
वर्ष २०७८ सालको नेपाली हिन्दु महिलाहरुको पवित्र र महान चाड तिजको लहर घर आगनमा आइसकेको छ तर कोरोना संक्रमणको त्रासका कारण यस वर्षको तिज पूर्ण प्रभावित बनेको छ । हरेक बर्ष भाद्र शुक्ल तृतीयाका दिन नारीहरुले सौभाग्यका लागि निराहार भई शिव र पार्वतीको उपासना गर्ने पर्वका रुपमा तिज लाई लिइन्छ ।
तिजको मुख्य विशेषता मध्ये मानिने नाचँगान अहिले कोरोना संक्रमणको त्रासका कारणले गाउँघरदेखि सहरबजारका चोक र आँगनहरुमा विगतमा जस्तै आयोजना भएका छैनन् । त्यसमा पनि तिजका बेलामा दिदीबहिनीहरु भेला भई सामूहिक रुपमा दर खाने प्रचलन निकै रमाइलो पक्षका रुपमा लिइने परम्परा पनि संक्रमणको त्रासका कारण प्रभावित भएको छ ।
सांस्कृतिक रुपमा निकै धनी मानिएको तनहुँ जिल्लामा साना नानी देखि लिएर विभिन्न क्लवहरुमा आवद्ध युवायुवती र आमा समूहहरु तिजको नाचगान र दरमा रमाउने गर्दथे तर कोरोना संक्रमणको त्रास र भयले यी संस्कृति प्रभावित भएका छन् । विगतमा जस्तै विभिन्न ठाँउमा तिजे गीत प्रतियोगिताहरु पनि अहिले आयोजना गरिएका छैनन् । तिज पर्वले महिला दिदीबहिनीहरुमा दिने छुट्टै खालको रौनक पनि अहिले देखिएको छैन् ।

समाजमा रहेका विभिन्न विकृती , विसंगती देखि घरपरिवारका समस्या, बालअधिकार, महिलाअधिकार साथै सरकारका गतिविधीसम्मका विषयबस्तुहरु तिज गीतमा समेटिएका हुन्छन, जुन अत्यन्तै सकारात्मक पक्ष हो तर यी सबै अहिले सुन्न पाइएका छैनन् । तर, तिजका अवसरमा गरिने उछृङ्खल नाचगान, लवाई खुवाई र शैलीहरुले यसको अनुपम साँस्कृतिक गरिमा र मर्यादालाई विकृतीउन्मुख बनाएकोमा कोरोनाले ति विकृति रोक्नमा सहयोग पुर्याएको कतिपयको भनाई छ । सांगीतिक कार्यक्रमहरु प्रस्तुत गर्ने क्रममा पनि नेपाली संस्कृतिको जगेर्ना र संरक्षण हुने खालका भन्दा पश्चिमी र छाडा संस्कृतिको नक्कल गरेर देखाइएका तथाकथित मनोरञ्जनात्मक कार्यक्रमहरुले दर्शकहरुलाई पनि लाजमर्दो बनाएको थियो, जुन अहिले रोकिएको छ ।
विगतमा दरको महत्व र साँस्कृतिक पक्षलाई बेवास्ता गरेर दरका नाउँमा महिला दिदीबहिनीहरुले मदिरा सेवन गर्ने गरेको पाइएको थियो जुन कार्य अत्यन्तै लाजमर्दो हो र कोरोनाले यस्ता विसंगतिलाई पनि गतिलै झापड दिएको कतिपयको ठम्याई छ । त्यतिमात्रै नभएर तिजका अवसरमा महिलाहरुले लगाउने गरगहना र पोशाकको उछृङ्खल प्रदर्शन पनि यसपटको तिजमा खासै देखिएको छैन् जुन अत्यन्तै सकारात्मक छ । नेपाली संस्कृति र परम्पराको अनुपम उदाहरणको रुपमा रहेको तिज पर्वको मौलिकता र महत्वलाई आत्मसाथ गदै नेपाली कला संस्कृति र चाडवाडको संरक्षण र सवद्र्धन गर्न यस पटकको तिज घरमै बसेर मनाउन कोरोनाले सन्देश दिएको छ ।
अन्तमा, तिजको हार्दिक शुभकामना ।




