यातायात व्यवस्था कार्यालय तनहुँले चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा असार २३ गतेदेखि पुनः सञ्चालनमा ल्याउने भएको छ । तीन महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको कारण कार्यालयको सेवा ठप्प भएपछि दैनिक सयौं सेवाग्राही मारमा परेका थिए ।

बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको कार्यालयले यही आइतबारदेखि सबै सेवा सूचारु गर्ने जानकारी दिएको छ । सवारी चालक अनुमतिपत्रका लिखित तथा प्रयोगात्मक परीक्षासम्बन्धी सम्पूर्ण कार्य पुनः सञ्चालन हुने कार्यालयका निमित्त प्रमुख कमला द्धारेले जानकारी दिइन् ।

सार्वजनिक जग्गा मिचेर ‘ट्रायल सेन्टर’ बनाएको जनाउँदै अख्तियार दुरुपयोग अनुन्धान आयोगमा उजुरी परेको थियो आयोगले यस विषयमा छानबिन गरेकाले तत्कालका लागि प्रयोगात्मक परीक्षा स्थगित गर्न कार्यालयलाई निर्देशन दिएको थियो । यातायात कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।

विसं २०७८ फागुन २७ गते स्थापना भएको यातायात कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समेत समस्या हुँदै आएको छ । दरबन्दीअनुसारका कर्मचारीको अभाव, करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्दा समस्या हुने गरेको छ ।

पन्ध्र स्थायी र दुई अस्थायी गरी १७ जनाको दरबन्दी रहेकामा कार्यालयमा पाँच स्थायी र छ करार गरी १३ कर्मचारी कार्यरत छन् । कार्यालयले विसं २०७९ कात्तिकबाट सवारी चालक अनुमतिपत्रको ट्रायल जिल्लाबाटै सुरु गरेको थियो । त्यसअघि ट्रायलका लागि पोखरा जानुपर्दथ्यो ।

कार्यालयले सोही वर्षको साउन १५ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु गरेको थियो । कार्यालयमा सवारी साधन दर्तासमेत हुन्छ । यसले गर्दा तनहुँ लगायत गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज भइरहेको थियो ।

विसं २०७१ देखि यातायात व्यवस्था सेवा कार्यालयको रुपमा काम गर्दै आइरहेको कार्यालय विसं २०७८ फागुन २७ गते यातायात व्यवस्था कार्यालयको रुपमा स्थापना भएको हो । कार्यालयले सवारी चालक अनुमतिपत्र वितरण, नवीकरण र सवारी साधन दर्ता, नामसारी सेवा दिँदै आएको थियो ।