ढिलै भएपनि तनहुँको व्यास नगरपालिकाले विद्युतीय कर भुक्तानी (इ–पेमेन्ट) सुरुवात गरेको छ, जसलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ ।

विद्युतीय कर भुक्तानी सेवा सुरु भएपछि नगरवासीले कर तिर्नकै लागि नगरपालिका कार्यालयमा घण्टौंसम्म लाइन बस्नुपर्ने झंझट हट्ने भएको छ भने समयको बचत पनि हुने भएको छ । नगरपालिकाले धेरै वर्ष अघिनै शुरु गर्नुपर्ने सो कार्य हालै सञ्चालन गरे पनि सो कार्यलाई नगरबासीले सकारात्मक रुपमा लिएका छन् ।

डिजिटल प्रणालीको युगमा घरमै बसेर नगरपालिकाको सेवा लिन सकिने गरी बिहीबारबाट सो सेवाको शुभारम्भ गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेको भनाई छ । सो प्रणाली अन्तर्गत मालपोत कर, यवसाय कर, घर जग्गा बहाल कर लगायतको विद्युतीय भुक्तानी गरिने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । अब देखि व्यास  नगरबासीले घरमै बसेर आफ्नो करदाता पोर्टल र इन्टरनेटको मध्यमबाट विभिन्न अनलाइन एपबाट भुक्तानी गर्न सकिने गरि सो सेवा सञ्चालन भएको बताइएको छ ।

गण्डकी प्रदेश सरकारको सहकार्यमा शुरु भएको सो सेवाले नगरपालिकाको सेवालाई पारदर्शी बनाउनपनि सहयोग पुर्याउने देखिन्छ, जुन अत्यन्तै सकारात्मक हो ।

तनहुँकै प्रमुख मानिने व्यास नगरपालिका कार्यालयले शुरु गरेको विद्युतीय कर भुक्तानी प्रणाली जिल्लाका अन्य पालिकाहरुमा पनि क्रमशः विस्तार गर्दै लैजानु पर्दछ । तर त्यसका लागि नगरबासी र उपभोक्ताहरुमा डिजिटल साक्षरताको आवश्यकता पर्दछ जसका लागि नगरपालिकाले उचित तालिम र गोष्ठीको आयोजना गर्नु जरुरी छ ।

साथै नगरपालिकाहरुमा कर्मचारी नियुक्ती गर्न आर्थिक भार भएको भन्ने गुनासो आइरहेकोमा विद्युतीय कर प्रणालीले सो भारलाई कम गर्न पनि सहयोग गर्ने निश्चित छ । अनावश्यक रुपमा कर्मचारी भर्ती गर्नुभन्दा प्रभावकारी विद्युतीय शासन प्रणाली अवलम्बन गर्न सकेमा नगरपालिका र नगरवासी दुवै पक्षलाई सहज हुनेछ । यसतर्फ सम्बन्धित निकायको ध्यान र दृष्टि पुग्नु जरुरी छ ।