
पर्यटन पार्क, सभागृह, बसपार्क, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा पूर्वाधार निर्माण

बिमला दुवाडी
महर्षि वेदव्यासको तपाोभूमि एवं सुन्दर पर्यटकीय नगर दमौलीलाई व्यवस्थित सहरको रुपमा विकास गर्नका विभिन्न पूर्वाधारहरु निर्माण गरिएका छन् भने अन्य पूर्वाधारहरुको निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइएको छ । देशमा संघीयता र स्थानीय सरकारको अवधारणा आइसकेपछि जनप्रतिनिधीहरुको सक्रियता स्वरुप व्यास नगरपालिका लगायतका केही स्थानीय निकायमा आमूल परिवर्तन देखिन थालेको छ ।
देशका अन्य सहरका तुलनामा विकासका भौतिक पूर्वाधार न्यून भएका कारण ओझेलमा परेको दमौली बजारलाई व्यवस्थित सहरको रुपमा विकास गर्न स्थानीय सरकार कस्सिएको छ । व्यास नगरपालिका कार्यालयको योजना अनुसारनै दमौली बजारलाई नेपालकै नमूना सहर बनाउने अभियान चलाइएको छ । जसअन्तर्गत दमौलीमा विकास निर्माणका गतिविधी र पूर्वाधार निर्माणको कार्यलाई तिव्र रुपमा अगाडि बढाइएको छ । २०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय निकायको निर्वाचन पश्चात चुनिएर आएका जनप्रतिनिधीहरुको अग्रसरता र कर्मचारीहरुको लगावका कारण दमौली बजार र व्यास नगरपालिकाका अन्य वडाहरुमा विकास निर्माणका कार्यले गति लिएको छ । दमौलीमा विशेष गरेर सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, विधुत, संचार, धार्मिक र सामाजिक क्षेत्रमा बृहत्तर कार्य र गतिविधीहरु सञ्चालन गरिएका छन् ।

दमौलीमा अहिले बसपार्क, नेपालकै सबैभन्दा लामो चौतारी, लगायत विभिन्न वडाहरुमा सडक, खानेपानीको निर्माण कार्य सम्पन्न भइसकेको छ भने आधुनिक र आकर्षक सभागृह, पर्यटन पार्क, खेलकुद मैदान, १०८ फीट उचाईको व्यासमूर्ति साथै अन्य बृहत्तर योजनाहरुको निर्माण कार्यलाई गति दिइएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । योजनाअनुसार विकास निमाणको कार्य र अन्य संरचना बनिसकेपछि व्यास नगरपालिका व्यवस्थित र सुसज्जित बन्नेमा दुइमत नरहेको न्यौपानेको दावी छ ।
दमौली स्थित कराङकाठमा व्यवस्थित बाटो र जमिन उठाएर निर्माण गरिएको बसपार्क गत वर्षनै सञ्चालनमा आएको छ । दमौली तथा आसपासका भागबाट पृथ्वी राजमार्गमा सोझै जोड्ने गरी बसपार्कको संरचना तयार गरिएको छ । यसका साथै नगरपालिकाकै पहलमा पृथ्वी राजमार्गको दमौली बजार खण्डमा दायाँ र बाँया अस्थायी पार्किङको व्यवस्था गरिएपछि राजमार्गमा सवारी आवागमन सहज भएको छ भने सडक जामको अवस्था हटेको छ । त्यसैगरि, व्यास ३ मा सात सय ५० जना क्षमताको जिल्ला सभागृह अनुमानित ३३ करोडको लागतमा निर्माण भइरहेको छ । दुई तल्ले अपांगतामैत्री सिटी हल परिसरमा आधुनिक पार्किङ संरचना हुनेछन् ।

दमौलीको केन्द्र भागमा रहेको अनसन चौतारीलाई मर्मत सम्भार गरेर निकै आकर्षक बनाइएको छ । नेपालकै सबैभन्दा लामो चौतारीको रुपमा व्यवस्थित तरिकाले निर्माण गरिएको सो चौतारी र वरपरको क्षेत्रलाई प्रविधीमैत्री (वाइफाई जोन) बनाइएको छ । त्यसैगरि व्यास ५ पाटनस्थित महर्षि वेदव्यासका पिता महर्षि पराशरले तपस्या गरेको पराशर गुफा तथा आसपासका सार्वजनिक जमिनको उपयोग गरी व्यवस्थित ‘व्यास–पराशर पार्क’ को निर्माण कार्य पनि दु्रत गतिमा अगाडि बढाइएको छ । व्यास तथा पराशरको भूमिमा पर्यटकीय हिसाबले समेत सो पार्कको विशेष महत्व रहने छ ।

