त्रिभुवन विश्वविद्यालयअन्तर्गत पृथ्वीनारायण क्याम्पस पोखरा, नेपाली शिक्षा विषयका उपप्राध्यापक विष्णुप्रसाद शर्मालाई विद्यावारिधि उपाधि प्राप्त भएको छ ।

शर्मालाई `नेपाली भाषा कक्षामा सिकाइ सहजीकरण´ शीर्षकको विद्यावारिधि कार्यका लागि त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय अनुसन्धान समितिको मिति २०८१ जेष्ठ ४ गते बसेको बैठकले उक्त उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।

शर्माले अनुसन्धानका क्रममा स्याङ्जा र कास्की जिल्लाअन्तर्गत माध्यमिक तहको नेपाली भाषा कक्षामा केन्द्रित रही सम्बन्धित शिक्षक अभिभावक र विद्यार्थीसँग पुगेर गहन अन्तर्वार्ता, लक्षित समूह छलफल र कक्षा अवलोकन उपकरणका माध्यमबाट तथ्याङ्क सङ्कलन र विश्लेषण गरी सिकाइ सहजीकरणका सैद्धान्तिक र व्यवहारिक पक्षको खोजी गरेका छन् ।

अध्ययनबाट योजनाबद्ध सिकाइ सहजीकरण नै सफल सिकाइको आधार हो भन्ने निष्कर्ष प्राप्त भएको बताइएको छ। यसका लागि निरन्तर रुपमा गरिने सिकारुमैत्री र सहभागितामूलक शैक्षणिक योजना निर्माण, सोहीअनुसार उद्देश्यको चयन, शैक्षणिक सामग्रीको निर्माण, विधिको उपयोग, अभिलेख निर्माण र त्यसको प्रयोगबाट गरिने सिकाइ सहजीकरण नै अर्थपूर्ण हुने तथ्यमा जोड दिइएको छ । शर्माले यसअघि नै दर्शनाचार्य तहको अध्ययनका क्रममा `नेपाली व्याकरण शिक्षणमा पाठ र सन्दर्भको उपयोग´ शीर्षकमा व्याकरण शिक्षणलाई सैद्धान्तिक र परिभाषा केन्द्रित विधिबाट नसिकाई प्रयोग र अभ्यासद्वारा कार्यमूलक शैलीमा पाठ र सन्दर्भ प्रयोगका माध्यमबाट सिकाउन सकिने प्रस्ताव गरेका छन्।

अली मियाँ लोक वाङ्मय पुरस्कार २०८० बाट समानित शर्माका करिब तीन दर्जन अनुसन्धानमूलक लेख र एक दर्जन पुस्तकाकार कृति प्रकाशित छन् भने आधा दर्जन जति लघुअनुसन्धान सम्पन्न भएका छन् । शर्मा हाल सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराका अध्यक्ष समेत रहेका छन् ।