेलफास्टको केन्द्रमा रहेको चार तारे होटल म्यालड्रनको सुविधासम्पन्न बसाई, स्वादिलो खाजा, खानादेखि मर्सिडिज कार र मेट्रो ट्रेनको यात्रा जीवनमा नौला अनुभवहरु थिए । स्वीचिङ र कार्ड सिस्टममा चलेका विधुतीय भर्याङ, सवारी साधन, होटलका कोठादेखि र डिपार्टमेन्टल स्टोरका आर्कषक गेट र व्यापार व्यवसायले मलाइ लठ्याईरहेको हुन्थ्यो भने नेपालको अस्तव्यस्ततालाई सम्झिँदा मनमा चहर्याइरहेको हुन्थ्यो । सफा, शान्त र चिटिक्क परेका सडक, यूरोपियन शैलीका घरहरु, गगनचुम्बी होटल र डिपार्टमेन्टल स्टोर्स र बसन्त ऋतुको आगमनसंगैको हरियाली वातावरण साँच्चिकै चित्ताकर्षक थिए जुन प्रायः जसो यूरोपियन शहरका विशेषतानै बनेका छन् ।

पूर्व निर्धारित तालिका अनुसार ६ दिने सम्मेलनको समापन कार्यक्रम पश्चात हामी बेलफास्टबाट लण्डनको हिथ्रो विमानस्थलबाट कतारको राजधानी दोहाहुँदै मई २२ तारिखको १० बजे त्रिभुवन विमानस्थलमा ओर्लियौं ।
अन्त्यमा,
वास्तवमा, तनहुँको व्यास नगरपालिकामा अवस्थित समुदायबाट सञ्चालित आदिकवि भानुभक्त क्याम्पसको दैनिकी र कक्षाकोठाको परिधिबाट केही माथि उठेर आइटेफलसम्मको प्राज्ञिक यात्रा गर्न पाउँदा मलाई खुशी लागेको छ । आफूलाई कक्षाकोठा र निश्चित विषयबस्तुको सीमित घेराभित्र मात्रै राखेर थप अध्ययन–अनुसन्धानका क्षेत्रमा नलागेको भए सायद जीवनमा यस्ता विश्वप्रसिद्ध सम्मेलनहरुमा सहभागी हुने र प्रस्तुती गर्ने धोको अधुरै रहने थियो होला । राजधानीमा कार्यरत विश्वविधालयका प्राध्यापकहरुका लागि अन्तर्राष्ट्रिय सम्मेलनहरुमा सहभागी हुने र प्रस्तुती गर्ने विषय सामान्य जस्तै लाग्न सक्छ तर राजधानी बाहिर दुरदराजका सामुदायिक विधालय र क्याम्पसहरुमा प्राध्यापन गर्ने शिक्षक/प्राध्यापकहरुका लागि यो चानचुने होइन् रहेछ, जुन मैले वेलायत पुगेर अनुभव गरें । सम्मेलनमा सहभागी शिक्षकहरु आइटेफल र सम्मेलन आयोजकको कठोर छनौट प्रक्रियाबाट छानिएर विषय विज्ञका रुपमा त्यहाँ उपस्थित भएका थिए । सुविधासम्पन्न विश्वविद्यालयमा प्राध्यापन गर्ने अन्य देशका प्राध्यापकहरुसंगको प्रतिष्पर्धामा उत्रिएर आफ्नो प्रस्तावना पत्र स्वीकार हुनु, व्रिटिश काउन्सिल जस्तो विश्वविख्यात संस्थाको पूर्ण आर्थिक सहयोग हुनु वास्तवमै उपलब्धिपूर्ण कार्य हो भन्ने मैले नेपाल फर्केपछि आत्मबोध गरेको छु । वरिष्ठ प्राध्यापकहरु, सहकर्मी साथीहरु र इष्टमित्रले दिएको बधाई र शुभेच्छाले म कृतज्ञ छु । नेपालमा कार्यरत प्राध्यापकका लागि एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनका लागि करिव ५/६ लाख रुपैया खर्चको जोहो गर्नु, र बेलायतको भिसा लगाउनु वास्तवमै असम्भव जस्तै रहेछ, तर अध्ययन, अनुसन्धान र लगनशीलताले असम्भव पनि सम्भव बनाउन सकिदों रहेछ, मैले आर्जन गरेको ज्ञान यहि हो । अन्य देशका कतिपय विज्ञहरुले आफ्नै खर्चमा सम्मेलनमा भाग लिनुपर्दाको पीडा र आर्थिक बोझका बारेमा दुःखद अनुभव पनि साटेका थिए, जुन कुराले मलाई पीडाबोध गराउँछ । नेपालमा शिक्षक/प्राध्यापकको आयआर्जनबाटै विदेशका सम्मेलनहरुमा सहभागी हुन सक्ने आर्थिक हैसियत निर्माण हुन नसक्नु हाम्रो पेशाकै सबैभन्दा कमजोर र दुःखद् पक्ष हो । योग्य र सक्षम भए पनि आर्थिक अभावका कारण सपनाहरु तुहाएर बस्नुपर्ने वाध्यता हामी सामु छ । हामी कार्यरत संस्थाहरुले शिक्षक/प्राध्यापकहरुको थप प्राज्ञिक उन्नयनका लागि आर्थिक व्ययभार धान्न सक्ने सामर्थ्य बनाएका छैनन् । सम्भवतः विदेशी दातृ निकाय वा संस्थाको सहयोग विना नेपालका विज्ञहरु विदेशका सम्मेलनहरुमा सहभागी हुन असम्भव प्रायः छ । आफ्नो पेशा र वित्तिय हैसियतको सीमितता मलाई यतिबेला आत्मवोध भएको छ । सायद, व्रिटिश काउन्सिलले सहयोग नगरेको भए मेरो एउटा प्राज्ञिक सपना चकनाचुर हुने थियो । यस अर्थमा पनि म व्रिटिश काउन्सिल र नेल्टा केन्द्रीय समितिलाई ह्दयदेखिनै आभार प्रकट गर्दछु । साथै, अध्ययन–अनुसन्धान र यात्राका क्रममा साथ, समर्थन र सहयोग गर्ने आदिकवि भानुभक्त क्याम्पस परिवार, व्यास नगरपालिका परिवार, अनुसन्धानका सहभागीहरु, र परिवारका सदस्यहरुलाई हार्दिक धन्यवाद । यात्राको तारतम्यमा विशेष सहयोग गर्ने प्रिय भाई सौगातप्रति आभारी छु ।
(कंडेल आदिकवि भानुभक्त क्याम्पस, तनहुँका उपप्राध्यापक हुन् ।)