साथै दमौलीमा रहेको खुला चौरलाई आकर्षक कम्पाउण्ड र तारबार सहित व्यवस्थित बनाइएको छ । सोही स्थानमा बास्केटबल कोर्ट पनि निर्माण गरिएको छ । त्यसैगरि दक्षिणी भेगमा रहेको विपी बनवाटिकाको खुला चौरलाई पनि व्यवस्थित रंगशाला निर्माण बनाउने योजनासंगै निर्माणको कार्यलाई गति दिइएको छ । विभिन्न मेला महोत्सव आयोजना हुने सो स्थललाई समथर बनाएर पक्की कम्पाउण्ड लगाउने कार्यहरु सम्पन्न भएको छ ।
त्यसैगरि व्यास १ मा रहेको नेपालकै नमूना सामुदायिक क्याम्पस आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक र भौतिक विकासका लागि पनि नगरपालिका कार्यालयले सहयोग गर्दै आइरहेको छ । नगरपालिकाको सहयोगमा दमौली अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवा र प्रवाहमा स्तरोन्नतिका कार्यहरु गरिएको छ । सडक निर्माणको कार्यमा विशेष चासो दिदैं आएको नगरपालिका कार्यालयले प्रसिद्ध धार्मिक स्थल छाव्दी बाराही सम्मको कच्ची बाटोलाई कालोपत्रे गरेको छ । मादी नदिमा कृतिम ताल बनाउने र अन्य पूर्वाधार निर्माण गरिने योजना पनि नेपाल सरकारको रातो कितावमा समाबेश भएर प्रारम्भिक कार्यहरु अगाडि बढाइने भएको छ । वेदव्यासको १०८ फीट उचाईको विश्वकै अग्लो मूर्ति सँगै पञ्च मन्दिर क्षेत्रमा निर्माण गरिने बृहत्तर योजना निर्माणका लागि व्यास नगरपालिका कार्यालयले ५० लाख रुपैया सहयोग गरेको छ भने थप आर्थिक सहयोग संकलनका लागि श्रीमद् भागवत् महायज्ञ आयोजना गरिएको छ ।
यसका साथै व्यास र पराशर क्षेत्रलाई जोड्ने व्यास झुलाको निर्माण गरिएको छ जसले गर्दा त्यस क्षेत्रको पर्यटकीय चहलपहल र अन्य गतिविधीमा बृद्धि भएको छ । यसका साथै दमौली स्थित पृथ्वी राजमार्गबाट सिमलटार जोड्ने पक्की पुलको निर्माण कार्य पनि नगरपालिकाको विशेष पहलमा सम्पन्न भएको छ ।

त्यसैगरि व्यास ५ स्थित पर्यटकीय स्थल मानहुँकोटको सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासका लागि पनि नगरपालिकाले विशेष पहलकदमी चालेको छ । मानहुँसम्म पक्कीबाटो पुर्याउने योजना अन्र्तगत पचास प्रतिशत कार्य सम्पन्न भएको छ भने दृश्यावलोकनका लागि रेलिङ निर्माण सम्पन्न भएको र भ्यू टावरका लागि कार्य अगाडि बढाइएको वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
विकास निर्माणका गतिविधीलाई विशेष प्राथमिकता राखेर अगाडि बढेको नगरपालिकाले यस क्षेत्रको सरसफाई, खानेपानी, विधुत, सञ्चारका साथै यहाँका धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा र स्थलहरुको संरक्षण साथै मौलिक कला, संस्कृति, चाडपर्व, रहनसहनको जगेर्ना गर्ने कार्यमा आफुहरु अग्रसर रहेको नगरप्रमुख न्यौपानेले बताए ।

त्यसैगरि निर्माणाधिन १४० मेगावाट क्षमताको तनहुँ जलविधुत आयोजनाले पनि दमौलीका साथै सिंगो तनहुँबासीलाई निकै फाइदा पुग्ने छ । प्रारम्भिक चरणका कार्यहरु सकेर मुख्य निर्माणका लागि ठेक्का प्रक्रियामा रहेको सो जलविधुत आयोजना राष्ट्रिय गौरवको आयोजना भएकोले जिल्लाको सामाजिक, आर्थिक, र पर्यटकीय विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।




