
गतहप्तादेखि तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गरेको छ, जसले गर्दा हजारौं सेवाग्राही मर्कामा परेका छन् ।
कार्यालयले विहीबार एक सूचना जारी गर्दै विशेष कारणवश दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटोरिक्सा र ट्रयाक्टरको सवारी चालक अनुमतिपत्रका लिखित तथा प्रयोगात्मक परीक्षासम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको छ । जसकारण फाराम भरेर प्रतिक्षा सूचीमा रहेका हजारौं परीक्षार्थी परीक्षाबाट वञ्चित भएका छन् । बैदेशिक रोजगारीका लागि प्रक्रियामा रहेका कतिपय परीक्षार्थीहरु ‘ट्रायल सेन्टर’ को काम रोकिएपछि विलखबन्दमा परेका छन् । लाइसेन्स लिएर विदेश जान प्रतिक्षामा रहेका उनीहरु अबको तीन महिनासम्म परीक्षा दिन नपाउने भएपछि झनै चिन्तित बनेका छन् ।
गोप्य श्रोतका अनुसार सार्वजनिक जग्गा मिचेर ‘ट्रायल सेन्टर’ बनाएको जनाउँदै अख्तियार दुरुपयोग अनुन्धान आयोगमा उजुरी परेको जनाइएको छ । त्यसैले आयोगले यस विषयमा छानबिन गरेकाले तत्कालका लागि प्रयोगात्मक परीक्षा स्थगित गर्न कार्यालयलाई निर्देशन दिएको थियो ।
कार्यालयले विसं २०७९ कात्तिकबाट सवारी चालक अनुमतिपत्रको ट्रायल जिल्लाबाटै सुरु गरेको थियो । त्यसअघि ट्रायलका लागि पोखरा जानुपर्दथ्यो । विमलनगरमा यातायात कार्यालय सञ्चालन भएपछि तनहुँ लगायत गोरखा, लमजुङका सर्वसाधारणलाई पनि निकै सहज भएको थियो तर कार्यालयको सेवा अचानक ठप्प भएपछि तीन जिल्लाका सेवाग्राही मारमा परेका छन् ।
यस क्षेत्रका नागरिकका लागि निकै सहज बनेको सो यातायात व्यवस्था कार्यालयको सेवा पुनः सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । यदि सो ठाउँबाट सेवा प्रवाह गर्न सहज नभएमा अन्य ठाउँमा विकल्प खोजेर भएपनि सो सेवा तत्कालै सूचारु गर्नुपर्ने उनीहरुको माग छ ।
नागरिकको यो समस्याप्रति सम्बन्धित निकायको ध्यान छिट्टै पुगोस् । नागरिकलाई राज्यको सेवासुविधाबाट वञ्चित नगराइयोस् ।




