सम्पादकीय

स्थानीय तहको निर्वाचनको मिति आइपुग्न जम्मा ५ दिन मात्रै बाँकी छ । निर्वाचनको मिति नजिकिँदै जाँदा तनहुँको राजनीति र चुनावी माहौल निकै तातेको छ । राजनीतिक दलहरु आफ्ना उम्मेदवारहरु सहित भोट माग्नका लागि घरदैलोमा पुगेका छन् भने चुनाव लक्षित र्याली, भेला, प्रचारप्रचार र शक्ति प्रदर्शनले सम्पूर्ण वातावरण चुनावमय भएको छ ।

तनहुँमा यसपटकको चुनावमा निकै रस्साकस्सी हुने पक्का छ भने कुन राजनीतिक दलका कुन उम्मेदवारले बाजी मार्नेछन् भन्ने आँकलन गर्न मुस्किल परेको छ । राजनीतिक दलहरुका बीच भएको गठबन्धनका कारण पनि चुनावी परिणामको अड्कलबाजी विगतमा जस्तो सजिलो छैन् । चार नगरपालिका र छ गाउँपालिका रहेको तनहुँमा स्थानीय तहको निर्वाचनमा मुख्यतः नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्र्टी, जनमोर्चा नेपाल, नयाँ शक्ति नेपाल, संघीय समाजवादी लगायतका दलका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने छ ।

तनहुँको १० वटा तहमा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु गरी कुल ५३० उम्मेदवार निर्वाचित हुने छन् । निर्वाचनका लागि तनहुँमा १३६ मतदानस्थल र २९७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनकालागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन गरिएको छ । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त भएका छन् । वैशाख २७ गतेभित्र मतदान अधिकृत, सहायक मतदान अधिकृत नियुक्त गरेर मतदानस्थलमा खटाइसक्ने तयारी गरिएको छ भने उनीहरुलाई प्रशिक्षण पनि दिइसकिएको छ ।

जिल्लामा कूल मतदाता २ लाख ४४ हजार ३४० मतदाता रहेका छन् । जसमध्ये आँबुखैरेनी गाउँपालिकामा १३६३१, ऋषिङ गाउँपालिकामा १८२३८, घिरिङ गाउँपालिकामा १४६७६, देवघाट गाउँपालिकामा १२८१५, बन्दीपुर गाउँपालिकामा १५६३८, भानु नगरपालिकामा ४०४९६, भिमाद नगरपालिकामा २४८८४, म्याग्दे गाउँपालिकामा १८१०५, व्यास नगरपालिकामा ४७५४२, र शुक्लागण्डकी नगरपालिकामा ३८३१५ जना रहेका छन् ।

यस पटकको निर्वाचनमा मतदाता शिक्षा र अनुभवका आधारमा पनि असल, योग्य र क्षमतावान उम्मेदवार निर्वाचित होस् र गाउँ नगरको विकासमा योगदान गरोस् भन्ने सबैको अपेक्षा छ । निर्वाचन प्रतिस्पर्धात्मक नै हुन्छ, तथापि यस पटकको निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा होस् भन्ने चाहना पनि आम मतदाताको छ ।

समग्रमा गाउँनगरको विकासका लागि हाम्रा र हाम्रो पार्टीको भन्दा पनि राम्रा र योग्य उम्मेदवारहरु छनौट होउन् र स्थानीय निकायको विकासमा ध्यान दिउन्, आम मतदाताको अपेक्षा र चाहना यत्ति छ । तसर्थ, अत्यन्तै सुझबुझका साथ मतदान गरौं र योग्य व्यक्तिलाई जिताऔं ।